मिथिला प्रदेश किन ? (सम्पादकीय)

२०६९ बैशाख १८ गते जनकपुरको रामानन्दचोकमा मिथिला राज्यको माग गर्दै ठूलो संख्यामा सर्वसाधारण उपस्थित भएका थिए । मिथिला राज्यको माग गर्दै मिथिलाबासीले मिथिला राज्य संघर्ष समितिको नाममा उपस्थित भइरहँदा भएको बम विस्फोटमा पाँच जनाले ज्यान गुमाएका थिए भने ३८ जना घाइते भएका थिए । जनकपुर बम काण्डको नामले चिनिने उक्त घटना भएको ६ वर्ष पूरा भएको छ । यो ६ वर्षमा खोलामा धेरै पानी बगिसकेको छ तर प्रदेश सरकार बने पनि जनकपुरबासीले अहिलेसम्म मिथिला राज्यको सुनिश्चितता पाएका छैनन् ।


बम विस्फोटमा परी मिथिला नाट्यकाल परिषद् मिनापकी दिग्गज कलाकार रञ्जु झाले ज्यान गुमाइन् भने विस्फोटमा झगरू मण्डल, विमल शरण दास, सुरेश उपाध्याय र दिपेन्द्र दासले समेत ज्यान गुमाएका थिए ।


आत्मीयताको पहिचान, स्वायत्तताको बोधका लागि, हक अधिकारका लागि, संवैधानिक सुनिश्चतता गर्नका लागि भन्दै ‘हमरा चाही मिथिला राज’ नाराका साथ रंगमञ्चका कलाकार, साहित्यकार, समाजसेवीहरूले मिथिला आन्दोलनको अगुवाइ गरेका थिए । यता बम विस्फोटको मुख्य योजनाकारको रूपमा लिइएका तत्कालीन सद्भावनाका पूर्व तथा निलम्बित सांसद संजय साह अहिले जेल जीवन बिताइरहेका छन् । यो घटनामा संलग्न भएको आरोपमा मुकेश चौधरी, राजन मुक्ति लगायतका केही व्यक्तिलाई दोषी करार दिइएको छ । बैशाख १८ गतेका दिनलाई जनकपुरबासीले कालो दिनका रूपमा सम्झने गरेका छन् । प्रदेश २ लाई मिथिला प्रदेश र मैथिली भाषालाई प्रदेशको कामकाजको भाषा बनाउन माग अहिले पनि उठिरहेको छ ।
प्रदेश सरकार गठन भइसकेको अवस्थामा नयाँ संविधानले व्यवस्था गरेअनुसारको २ नम्बर प्रदेशलाई मिथिला प्रदेश नामाकरण गराउन र त्यहाँको सरकारी कामकाजको भाषा मैथिली कायम गराउन पहल गर्न जरूरी छ ।


२ नम्बर प्रदेशलाई मिथिला प्रदेश नामाकरण गराउनुपर्ने तथा त्यहाँको सरकारी कामकाजको भाषा मैथिली हुनुपर्ने विषयमा बहस हुनु आवश्यक छ । किनभने २ हजार वर्ष पुरानो मैथिली संस्कृति र सभ्यता जोगाउन पनि मिथिला प्रदेश नामाकरण गर्नुपर्ने आवश्यक छ भने त्यहाँको सरकारी कामकाजको भाषा पनि मैथिली नै हुनुपर्छ । विगतको संविधानले तराई–मधेश भूगोललाई २ नम्बर प्रदेश बनाई मिथिलालाई ओझेलमा पारेको हो ।


नेपालका ११.६७ प्रतिशत जनताको मातृभाषा मैथिली रहेकाले मिथिला प्रदेश बनाउने आधार प्रशस्त रहेको छ । नेपालमा कुल जनसंख्याको ३३ लाखजति मैथिलीभाषी छन् र त्यो भनेको त्यसको कला, संस्कृति र सभ्यतालाई अनुशरण गर्नेहरू हुन् । सर्लाहीदेखि मोरङसम्म मैथिलीहरू बाक्लै बस्छन् । मैथिली भाषा बोल्नेहरू क्रमशः धनुषा, सिरहा, महोत्तरी, सप्तरी, मोरङ, सुनसरी र सर्लाहीसम्म फैलिएको तथ्यांक छ । यद्यपी मोरङ, सुनसरी प्रदेश १ मा गाभिए पनि सम्तरीदेखि पर्सासम्मका प्रदेश २ का आठ जिल्ला मूलतः मैथिलीभाषी क्षेत्र हो भने यहाँका बासिन्दा मिथिलाबासी हुन् ।


मधेशी दलहरूले हिन्दीलाई सम्पर्क तथा सरकारी कामकाजको भाषा बनाउनुपर्नेमा जोड गरिरहेका बेला मैथिलीलाई बेवास्ता गर्नु भनेको आफ्नै कला, संस्कृति र सम्पदालाई संरक्षण नगर्नु नै हो ।
प्रदेश २ मा जबर्जस्ती हिन्दी भाषा राखेर मौलिक पहिचान मेट्न दिनु हुँदैन र यसमा प्रदेश सरकारका साथै मधेशी दलहरूको ध्यान जान जरूरी छ ।


वास्तवमा मैथिलीलाई संस्कृतिका रूपमा मात्रै अथ्र्याउन हुन्न । मैथिली संस्कृति र सभ्यता मात्रै होइन, मैथिली र मिथिलाका छुट्टाछुट्टै पहिचान पनि हो र त्यो हराउन दिन हुन्न । भाषारक्षाका लागि भएको आन्दोलनमा ज्यान गुमाउनेका भावना कदर गरेर पनि प्रदेश सरकार अगाडि बढ्नुपर्छ ।


मिथिला क्षेत्रबाट काठमाडौंमा मात्रै होइन, सम्पूर्ण देश तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चित भएका छन् तर त्यस क्षेत्रको विकास हुन सकेको छैन । त्यसैले मिथिला प्रदेशको पहिचानसहितको क्रियाकलाप हुनुपर्छ ।


मधेशका नाममा मिथिलाको पहिचान खण्डित भएको छ । यो मिथिलाको कला र संस्कृतिमाथिको प्रहार नै हो । प्रदेश २ मिथिला संस्कृति र मैथिलीभाषीको बाहुल्य भएकाले त्यसको नामकरण पनि मिथिला हुनुपर्ने तर्क अकाट्य हो । प्रदेश २ मिथिला प्रदेशको रूपमा स्थापित भयो भने मात्र जनकपुर बम काण्डमा ज्यान गुमाएकाहरूप्रति सच्चा श्रद्धाञ्जली हुन सक्छ ।


प्रकाशित मिति : २०७५ साल वैशाख २१ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com