मोदीको भ्रमणलाई तीर्थयात्रामै सीमित राख्दा सम्बन्ध सुमधुर हुन्छ : श्रीकृष्ण अनिरूद गौतम

राजनीतिक विश्लेषक

० भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना एकै कार्यकालमा तेस्रो पटक नेपाल भ्रमण गर्ने पहिलो भारतीय प्रधानमन्त्री हुनुहुन्छ, तसर्थ उहाँको यो भ्रमणलाई कसरी हेर्नु पर्छ ?
— यो भ्रमणलाई हामीले भ्रमणकै रूपमा हेर्नुपर्छ । यो भ्रमणलाई आश्चर्य मान्नुपर्ने कुरा होइन । भारत र नेपालका सरकार प्रमुखहरू आउनु–जानु भन्ने कुरालाई वास्तवमा सामान्य नै मान्नुपर्छ । दुई देशबीच एउटा विशिष्ट सम्बन्ध छ । विगतमा अलि टाढिएको महसुस भइरहेको थियो, यसरी भ्रमणहरू भइरहनु, एकै कार्यकालमा तीन÷चार पटक आउनु वा वर्षै पिच्छे आउनुलाई अन्यथा मान्न सकिँदैन ।


० नरेन्द्र मोदी प्रधानमन्त्री हुनुअगाडि करिब १७ वर्षसम्म नेपालमा कुनै पनि भारतीय प्रधानमन्त्रीले भ्रमण गरेका थिएनन्, यसलाई कसरी लिनुहुन्छ ?
— यहाँ मान्छेहरूले १७÷१८ वर्ष पछि भारतीय प्रधानमन्त्रीको भ्रमण भयो भन्ने भन्छन् तर १३ वर्षपछि भएको थियो । तत्कालीन भारतीय प्रधानमन्त्री अटलबिहारी बाजपेयी सार्क सम्मेलनका बेला आउनुभएको थियो । सार्क सम्मेलनको भ्रमणलाई मान्ने हो भने १२÷१३ वर्षपछि भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण भएको भन्न मिल्छ । वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको यो भ्रमणलाई तेस्रो पटकको भ्रमण भन्छन्, तर राजकीय भ्रमण दोस्रो पटक हो ।


० कसै कसैले यो भ्रमणलाई प्रधानमन्त्री केपी शर्मा ओलीले गत महिना गर्नु भएको भारत भ्रमणको जबाबी भ्रमण हो भन्ने गरेका छन्, वास्तवमा यो कस्तो भ्रमण हो ?
— हेर्नलाई प्रतिउत्तर भ्रमण नै बुझिन्छ । गत महिना प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जानुभएको थियो, त्यहीं उहाँले निम्तो दिनुभएको थियो । अर्थात् मोदी नेपाल आउनु हुने कुरामा उहाँ प्रतिक्षारत् हुनुहुन्थ्यो होला । किनकि प्रथम भ्रमण र दोस्रो भ्रमणमा पनि भारतीय प्रधानमन्त्री मोदीका केही कुराहरू थाँती रहेका थिए । त्यो हो जनकपुरधाममा माता जानकीजीको दर्शन र मुक्तिनाथ दर्शन । लुम्बिनी पनि जाने उहाँको इच्छा थियो तर यसपालि पनि लुम्बिनी परेन । शायद आउने समयमा जानुहोला । खासगरी, यो भ्रमण भनेको त्यतिखेर स्थगित रहेको कुराहरूलाई कार्यान्वयन गर्नका लागि भएको भन्ने देखिन्छ ।


० वस्तुतः मोदीको यो भ्रमण धार्मिक वा सांस्कृतिक मात्र हो कि यस भित्र रणनीतिक उद्देश्य पनि लुकेको छ ?
— यसको मुख्य उद्देश्य सांस्कृतिक अन्तर सम्बन्ध नै हो । उहाँको आफ्नो हार्दिक झुकाव जुन छ त्यो तत्परता प्रतिविम्बित भएको छ । कुनै पनि राजकीय कार्यमा रणनीति समावेश भएकै हुन्छ । रणनीतिभन्दा बाहिर बसेर राजकीय भ्रमणहरू हुने गर्दैन । आजको विश्व परिवेशमा भारतका प्रधानमन्त्री आउँदा रणनीतिक महत्व छैन भन्न मिल्दैन ।


० मोदी यसपटक जनकपुरबाट नेपाल प्रवेश गर्दै हुनुहुन्छ, काठमाडौंबाहेकको ठाउँबाट सरकार प्रमुखले नेपाल प्रवेश गर्नु भनेको संघीयतालाई अनुमोदन गर्नु हो ?
— संघीय अनुमोदन भन्ने कुरा कहाँबाट आयो ? जनकपुर आउँदा संघीयतालाई अनुमोदन भन्ने अर्थ किन निकालिन्छ ? यो भ्रमणसँग संघीयता अनुमोदनको खासै केही सम्बन्ध छैन । अहिले नेपाल संघीयतामा गएको छ । जनकपुर एउटा प्रदेशअन्तर्गत पर्दछ र सौभाग्यवश जनकपुर प्रदेशको राजधानी पनि हो र त्यहीको राजधानीमा जानकी मन्दिर पनि छ । जनक नन्दिनी सीताको त्यहीं जन्म भएको हो । त्यहाँ जानकी मन्दिर हुनु ठूलो कुरो हो । यसले गर्दा संघीयताको अनुमोदन इत्यादि खासै महत्व राख्दैन ।


