संविधान भारत सरकारले सच्याउने कि नेपाल सरकारले ? : जुनैद अन्सारी

पूर्वसांसद, नेकपा एमाले

० भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यस पटकको नेपाल भ्रमण कस्तो रह्यो ?
— भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यस पटकको भ्रमणलाई उपलब्धीमूलक नै मान्नुपर्छ । मोदी प्रधानमन्त्री भएको एकै कार्यकालमा तीनपटक नेपालको भ्रमण गर्नुभएको छ । मोदी प्रधानमन्त्री हुनु अगाडि इन्द्र कुमार गुजरालको नेपाल भ्रमणपछि १७ वर्षमा कुनै भारतीय प्रधानमन्त्रीको रूपमा मोदीको नेपाल भ्रमण भएको हो । तर, नेपालका प्रत्येक प्रधानमन्त्रीको शपथ ग्रहणपश्चात् पहिलो भ्रमण भारत नै हुने गरेको छ ।


० मोदीको नेपाल भ्रमणका उपलब्धी के हुन् ?
— विगतमा जसका कारणले नेपाल र भारतबीचको सम्बन्ध चिसिएको थियो त्यसलाई सुधार्न मोदीले यसपटक नेपालको यात्रा गर्नुभएको हो ।


० पहिलाको परम्परागत भ्रमणभन्दा यसपटक फरक रहेको विश्लेषण गरिन्छ, के भन्नुहुन्छ ?
— यसलाई सामान्य रूपमा म लिन्छु । नेपालको प्रधानमन्त्रीले हालै गर्नुभएको भारत भ्रमणका क्रममा मोदीलाई नेपालको भ्रमण निम्ता दिनुभएको थियो र त्यसको एक महिनाभित्रै मोदी नेपालको भ्रमण गर्ने तत्पर हुनुभयो र उहाँले तीर्थाटनका लागि आउने भन्नुभयो । उहाँले राजनीतिक यात्राभन्दा धार्मिक यात्रा गर्ने भन्नुभयो । उहाँले विगतमा पनि काठमाडौं आउँदा पशुपतिनाथको दर्शन गरिसक्नु भएको छ । त्यसपछि जनकपुरधाम र मुक्तिनाथको दर्शन बाँकी थियो । सोही अनुसार पहिला जनकपुरधाम जाने र पछि काठमाडौं र मुक्तिनाथको दर्शन गर्ने उहाँको कार्यक्रम बन्यो ।


० जनकपुरधामको आसपासका क्षेत्रमा विकासका लागि भारतीय प्रधानमन्त्रीले एक अर्ब दिने घोषणा गर्नुभएको छ, यसलाई कसरी लिनुभएको छ ?
— जनकपुरलाई एक अर्ब रूपैयाँ दिने भारतीय प्रधानमन्त्रीले जुन घोषणा गर्नुभयो, त्यो केन्द्रीय सरकारमार्फत नै राज्य सरकारको हाथमा जाने हो । राज्य सरकारका मुख्यमन्त्रीले घोषित रकम सिधा आफू कहाँ आउनु पर्ने भन्दैछन, त्यसो होइन । भारत सरकारको घोषणा के छ भने जनकपुर क्षेत्रको विकासका लागि त्यो रकम दिइएको हो । नेपाल सरकारको निमन्त्रणामा भारतको प्रधानमन्त्री आउँदा र एउटा क्षेत्र विशेषको विकासका लागि रकम प्रदान गर्छु भन्दा त्यो रकम केन्द्र सरकारको हातमा जान्छ । केन्द्र सरकारले योजना बनाएर जनकपुर क्षेत्रको विकासमा खर्च गर्ने हो । तर यसबाट जनकपुरको विकास हुन्छ भने राम्रो कुरो हो ।


० जनकपुरधाममा नागरिक अभिनन्दन कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्रीले गरेको सम्बोधर्न सच्याउनु पर्छ हो ?
— प्रदेश २ का मुख्यमन्त्रीले आफ्नो गरिमा र पदलाई अवमूल्यन गरेर अभिव्यक्ति दिनु हुँदैन्थ्यो । संविधानलाई स्वीकार गरेर चुनाव लड्ने, शपथ ग्रहण गरेर मुख्यमन्त्री बन्ने, त्यो संविधानले गरेको व्यवस्थाअनुसार सरकार चलाउने लगायत सम्पूर्ण काम गर्ने अनि संविधानप्रति असन्तुष्टि जनाउने किन ? यदि असन्तुष्टि छ भने त्यो नेपाल सरकारसँग गर्नुपर्छ । भारतका प्रधानमन्त्री अतिथिको रूपमा आएका बेला उनको अगाडि दण्डवत् गरेर सुनाउनुको कुनै अर्थ हुँदैन ।


