उच्च सद्भावना भ्रमण (सम्पादकीय)

नेपाल र भारतबीच खुला सीमा छ । राजनीतिक, सांस्कृतिक, धार्मिक, सामाजिक र अनेकौं खालका विशिष्ट सम्बन्ध छ । यद्यपी दुबै देशबीच समय समयमा खटपट वा उतार चढाव आउने पनि गरेको छ । यो पनि विशिष्ट सम्बन्धकै एउटा पक्ष हो ।
नेपाल र भारत छिमेकी मात्रै होइन । हाम्रो भूगोल अवस्थिति, सभ्यता, सामाजिक बनोट, इतिहास र वर्तमानसम्मका सबै पक्ष जोडेर हेर्दा हामी एकदमै स्वाभाविक र अभिन्न मित्र हौं । यी दुईसँग एकैसाथ एक–अर्कालाई सम्मान र सहयोग गर्ने तथा पारस्परिक साथ–सहयोगका भरमा विकासको बाटोमा अघि बढ्ने नियति जोडिएको छ ।


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आजबाट हुने दुईदिने नेपालको राजकीय भ्रमणले दुई देशको सम्बन्धमा सुधार आउन अपेक्षा छ भने सम्बन्धलाई नयाँ शिराबाट व्याख्या गर्ने मौका मिलेको छ ।


भारतीय प्रधानमन्त्रीको यो राजनीतिक भ्रमण नै हो । यद्यपी उनी जनकपुरधाम, पशुपतिनाथ र मुक्तिनाथको दर्शन गर्ने भएपनि कतिपयले यसलाई धार्मिक र सांस्कृतिक भ्रमणको संज्ञा दिएका छन् तर सरकार प्रमुखको यस्ता प्रकारको भ्रमण वस्तुतः राजनीतिक नै हुने गर्छ । मोदी जनकपुरसहित मुक्तिनाथ जानु भनेको उनको धर्मप्रतिको उच्च आस्था हो, जसलाई हामीले सम्मान पनि गर्नुपर्छ । भारतीय प्रधानमन्त्री मोदी उनी नेपाल आउँदा तीर्थाटन गरेर मात्र फर्कने होइन, नेपालमा रहँदा उनले राजनीतिक भेटवार्ता गर्नुका साथै द्विपक्षीय हित र सम्बन्धका विषयमा पनि कुराकानी गर्ने छन् । तसर्थ मोदीको यो भ्रमणलाई सफल बनाएर दुई देशको सम्बन्धलाई आपसी हितमा प्रयोग गर्न सके मात्र भ्रमणको सार्थकता हुन्छ । भ्रमणलाई आफ्नो हितमा अधिकतम् उपयोग गर्न सक्ने नेपालले राम्रो मौका पनि पाएको छ ।


मोदीको भ्रमण राजनीतिक सम्बन्ध सुधारको रूपमा पनि लिन सकिन्छ । भ्रमणको उपलब्धी अहिले नै देखा पर्दैन । भ्रमणले दिएको उपलब्धी आगामी दिनमा मात्र देखिनेछ ।


मोदीको नेपाल भ्रमणले सदभाव कायम र आपसी विश्वास स्थापना गर्नेमा केन्द्रित हुनुपर्छ । दुई मुलुकबीच कायम रहेको समस्यालाई पनि दुवै प्रधानमन्त्रीले समस्या समाधानको रूपमा लिनुपर्छ । भ्रमणमा विगतको सम्झौताको शीघ्र कार्यान्वयनमा केन्द्रित हुनुपर्छ । महाकाली सन्धी गराउन अहिलेकै प्रधानमन्त्री केपी ओलीले महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन् । यसको कार्यान्वयनमा जोड दिनुपर्छ । नेपाल र भारतबीच रहेको बहुआयामिक सम्बन्धलाई अब आर्थिक साझेदारीमा रूपान्तरण गर्न सके त्यसले सम्बन्धको आधारलाई अझै बलियो बनाउन सक्छ । त्यसैले सम्बन्धलाई सहज र सुदृढ बनाउन कटुताहरूलाई भुलेर अगाडि बढ्नु पर्छ ।


सैद्धान्तिकभन्दा बढी व्यावहारिक पक्षले नेपाल र भारतको सम्बन्धलाई निर्धारण गरेको छ । नेपाल र भारतबीच हजारौँ वर्ष पुरानो सम्बन्ध छन् । नेपाली सेना र भारतीय सेनाका दुवै प्रधानसेनापतिलाई एक–अर्काको देशको सेनाको मानार्थ प्रधानसेनापति दिने, गोर्खा भर्ती गर्ने, खुला सीमा, धार्मिक सम्बन्धलगायत दर्जनौँ सम्बन्ध आपसमा जेलिएका छन् ।



प्रकाशित मिति : २०७५ साल वैशाख २८ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com