० यो भ्रमणको एजेन्डा के हुने भन्ने बारे कुनै पनि देशले सार्वजनिक गरेको छैन, त्यसो भए मोदी एजेन्डाविहीन भएर आउन लागेका हुन् ?
— हिजो केपी ओली जाँदा पनि केही एजेन्डा थिएन, सद्भावना भ्रमण मात्रै हो भनिएको थियो । यो पनि सद्भावनाकै आदान–प्रदान हो । सद्भावनाको आदान–प्रदानमा उहाँले तिर्थाटन पनि गर्दै हुनुहुन्छ र सँगसँगै काठमाडौंमा बसेर सरकार र राजनीतिक दलका नेताहरूसँग कुराकानी पनि गर्दै हुनुहुन्छ । यो भ्रमणको मूल सन्देश धार्मिक भ्रमण नै हो । यसलाई धेरै उछालियो भने धेरै विवाद हुन्छ । यस भ्रमणलाई तीर्थयात्रामै सीमित राखियो भने दुई देशबीचको सम्बन्ध सुमधुर भएर जान्छ ।


० नेपाल र भारतको सम्बन्ध निकै उतार चढावको रहेको छ । तर मोदी प्रधानमन्त्री भएपछि सम्बन्धमा सुधार आएको विश्लेषण गरिन्छ । तपाईंलाई कस्तो लाग्छ ?
— नरेन्द्र मोदी भारतको प्रधानमन्त्री भएदेखि नेपाल र भारतबीचको सम्बन्ध कहिल्यै नपुगेको उचाईमा पुग्यो । इतिहासमै यतिको उचाईमा पुगेको थिएन । मोदीकै कार्यकालमा सबैभन्दा तल पनि झ¥यो ।


० मोदीको यो पटकको भ्रमणबाट सम्बन्धमा कस्तो खालको प्रगति होला ?
— मोदीको यसपटकको भ्रमणबाट सम्बन्धमा कस्तो खालको प्रगति होला भन्ने हिसाव अहिले त हेरिएकै छैन, हेर्न त बाँकी नै छ । भारतको कर्नाटकमा चुनाव हुँदैछ र सन् २०१९ मा प्रधानमन्त्रीका लागि पनि चुनाव हुँदैछ । त्यसैले मोदीका लागि ठूलो परीक्षाको विषय हो । उहाँले आफ्नो कार्यकाल पूरा गर्दै हुनुहुन्छ । यो भ्रमण आउने कार्यकालका लागि एउटा प्रस्थान विन्दू हुनसक्छ ।


० विशेषतः नेपाल–भारतबीचको सम्बन्धका आयाम के–के हुन् ?
— नेपाल–भारतबीचको सम्बन्धका आयामहरू अन्नगिन्ती छन् । गन्न बसियो भने दिनभरि लाग्छ । मूलतः सांस्कृतिक, धार्मिक, सामाजिक लगायत कुनै पनि एउटा यस्तो पक्ष छैन जुन नेपाल र भारतको सम्बन्धमा छैन । यो एउटा राजनीतिक सम्बन्ध मात्रै होइन, दुई देशबीचको विशिष्ट सम्बन्ध छ । त्यसकारण, यसलाई अलि भिन्न ढंगले हेरिएको पनि छ ।


० आगामी दिनमा दुवै देशबीचको सम्बन्ध अझ बलियो र प्रगाढ बनाउन दुवै देशको तर्फबाट के कस्ता पहल हुनु आवश्यक छ ?
— दुवै देशका सरकारहरू अथवा राज्यका प्रतिनिधि गर्नेहरूको कुरा मिल्यो भने सम्बन्ध सुमधुर भयो भन्ने ठान्छन् । यद्यपि, सम्बन्ध सुमधुर भएको हुँदैन । सम्बन्ध सुमधुरका लागि यहाँका जनताको मन भारतलाई लिएर खुशी हुनुपर्छ र भारतका जनताको मन नेपाललाई लिएर खुशी हुनुपर्छ । नेपालप्रतिको प्रगाढता भारतका जनतामा हुनुपर्छ । त्यसैगरी, नेपालका जनतामा भारतप्रति प्रेममा प्रगाढता हुनुपर्छ । त्यसलाई सम्बन्ध राम्रो भएको भन्न सकिन्छ । तर, प्रधानमन्त्रीहरूले भारतमा आतिथ्यता प्राप्त गर्छन् त्यसले सम्बन्ध सुमधुर भएको हो र उचाईमा पुगेको हो भन्छन्, त्यो होइन । त्यो अर्कै खालको सम्बन्ध सुमधुर भएको हो । वास्तविक रूपमा सम्बन्ध सुमधुर हुनलाई यताका जनता र उताका जनताबीच प्रेमपूर्ण सम्बन्धमा प्रगाढता आएको हुनुपर्छ ।