० उहाँले के भन्नुपर्ने थियो ?
— उहाँले त मोदीलाई स्वागत गर्नुपर्ने थियो । तपार्इँ जनकपुर आउनुभयो, हामी स्वागत गर्छौं, हामी खुशी छौं, तपाइँ नेपाल र नेपालीका लागि के कति गर्न सक्नुहुन्छ गर्नुस् भन्ने कुरा गर्नुपथ्र्यो । तर, आफ्ना मर्यादालाई बिर्सेर आफूलाई तल खसाएर त्यसरी कुरा गर्नु हुँदैन्थ्यो । उहाँको त्यो अपरिपक्वता हो ।


० उहाँले आफ्ना कुरा जनतालाई सुनाउन भनेको, विदेशी भूमिमा गएर त नभनेको लगायतको तर्क छ नि ?
— छिमेकी भनेको पर्दा गर्दा एकअर्कालाई सहयोग गर्ने हो । तर, मेरो घरको हरेक कुरामा तिमी हस्तक्षेप गर भन्ने कुरा गलत हो ।


० तर, उहाँले हस्तक्षेप गर्न भन्नुभएको छैन नि ?
— त्यो कुरा सुनाउनुपर्ने कुनै औचित्य नै थिएन । उहाँले प्रधानमन्त्रीलाई स्वागतका लागि भाषण गर्नुपर्ने थियो । समग्र नेपालको विकासमा भारतको सहभागिता हुनुप¥यो भन्नुपर्ने थियो । भारतले वाचा रहेका प्रतिबद्धताहरू पूरा गराउन कुरा उठाउनुपर्ने थियो । त्यो सब नभनेर अनावश्यक कुरा जसमा मोदीको कुनै चासो नै छैन, उहाँले केही गर्न सक्नुहुन्न त्यो कुरालाई उठाएर आफ्नै गरिमा खसाल्ने कुरा गर्नुभयो ।


० आफ्नो घरका मान्छेले कुरा नसुनेपछि छिमेकीलाई भन्न नहुने ?
— यदि उहाँहरूलाई संविधान स्वीकार्य छैन भने किन त्यसैलाई टेकेर चुनाव लड्नुभयो, त्यो संविधानले दिएको अक्षरशः शपथ ग्रहण किन गर्नुभयो, त्यो संविधानले गरेको व्यवस्था अनुसार मुख्यमन्त्री किन हुनुभयो ? सबै काम गर्ने अनि संविधानै स्वीकार छैन भन्न मिल्दैन । त्यो त नुन खाएर नुनसँग धोका गरेको भयो । हिम्मत छ भने मैले भनेअनुसार संविधान संशोधन हुँदैन भने विद्रोह गर्छु, यो संविधानका कुरा अंगीकार गर्दैनौं भन्नुपर्छ । संविधानले दिएको सबै सुविधा अनुसार भोग पनि गरि रहने र संविधानलाई गाली पनि गरि रहने सुहाउने कुरो होइन ।


० तर, उहाँहरूले यो संविधानका केही बुँदामाथि मात्रै असन्तुष्टि छ, सम्पूर्ण संविधान नै स्वीकार छैन भन्नुभएको त छैन नि ?
— ती बुँदा कसले सच्याउने, भारत सरकारले सच्याउने हो कि नेपालको सरकार, संसद र दलहरूले सच्याउने ।


० तपार्इँकै पार्टीका अध्यक्ष अहिले प्रधानमन्त्री हुनुहुन्छ, उहाँले विश्वासको मत लिने बेलामा संशोधन गर्छु भनेर संसदमै घोषणा गर्नुभयो, तर अहिलेसम्म किन गर्नुभएन ?
— हाम्रो सुरूदेखिको धारणा के रहेको छ भने यो संविधान कुनै धार्मिक ग्रन्थ होइन जसलाई संशोधन गर्न मिल्दैन । यो संविधान सयकडौं पटक संशोधन हुन्छ । तर, उहाँहरूले संशोधन गर्न चाहेको विषयमा कन्भिन्स गर्न सक्नुप¥यो नि । कुन कुन कुरा स्वीकार छैन भन्ने प्रष्ट राख्नुपर्छ । तर, उहाँहरूले उठाउनु भएको मुद्दालाई राजनीतिकरण मात्र गरिएको छ ।


