राउत भर्सेज काठमाडौं (सम्पादकीय)

‘राज्यद्वारा मधेशीमाथि जारी विभेदकारी नीति र पूर्वाग्रह एवम् विद्वेषपूर्ण मानसिकताको कारणले नै मधेशका जनता तुलनात्मक रूपले अत्यधिक गरिबी, बेरोजगारी, अभावग्रस्त, शासित एवम् उत्पीडित जीवन जिउनका लागि बाध्य छन् । मधेश विकासको मामिलामा निकै पछाडि परेको हो । हाम्रो संघर्ष आज पनि विभेदकारी संविधान र प्रादेशिक अधिकारका लागि जारी छ । हामी नेपालको अभिन्न अङ्ग हौँ तर हामी के चाहन्छौँ भने हाम्रो देशमा पनि बिना भेदभावपूर्ण, कुनै पनि जाति, वर्ग र समुदायको व्यक्ति राज्यको हरेक तह, तप्का र निकायमा उसको क्षमता र योग्यताले समावेशका लागि सहज अवसर प्राप्त होस् । जस्तो कि महामहीम तपाईं एक समान्य परिवारको हुँदाहुँदै पनि भारतको सर्वोच्च कार्यकारी पद आसिन हुनुहुन्छ ।’


उपरोक्त भनाइ प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको हो । उनले उपरोक्त भनाइ भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बैशाख २८ गते नेपाल भ्रमणको क्रममा आउँदा बाह्रबिघा मैदानमा मोदीको स्वागतमा आयोजित नागरिक अभिनन्दनको क्रममा व्यक्त गरेका हुन् ।


मुख्यमन्त्रीको पछिल्लो भनाइप्रति संसददेखि सडक र सामाजिक सञ्जालदेखि चिया पसलसम्म क्रिया–प्रतिक्रिया भइरहेको छ । मुख्यमन्त्री राउतको कथनप्रति विरोध र समर्थनका स्वरहरू सुनिन थालिएको छ ।
विरोध गर्नेहरूले मुख्यमन्त्री राउतले आफ्नो आन्तरिक समस्यामा देशभित्रैबाट समाधान खोज्नुपर्नेमा विदेशीलाई सुनाएर चाकडी गरेको भन्दै आएका छन् । केन्द्र सरकारले त उनलाई अभिव्यक्ति फिर्ता लिन नै निर्देशन दिइसकेको छ भने सङ्घीय संसदमा सबैजसो दलहरूले उनको अभिव्यक्ति राष्ट्रहित विपरीत भएको बताएका छन् ।


यता, कतिपयले मुख्यमन्त्री राउतले स्थानीय जनताको भावना सम्बोधनमा समेटेर खुशी व्यक्त गरेका छन् ।
यद्यपी राउतको समर्थनमा उनको पार्टी संघीय समाजवादी फोरम तथा अर्को मधेशी पार्टी राजपा नेपालले औपचारिक रूपमा मुख नखोलेका कारण राउतलाई केही अप्ठ्यारो अवश्य भएको होला । राउतको विरोधमा संसददेखि सडकसम्म चर्चा भइरहँदा पनि दुवै पार्टीको औपचारिक भनाइ नआउनु रहस्मय बनेको छ । यतिसम्म कि फोरम अध्यक्ष उपेन्द्र यादवले सोमबार भरतपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दा पनि यस विषयमा केही बोलेनन् ।


यद्यपी दुबै पार्टीले औपचारिक रूपमा मुख नखोले पनि ती पार्टी सम्बद्ध नेता तथा सांसदहरूले राउतको बचाउ गर्दै उनको अभिव्यक्ति सही भएको तर्क गरेका छन् ।


प्रदेश २ को मंगलबार बसेको प्रदेशसभाको बैठकमा संघीय समाजवादी फोरमका रामआशिष यादवले मुख्यमन्त्रीले प्रदेशको गरिमा र जनताको भावनाअनुसार बोलेको भन्दै यसमा टीका टिप्पणी नगर्न आग्रह गरे । यस्तै, राजपा नेपालकी डिम्पलकुमारी झाले मुख्यमन्त्रीको अभिव्यक्ति प्रदेश २ को जनताको पक्षमा रहेको र यसप्रति टाउको नदुखाउन केन्द्र सरकारलाई आग्रह गरिन् ।


वस्तुतः राउतको अभिव्यक्ति सहि हो कि गलत ? उनले यस्ता अभिव्यक्ति दिनु पथ्र्यो कि पर्दैन्थ्यो ।
राउत कुनै सामाजिक अभियन्ता होइनन्, उनी राजनीतिक नेता हुन् र नेताले राजनीतिक कुरा नै गर्छन् ।
राउतको अभिव्यक्तलाई गलत ठान्नेहरूले बुझ्नु पर्छ, मधेश सीमान्तकृत नै हो, राज्यबाट ठगिएकै हो । मधेशको विकास नहुनुमा कतै न कतै राज्यको अदूरदर्शिता पक्कै झल्किन्छ । अहिले मधेशले खोजेको अधिकारका विषयमा यदि कसैले आवाज उठाउँछ भन्ने त्यो जायज हो । त्यसलाई राष्ट्रियताको सवालसँग गाँस्नै मिल्दैन ।


बरू नबुझनेहरूले भन्नु प¥यो–राउतको अभिव्यक्ति सहि हो तर उनले गलत ठाउँमा अभिव्यक्त गरे । भारतका प्रधानमन्त्री मोदीको अगाडि देशको आन्तरिक विषयको उठान गर्नु÷नगर्नु यदि बहसको विषय हो भने धेरै पर पनि जानुु पर्दैन, २०६३ सालमा भएको तत्कालीन सात पार्टीको गठबन्धन र माओवादीबीचको १२ बुँदे समझदारीलाई सम्झे पुग्छ । त्यो समझदारी कहाँ भएको थियो ? त्यति बेला राष्ट्रियता कहाँ थियो ?


तत्कालीन ठूला दलका नेतारूले आफ्नो देशको आन्तरिक विषय विदेशी भूमिमा सल्टयाउन हुने तर विदेशी अतिथिको अगाडि आन्तरिक विषय बोल्नै प्रतिबन्ध लाग्ने ?


राउतले कुनै गलत कुरा गरेका छैनन्, किनकी उनले मधेशको मर्मलाई उजागर गरेका हुन् जसबाट भारतीय प्रधानमन्त्री मोदी पनि सम्पूर्ण रूपले जानकार छन् ।

 

प्रकाशित मिति : २०७५ साल जेठ ४ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com