रासायनिक मलको असन्तुलित प्रयोगले उर्वरा शक्तिमा ह्रास

मणि प्रसाद गैह्रे, कपिलवस्तु, ३१ बैशाख । जमिनमा रासायनिक मलको असन्तुलित प्रयोगले कपिलवस्तुको कृषि योग्य जमिनको माटो कमजोर बन्दै गएको छ । उत्पादन बढाउने नाममा जथाभावी रासायनिक मल प्रयोग गरिँदा यहाँको भूमिको उर्वरा शक्तिमा ह्रास आउँदै गएको हो ।

क्षेत्रीय माटो प्रयोगशालाको घुम्ती टोलीले कपिलवस्तु नगरपालिकाका विभिन्न गाउँको माटोमा परीक्षण गरिएपछि यस्तो तथ्य बाहिर आएको हो । टोलीले कपिलवस्तु नगरपालिकाकामा ३ दिनसम्म माटो परीक्षण गरेको थियो । १ सय ६ जना कृषकहरुको माटो परीक्षणपछि यहाँका माटोमा क्षारीयपन बढी रहेकोले माटोको उर्भरशक्ति कमजोर बनेको नगरपालिका कृषि ईकाईका प्रमुख खुर्सेद अहमद खाले बताए ।

नाईट्रोजन, फस्फोरस र पोटासको मात्रा समेत माटोमा कम देखिएकाले यसले उत्पादनमा ह्रास आउँदै गएको खाले बताए । यहाँ यूरिया, डि.ए.पि. लगायतका रासायनिक मलको अत्यधिक प्रयोग गर्ने गरिएको छ । रासायनिक मल मनपरी ढंगले प्रयोग गरिएकाले माटोमा रहने बिभिन्न तत्वहरुमा गम्भीर असर परेको कृषि प्राविधिकहरुको भनाई छ ।

प्राङ्गारिक मलको साटो अहिले रासायनिक मललाई कृषकहरुले अंगालेकाले माटोको सन्तुलनमा नकारात्मक असर भएको उनीहरुको ठहर छ । बिक्रेताहरुले रासायनिक मललाई किराना सामानझै बजारमा बिक्रीका लागि राख्ने गरेकाले समेत मलमा रहेको तत्वहरु खेर जानेगरेको छ ।

बोरामा प्याकीङ गरी राखिएका त्यस्ता मललाई बिक्रेताले खुलारुपमा बिक्रि गरीरहेकाले मलमा रहेको बिभिन्न तत्वहरु खेर गइरहेको हो । त्यस्ता मललाई कृषकले आफ्नो खेतमा प्रयोग गरेकोले समेत माटोको उर्वर शक्तिमा खासै बृद्धि हुन नसकको कृषि प्राबिधिक टिका पोख्रेल बताउँछन् ।

जिल्ला कृषि विकास कार्यालय अनुसार यहाँको कूल खेतीयोग्य ८३ हजार जमिनमा बलौटे,दोमट र चिम्टाईलो माटो रहेको छ । यहाँको माटोमा नाईट्रोजन, फस्फोरस, पोटास र प्राङ्गारिक पदार्थ मध्यम देखि कम पाईन्छ ।

यस्तो अवस्थामा झनै हचुवाको भरमा रासायनिक मल खेतमा प्रयोग गरिदा माटोमा रहेका ती तत्वहरुको सन्तुलन बिग्रीएर भूमीको उत्पादकत्व क्षमता कमजोर भएको जिल्ला कृषि कार्यालयका प्राबिधिकहरु बताउछन् । ‘प्राङ्गारिक मलको साटो रासायनिक मलको बढदो प्रयोगले यहाँको भूमी असंतुलित भएको छ ।’

कृषि कार्यालयका प्रमुख राकेश ओझाले भने ‘कृषि प्राबिधिकहरुको परामर्श बगैर कृषकहरुले रासायनिक मलको प्रयोग गर्दा माटोमा नकारात्म असर परेको छ ।’ कपिलवसतुका माटोको अवस्थाप्रति चिन्ता ब्यक्त गर्दै क्षेत्रीय माटो प्रयोगशालाका बरिष्ठ माटो बित्र निसा अहमदले कृषकहरुले माटोको परीक्षण गनर्स पर्नेमा जोड दिए । ‘माटो परीक्षणले माटोको अवस्था पत्ता लाग्छ’ उनले भने ‘जसले गर्दा सुधार गर्न मद्दत मिल्छ’ ।

उनले खेतमा कृषि चुन तथा प्राङगारिक मल प्रयोमगा जोड दिए । उता जिल्लाका ८५ प्रतिशत कृषकले प्राङगारिक मलको प्रमुख स्रोतको रुपमा रहेको गाईबस्तुको गोबरको गुईठा बनाउने गरेका छन् । ती गुईठालाई यहाँका कृषकहरुले खाने पकाउने उर्जाको रुपमा प्रयोग गर्ने गरेकाले माटोलाई चाहिने आवश्यक तत्व परिपूर्ति हुन नसकी भूमीको उर्वरा शक्ति क्षीण बनेको बताईएको छ ।

गाईबस्तुको मलमूत्रमा माटोलाई चाहिने बिभिन्न १६ तत्व नै रहने भए पनि गोबरको गुईठा बनाईने तथा परंपरागत तरिकाबाट बनाईएका प्राङ्गनरिक खेतमा हालिनाले समेत माटो स्तरमा खासै सुधार आउन सकेको छैन । यहाँ वस्तुको मल मुत्र बनाईने मललाई घाँम र पानीबाट नबचाई खुला ठाँउमा राख्ने चलन छ । जसले गर्दा सो मलमूत्रमा रहेका तत्वहरु उडेर,चुहिएर तथा बगेर खेर जाने गरेका छन् । त्यो मल माटोमा हालिदा खसै उपलब्धी नहुने कृषि प्राबिधिकहरुले बताए । त्यस्तै खेतबारीमा रहेको झाँरपात र ठुटालाई आँगो लगाई हटाउने चलनले समेत माटोको उर्वराशक्ति घटदै गएको छ ।

१ बर्षमा एक जोर गाईबस्तुको मलमूत्रबाट ५८ किलो नाईट्रोजन उत्पादन गर्न सकिने प्राबिधिकहरु बताउछन । तर सो मलमूत्रको खाल्टो बनाएर उचित ब्यवस्थापन नगरिदा त्यस्मा रहेका ९० प्रतिशत तत्वहरु चुहावट भई खेर जाने गरेको उनीहरुको भनाई छ । शिक्षा र जनचेतना अभावका कारण कृषकहरुले गाईबस्तुको मलमूत्रबाट लाभ लिन नसकेको जिल्ला कृषि कार्यालयका प्रमुख आझोले बताए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com