० तर, उहाँहरूले आफ्ना माग पटक–पटक सरकारलाई बुझाउँदै आउनुभएको छ ?
— उहाँहरूले संशोधनको औचित्य प्रमाणित गर्न सक्नु भएको छैन । पहिला संशोधनको औचित्य प्रमाणित गर्न सक्नु प¥यो नि । वाम गठबन्धनलाई जनताले जुन म्यान्डेट दिएको छ त्यो कुरालाई मान्ने कि नमान्ने ? उहाँहरू पाँच÷सात वटा सांसद जित्नु भएको छ अनि २०६ वटा जितेको पार्टीलाई मैले भनेअनुसार गर भन्न मिल्छ । सबैलाई थाहा छ, मधेशी दलहरू राजनीतिक एजेन्डालाई जिवित राख्न चाहेका छन् । होइन भने यो एजेन्डा सक्यो भने उनीहरूको राजनीति गर्ने एजेन्डा नै समाप्त हुन्छ । त्यसैले यो एजेन्डालाई जिवित राख्ने र यसैलाई भजाएर उपयोग गर्ने नीति छ मधेशी दलहरूको ।


० मधेशी दलहरूले उठाउँदै आएको एजेन्डा वास्तवमा मधेशको समस्या हो कि होइन ?
— यस विषयमा बहस गर्न धेरै समय चाहिन्छ । यसको निष्कर्षको रूपमा भन्नुपर्दा, मधेशको आधारमा राजनीति गरिरहेका दलहरूले र वाम गठबन्धनसँग वार्तामा बस्नुपर्छ । प्रत्येक समस्याको समाधान वार्ताको माध्यमबाट नै हुन्छ । मधेशी नेताहरू पनि इमान्दार हुनुपर्छ । मधेश आन्दोलनमा धेरै शहीद भए तर उनीहरू प्रदेशसभा तथा प्रतिनिधिसभामा कति जना शहीद परिवारलाई सांसद बनाए ? आफ्ना नातागोता र पैसाको आधारमा सांसद बनाउने अनि मधेशको लागि राजनीति गर्छु कसरी भन्न सकिन्छ । मधेशी जनता सोझो हुन्, केही दिन भ्रममा बस्छन् तर उनीहरू सबै कुरा बुझिरहेका छन् ।


० तर, मधेशी दलले प्रदेशसभामा शहीद पत्नीलाई सांसद बनाएको छ । वीरगन्ज महानगरमा शहीद पत्नीलाई जागिर दिएको छ नि ?
— एक जनालाई सांसद बनाइदियो भने कुन ठूलो कुरो भयो । जागिर त जसलाई पनि दिइन्छ । एक दुई जनालाई जागिर दियो भन्दैमा सबै मधेशी जनताप्रति न्याय गरेको भन्ने म मान्दिन । एक शहीदको बहिनीलाई प्रदेशसभा सदस्य दिए तर त्यसको बदलामा आफ्ना कति श्रीमती, बुहारी, सम्धी, र सम्धिनीलाई दिए, त्यो पनि हेर्नुपर्छ ।


० एमाले र माओवादी केन्द्रबीच एकताका लागि लामो समयदेखि छलफल हुँदैछ, कहिलेसम्म एकता हुन्छ ?
— हामीसँग अनुभव छ, सानो–सानो पार्टीबीचको एकीकरणले पनि स्थिरता पाउँदैन । आज एकीकरण हुन्छ, दुई महिनापछि विभाजित हुन्छ । तर, नेकपा एमाले र माओवादी केन्द्र देशका ठूला राजनीतिक दल हुन् । ग्रास रूटसम्म यिनका कमिटीहरू छन् । यत्रा ठूला कमिटीहरूलाई मिलाएर पार्टी एकीकरण गर्न सम्पूर्ण प्रक्रिया पूरा गर्नुपर्छ । यसका लागि समय लाग्छ । एमाले र माओवादीबीचको एकीकरण अवश्यमभावी छ । यसलाई कसैले टार्न सक्दैन ।


० यसको समयसीमा ?
— समयसीमा भन्न सकिँदैन । किनभने थुप्रै कुराहरू मिलाउनुपर्ने हुन्छ । एकीकरणका लागि गठन भएका विभिन्न समितिहरूले काम गर्दैछन् । सक्दो चाँडो पार्टी एकीकरण हुन्छ भन्ने विश्वास दिलाउन चाहन्छु ।


० समय–समयमा नेताहरूको अभिव्यक्तिका कारण एकताप्रति आशंका पनि उत्पन्न हुने गरेको छ नि ?
— कुन बेला को नेता कहाँ गएर बोल्नुहुन्छ, त्यसमा नजाऔं । एमाले र माओवादी केन्द्रबीचको एकीकरण नेताको होइन, समग्र नेपाली जनताको चाहना हो । यो देशमा अब एमाले र माओवादी एकजुट हुनुपर्छ र यो देशलाई समृद्धि र विकासतर्फ लानुपर्छ भन्ने जनताको भावना हो । त्यसकारणले नेताले चाहेर वा नचाहेर एकीकरण भंग हुँदैन ।

 

प्रकाशित मिति : २०७५ साल जेठ ४ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com