० नेपालका राजनीतिक दल र नेताहरू भारतसँगको सम्बन्धको विषयमा बेला–बेला आफ्नै प्रकारले व्याख्या गर्छन् । आफ्नो अनुकूल भएपछि भारतलाई मित्र नै ठान्छन्, यो प्रवृतिगत स्वभावले सम्बन्धमा खटपट ल्याएको हो ?
— भारतको संस्थापन पक्षको जहिले पनि हेराई के हुन्छ भने यहाँका दुई÷चार जना टाउके–टाउकेलाई समाएपछि उनीहरूसँग मुख मिलेपछि सम्बन्ध राम्रो भयो भन्ने ठान्ने गरेको छ । उनीहरूबीच खटपट भएको हुन्छ, त्यसलाई उनीहरू सम्बन्ध बिग्रियो भन्ने प्रचार गर्छन् । तर, जनता, नागरिक समाज र मिडियासँग पनि सम्बन्ध कायम ग¥यो भने सम्बन्ध खटपट हुँदैन । त्यतातिर भारतले पनि प्रयत्न गरेको पाइँदैन । यद्यपि नेपालमा सौहार्दता निर्माण गर्न भारतले बढी पहल गरेको देखिन्छ ।


० नेपालले चीनसहितको त्रिदेशीय समझदारीको पनि कुरा गर्र्दै आएको छ, यसमा भारतीय दृष्टिकोण के पाउनु भएको छ ?
— यसप्रति भारत त्यति मुखरित छैन । भारतले यसलाई सुनिरहेको मात्र छ, त्यति प्रतिक्रिया दिइरहेको छैन । हामीले त्रिदेशीय भनिरहँदा भारतको अगाडि अरू विकल्पहरू पनि छन् । नेपालीहरू के ठान्दछन् भने भारत र चीनको बीचमा हामी मात्रै छौं । तर, त्यस्तो होइन । चीनसँग भारतकै सिमाना जोडिएका छन् धेरै ठाउँमा । हामी त बीचमा मात्रै पर्छौं । उनीहरूको सोझै आदान प्रदान हुने ठाउँहरू प्रशस्तै छन् । एउटा कुरा हामीले के बुझ्नुपर्छ भने भारतले पनि केही विकल्पहरूको बारेमा सोच्छ होला । त्यसप्रति आकर्षित गर्ने कला नेपालसँग छ कि छैन, त्रिदेशीय समझदारीका लागि नेपालसँग शीप छ कि छैन भन्ने कुरा पनि हेर्नुपर्छ । चीन र भारतबीच व्यापार त भइरहेकै छ ।


० त्रिदेशीय समझदारी साँच्चिकै नेपालले उठाउन खोजेको हो कि केवल कुटनीतिक प्रोपोगण्डा मात्र हो ?
— यो कुटनीतिक प्रोपोगण्डा मात्रै होइन होला । त्रिदेशीय आदान प्रदान हुन थाल्यो भने नेपाल त्यसबाट लाभान्वित हुन्छ भन्ने कुरा प्रष्टै छ । त्यसैका लागि यो कुरा आएको हुनुपर्छ ।


० वर्तमान वाम गठबन्धनप्रति भारत लचिलो भएको देखिन्छ । स्वयं मोदीले ओलीलाई दुई÷दुई पटक फोन गर्नु, भारत भ्रमणका लागि निम्तो दिनु भनेको भारतले वाम सरकारसँग मिलेर जान खोजेको हो कि यो एक–अर्कोको बाध्यता हो ?
— अब यहाँ वाम गठबन्धनको सरकार छ भने भारतले के गरोस् । पूरै वहिष्कार गरेर बस्नुभएन, यो निर्वाचित सरकार हो । यसमा उसको रणनीतिक अथवा सामरिक स्वार्थ पनि छ । कुनै न कुनै ढंगबाट सम्बन्ध त राखि नै राख्नुपर्छ । त्यसैले, भारत लचिलो भएको भन्न मिल्दैन, भारत आफ्नो ठाउँमा यथावत् त छ नै ।


० हिजोको केपी ओली र आजको केपी ओलीलाई हेर्ने दृष्टिकोणमा भारतीय सोचमा परिवर्तन भएको छ ?
— केपी ओलीलाई भारतले हेर्ने दृष्टिकोणमा परिवर्तन आएको हो कि होइन भन्न सकिँदैन । र आएको पनि छैन होला । यहाँका प्रधानमन्त्री केपी ओली भएपछि उहाँलाई छोडेर जान भएन । तर, केपी ओलीको सोचमा परिवर्तन आएकै हो ।

 

प्रकाशित मिति : २०७५ साल वैशाख २८ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com