पठन सिप विकासका लागि पर्साका ३ सय ६४ सरकारी विद्यालयमा सामग्री वितरण

वीरगंज, १ जेठ । पर्साका सामुदायिक तथा सरकारी विद्यालयमा कक्षा एक, दुई र तीनमा अध्ययनरत बालबालिकाहरुका लागि गत बैशाख ४ गतेबाट वितरण सुरु गरिएको शिक्षण सिकाई सामग्रीको एक कार्यक्रमका बीच सम्पन्न गरिएको छ ।

बालबालिकाहरुको पठन सिप क्षमता बृद्धि गर्नका लागि निर्माण गरिएको शैक्षिक सामग्री पर्साको ठोरी गाउँपालिकाबाट वितरण शुरु गरिएकोमा वीरगंजको सुरजी देवी माविमा सम्पन्न गरिएको हो ।

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार कक्षा एकमा अध्ययनरत बालबालिकाले ३०, दुईले ४५ र तीनमा अध्ययनरत बालबालिकाले ६० शब्द शुद्ध गति यति र लयमा बोल्नुपर्ने भएपनि नेपाली बालबालिकाले १० भन्दा मुनी शब्द उच्चारण गरेकोले त्यसमा सुधारको निम्ति पाठ्यपुस्तक वितरण गरीएको राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमका सामग्री विकास प्रबन्धक शाश्वत पराजुलीले जानकारी दिए ।

बालबालिकालाई रोचक पाठ्य सामग्रीमार्फत शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्दा उनीहरुको सिकाई र सक्रियता दुवै बढ्ने उनको भनाई थियो ।

मावि तहमा पुग्दा समेत बालबालिकाको पढाई कमजोर हुनुको मुख्य कारण कक्षा एक, दुई र तीनमा कमजोर हुनु अनुसन्धानले देखाएकोले सरकारले यूएसआईडीको आर्थिक तथा प्राविधिक सहयोगमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रममार्फत मुलुकका १५ जिल्लामा कार्यक्रम सञ्चालनमा रहेको पराजुलीले बताए ।

त्यस्तै, शैक्षिक गुणस्तर परीक्षण केन्द्रका शाखा अधिकृत श्याम प्रसाद आचार्यले कार्यक्रम सञ्चालन भएको जिल्लामा पठन क्रियाकलापमा सुधार आएको बताए । विशुद्ध वैज्ञानिक आधारमा बालबालिकाको मनोविज्ञानलाई समेटेर पाठ्यपुस्तक तयार गरिएकोले यसको अधिकतम् प्रयोगले भाषागत त्रुटि सच्चाउन समेत मद्दत मिल्ने उनको भनाई थियो ।

विद्यालयमा वितरण गरिएका शैक्षिक सामग्रीको प्रयोगको विषयमा प्रत्येक विद्यालयबाट दुई जनाका दरले शिक्षकहरुलाई शैक्षिक तालिम केन्द्र वीरगंजमा तालिम समेत प्रदान भइरहेको ईजीआरपीका पर्सा संयोजक भरत सहनीले जानकारी दिए । उत्कृष्ट नतिजा दिने गरी सामग्रीको अधिकतम् प्रयोग गर्ने विद्यालयलाई अनुदान र अभिभावकलाई समेत सम्मान गरिने कार्यक्रम रहेको सहनीले बताए ।

पर्साका कुल ३ सय ६४ विद्यालयमा सामग्री वितरण गरिएको सामा प्रिन्टर्सका पर्सा संयोजक सत्यराज घिमिरेले जानकारी दिए । विद्यालयको साथै पर्साका १४ वटै तहमा रहेको स्थानिय शिक्षा ईकाईका लागि पनि उस्तै प्रकृतिको शैक्षिक सामग्री वितरण गरिएको छ ।

विद्यालयमा वितरीत सामग्रीको बारेमा जानकारी राख्न र त्यसको अधिकतम् प्रयोगका लागि पहल गर्न स्थानीय तहमा रहेको शैक्षिक इकाईका लागि पनि सामग्री वितरण गरिएको हो । कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाईका शाखा अधिकृत हरी राउत शिक्षकहरु र सञ्चारकर्मीको सहभागिता रहेको थियो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com