‘भोर’ले दाइजो उन्मूलन गर्न सघाउँछ : डोली सरकार

नायिका


० तपाईहरूले चलचित्रको विषयवस्तु दाइजो नै रोज्नुको कारण के होला ?
— दाइजोेको कारणले नै धेरै महिला हिंसा उत्पन्न भैरहेको छ । छोरीले जति धेरै पढ्यो त्यहीं बराबरको केटा खोज्दा केटापक्षले धेरै दाइजो माग्ने गरिन्छ । जसबाट छोरी पढ्नबाट समेत वञ्चित भइरहेका छन् । दाइजोले गर्दा भविष्यमा नराम्रो असर गर्छ । दाइजो धेरै दिन नसक्ने परिवारले छोरी नै जन्माउन चाहदैन जसले गर्दा भु्रण हत्या भैरहेका छन् । त्यसकारणले हामीले हाम्रो समाजको मूल समस्याको रूपमा दाइजोलाई मान्न सक्छौँ । समाजको मूल समस्यालाई नै उठान गरेर चलचित्र बनाऔं भन्ने सोचले नै दाइजोलाई केन्द्रविन्दु बनाएर हाम्रो टिमले यो चलचित्र निर्माण गरेको हो ।


० यो चलचित्रले समाजमा कत्तिको सुधार ल्याउँछ त ?
— यो चलचित्रले सुधार त ल्याउँछ नै । हाम्रो चलचित्रको एक वर्षको सुटिङ अवधिभित्र नै १०÷१५ वटा यस्ता घटनाहरू प्रत्यक्ष देख्न पायौँ । भावनात्मक कुरा हाम्रो चलचित्रमा समावेश गरिएको छ, यो लाग्छ कि यो त्यसले समाजलाई अत्याधिक प्रभाव पार्नेछ । दाइजो प्रथा विरूद्धको अभियान त धेरै नै भइरहेको छ तर मानसिक हिसाबले मान्छेमा हुने प्रभाव चलचित्र बाहेक अरू कुनै तरिकाले हुन्छ जस्तो लाग्दैन । यो चलचित्रमा समाजका यथार्थ घटनाहरूलाई जुन किसिमले देखाइएको छ, मलाई लाग्छ कि त्यसले हाम्रो समाजलाई पक्कै पनि प्रभाव पार्नेछ ।


० दाईजोको विरूद्धमा नियम कानूनहरू छन्, विभिन्न अभियानहरू चलाइएका छन्, तैपनि प्रभावकारी नभइरहेको सन्दर्भमा तपाईको चलचित्रले चेतना जगाउँछ भन्नेमा विश्वस्त हुनुहुन्छ ?
— चलचित्रले चेतना जगाउँछ जगाउँदैन भन्ने भन्दा पनि हामीले एउटा नागरिकको हिसाबले हामीले सक्दो प्रयास गरेर आफ्नो कर्तव्य पुरा गर्ने हो । समाजमा भएका विकृतिहरूलाई आफ्नो तर्फबाट सक्दो हटाउने प्रयास गर्ने हो । आ–आफ्नो क्षेत्रबाट अगाडी बढ्यो भने यो समाज पक्कै पनि परिवर्तन हुनेछ भन्ने मलाई विश्वास छ ।


० तपाई मधेश मूलकै भएकोले यस्तो समस्याहरू प्रत्यक्षरूपमा कतिको देख्नुभएको छ ?
— मेरो आफ्नै साथिभाई छरछिमेकमा यस्ता घटनाहरू मैले प्रत्यक्ष देखेको छु । दिनहुँजसो यस्ता घटना देख्दा हाम्रो लागि त्यो सामान्य लाग्छ । तर जसमाथि त्यस्तो घटना पर्छ त्यो मान्छेलाई नै थाहा हुन्छ कि कतिसम्म दर्दनात्मक र भयानक हुन्छ भनेर । म आफूले प्रत्यक्ष देखेको भएर पनि होला यस विरूद्धमा लाग्नका लागि यो चलचित्रले प्रोत्साहन गरेको छ ।


