वाम एकता र मधेशको सवाल (सम्पादकीय)

गएको हप्ता मुख्य वामपन्थी दलहरू नेकपा एमाले र नेकपा माओवादी–केन्द्रले सबै आशंका र मतभेदहरूलाई चिर्दै अन्ततः पार्टी एकीकरणको घोषणा गरेको छ । यो एकताले मुलुकको राजनीतिलाई एक पटक फेरि तरंगित पारेको छ ।


गत असोजमा सारा नेपाली दशैंमा रमाइरहेको बेला अकस्मात पार्टी एकीकरणको घोषणा गरेका यी दुई दलले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा गठबन्धन बनाएर लड्दा अधिकांश स्थानमा जीत हासिल गर्दै केन्द्र तथा सात मध्ये छ वटा प्रदेशमा सरकार बनाउन सफल भएको छ ।


जे भएपनि, दुई पार्टीको एकताले राजनीतिमा नयाँ तरङ्ग र धु्रवीकरणलाई आमन्त्रण गरेको छ । एकातर्फ, सम्पन्न तीनै तहको निर्वाचनहरूमार्फत राजनीतिक दलहरूका ‘एजेण्डा’ जनमतको कसीमा कति लोकप्रिय कति अलोकप्रिय भन्ने कुरा प्रष्टिसकेको छ । यसले जनताको दृष्टिमा एक हदसम्म राजनीतिक दलहरूको हैसियतलाई निर्धारण गरिदिएको छ ।


विगतको तीव्र प्रतिस्पर्धा र आलोचना प्रत्यालोचनामा उत्रिएका एमाले र माओवादी केन्द्रबीच भएको पार्टी एकाताले सबैलाई आश्चर्यमा पारेको मात्रै छैन, पार्टी एकताको सवालमा केही सैद्धान्तिक, वैचारिक, व्यावहारिक र भावनात्मक प्रश्न पनि खडा भएका छन् । त्यसकारण बाध्यतावश वा रहरले भएको एकताले मुलुकको आवश्यकता अनुरूप सैद्धान्तिक, वैचारिक, व्यावहारिक र भावनात्मक रूपमै एकताको डोरीमा बाँध्ने हो कि भन्ने हेर्न बाँकी छ ।


यदि यसले सैद्धान्तिक, वैचारिक र भावनात्मक रूपमै सार्थकता पायो भने यो प्रयास राजनीतिक स्थिरता र आर्थिक विकासको सावालमा कोसेढुङ्गा बन्न सक्दछ । सबै वाम समान लक्ष्यका लागि एकै ठाउँमा आउन सक्नु निश्चित रूपमा राम्रो कुरा हो, विशेष गरी राजनीतिक स्थायित्व र आर्थिक विकासका दृष्टिकोणले तर यसपछाडि धेरै अप्ठ्यारा र जोखिम पनि छन् ।
पार्टी एकताको कुरा गरिरहँदा केवल सैद्धान्तिक र वैचारिक पक्ष मात्रै होइन, त्यसको भावनात्मक पक्ष पनि महत्वपूर्ण हुन्छ । करिब एक दशक अघि मात्रै खुला राजनीतिमा आएको माओवादी र दशकौँ खुला राजनीतिमा भिजिसकेको र लोकतन्त्र र बहुलवादप्रति प्रतिबद्ध एमालेबीच भावनात्मक समायोजन त्यति सहज छैन ।


वाम एकतालाई मधेशको नजरबाट हेर्नु पनि जरूरी छ । मधेशप्रति पूर्व एमाले र पूर्व माओवादी केन्द्रको फरक दृष्टिकोणले अब नयाँ बनेको नेपाल कम्युनिष्ट पार्टीको धारणा के हुने कस्तो हुने भन्ने विषयमा विवेचना आवश्यक छ । विगतमा दुबै पार्टीको मधेशप्रति अलग–अलग दृष्टिकोण रहेको हुँदा अब नयाँ पार्टीले कस्तो धारणा बनाउँछ त्यो हेर्न बाँकी छ ।


तर यस एकीकरणबाट मधेशका सवाल समाधान होलान् भन्ने लाग्दैन । किनभने विगतमा मधेशीका सवालमा भएको आन्दोलनलाई कमजोर पार्ने क्रियाकलाप यी दुबै दलले गरेकै हो । माओवादी केन्द्रले मधेशी आदिवासी जनजातिलगायतका विभिन्न ३० दलीय गठबन्धनको नेतृत्व गर्दा गर्दै कित्ता परिवर्तन गरेर गएको इतिहास साक्षी छ । यद्यपी उसले कांग्रेससँग मिलेर बनाएको सरकारमार्फत संविधान संशोधन गर्ने प्रयास गरेको हो तर उक्त प्रयास एमालेकै कारणले असफल भएको दृष्टान्त पनि छ ।


कांग्रेस–माओवादी केन्द्र गठबन्धनको सरकारलाई मधेशी दलले यस कारणले समर्थन गरेको थियो कि उसले संविधान संशोधन गरेर मधेशको मुद्दालाई सम्बोधन गरोस् । तर उक्त सरकारले राजनीति गरेर मधेशका मागलाई कमजोर बनाउने काम गरे । अर्को कुरा मधेशका एजेन्डाको विरोधमा रहेको एमालेको हिस्सा नयाँ पार्टीमा बलियो उपस्थिति छ । त्यसैले मधेशका एजेन्डालाई उनीहरूले सम्बोधन गर्ने हुन् भन्ने विश्वासको आधार तय हुन सकेको छैन ।


त्यसैले नयाँ पार्टीले मधेशका एजेन्डालाई केन्द्रमा राखेर देश सञ्चालन गर्ने सोच नबनाएसम्म मधेशको समस्या समाधान हुँदैन भने यसले दीर्घकालीन राजनीतिक निकास पनि दिँदैन ।


नेपालको राजनीतिमा मधेशको एजेन्डा महत्वपूर्ण छ । यसको समाधान नगरी देश अगाडि नबढ्ने विषयमा नव एकीकृत पार्टीका नेताहरू जानकार नै छन् । तर उनीहरू मधेशका एजेन्डाका बारेमा अहिलेसम्म केही बोलेका छैनन् । लाग्छ, उनीहरू मधेशको विषयमा उदासीन छन् । ठूलो पार्टी हुँदैमा सबथोक हुने होइन । स्थानीय तहमा अन्य राजनीतिक दलको उपस्थिति पनि छ । बाधा र अड्काउको अवस्थामा हुने गतिविधिले परिणाम राम्रो देला भन्न सक्ने आधार तत्काल देखिँदैन ।


प्रकाशित मिति : २०७५ साल जेठ ११ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com