० तराई मधेशका छोरीचेलीलाई एकदम कम स्वतन्त्रता छ, तपाई पनि मधेशकै भएको हैसियतले तपाईलाई यो क्षेत्रमा लाग्न सजिलो भयो ?
— धेरै गाह्रो भयो । सबैलाई थाहा नै छ, हाम्रो समाजमा महिलालाई धेरै गाह्रो छ । म सकरात्मक सोच राख्ने भएको हिसाबले पनि मेरो परिवारको साथ मिल्यो । समाजका लागि केही गर्नुपर्छ, अगाडि बढ्नुपर्छ भन्ने सोचले नै आज यहाँसम्म आइपुगेको छु । म यहाँसम्म आपुग्नुमा कता कता मेरो मधेश, मेरो गाउँ, समाजको पनि ठूलो योगदान छ । जहाँ राम्रो छ त्यहाँ नराम्रो पनि हुन्छ । नराम्रो कुराको वास्ता नगरी अगाडि बढ्नुपर्छ । मेरो सकरात्मक सोचका कारणले नै म यहाँसम्म आइपुगेको छु ।


० कलाकारिता क्षेत्रमा प्रवेश गर्ने सोच कसरी आयो ?
— मेरो सानै देखि नै कलाकारीतामा इच्छा थियो र मलाई मेरो परिवारको पनि प्रेरणा मिलेको थियो । सानैदेखि नै बाल नाटकहरूमा खेल्ने गर्थे । त्यस समयदेखि नै यस क्षेत्रमा लाग्ने सोच राखेको हुँदा संघर्ष गर्दा गर्दा अहिले मेरो सपना पुरा भइरहेको छ ।


० तपाईको अभिनय रहेको पहिलो फिल्म कुन हो ?
— मेरो पहिलो चलचित्र मैथिली भाषाको ‘अप्पन समाज’ हो । त्यो पनि सामाजिक चलचित्र नै थियो ।


० भोरको नायिकामा तपाई कसरी छनोट हुनुभयो ?
— वास्तवमा यो फिल्म मधेशकै कथावस्तुमा समेटिएको हुनाले स्थानीय कलाकार लिएर त्यहाँको वास्तविकता देखाउने योजना भयो । स्थानीय कलाकारको खोजी गर्ने क्रममा धेरैले मेरो नाम लिनुभएछ र मलाई फेसबुक मार्फत म्यासेज पठाउनु भयो र मलाई कथावस्तु भन्नुभयो । झोला जस्तो सतिप्रथामा आधारित चलचित्र बनाइसकेको टिम हुनाले मलाई पनि यस चलचित्रमा काम गर्नुपर्छ भन्ने सोच आयो । त्यसपछि निर्माण टीमसँग मेरो सम्पर्क भयो र म यस चलचित्रमा आएँ ।


० तराई मधेशमा निर्माण हुने चलचित्रहरू खासै व्यापार गर्न सकेका छैनन्, यसको कारण के होला ?
— चलचित्र त बन्छ तर कथावस्तुमा ध्यान नदिनाले त्यो अलि नमिलेको हो कि जस्तो देखिन्छ । अर्को कुरा त बजार व्यवस्थापन, सञ्चार माध्यमसँग समन्वय कसरी गर्ने भन्ने कुराको जानकारी नभएर पनि त्यसले बजार पाउन सकिरहेको छैन जस्तो मलाई लाग्छ ।


० मैथिली भाषामा अथवा मधेशमा निर्माण भएका चलचित्रले बजार नपाए जस्तै नेपाली भाषामा निर्माण भएका चलचित्रले पनि मधेशमा खासै व्यापार गर्न सकेको अवस्था छैन, यसलाई कसरी लिनुहुन्छ ?
— तपाईले राम्रो कुरा गर्नुभयो । नेपाली चलचित्र राम्रो बनाउनुहुन्छ तर हाम्रो समाजको कथावस्तु र हाम्रो स्थानीय कलाकार हुँदैन । तर, अहिले त धेरै विकास भइरहेको छ । नेपाली चलचित्रमा पनि मधेशलाई समेटिरहेको छ । विस्तारै विस्तारै परिवर्तन आउँछ ।

 

प्रकाशित मिति : २०७५ साल वैशाख २१ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com