केन्द्रले प्रदेश २ सँग दूरी बढाउँदैछ : जितेन्द्र सोनल

भौतिक पूर्वाधार विकासमन्त्री प्रदेश २

० मुख्यमन्त्रीको अमेरिका भ्रमणलाई केन्द्र सरकारले अस्वीकार ग¥यो, यसलाई तपाईहरूले कुन रूपमा लिनुभएको छ ?
— यो अधिकार केन्द्र सरकारसँग छ । तर, यो भ्रमण अनाधिकृत रूपमा रोकियो । अधिकार रहँदा रहँदै पनि यसमा केन्द्र सरकारले सहजताको भूमिका निर्वाह गर्नुपथ्र्यो । केन्द्र सरकार किन यति साह्रो रूढ भयो त्यो मैले बुझ्न सकिरहेको छैन । अर्को कुरा भ्रमणलाई अस्वीकृत नै गर्नु थियो भने प्रधानमन्त्रीज्यूले व्यक्तिगत रूपमा नै मुख्यमन्त्रीसँग भन्न सक्नुहुन्थ्यो वा पत्राचार गर्नुपर्दथ्यो । मिडियाको सामु जुन प्रकारले प्रचार गरियो यसले प्रदेश २ र केन्द्र सरकारबीच दूरी बढेको सञ्चार प्रवाह भयो ।


० प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरूले विदेश भ्रमण गर्नका लागि केन्द्रकै अनुमति लिनुपर्ने हुन्छ ?
— स्वाभाविक रूपले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा परराष्ट्र नीति केन्द्र सरकारसँग भएको नाताले विदेशमा जानु आउनु खास गरेर मुलुकभरका मन्त्री, मुख्यमन्त्रीलगायत प्रतिनिधिले केन्द्रसँग अनुमति लिएर जानुपर्ने व्यवस्था विश्वभर छ । यस्तो व्यवस्था नेपालमा मात्र होइन, सबै मुलुकहरूमा छन् । यसलाई हामीले अनौठो रूपमा लिएका छैनौँ । तर अनौठो त तब लाग्छ जब अनाधिकृत रूपमा विवाद सिर्जना गरिन्छ । कुनै पनि प्रदेशको मन्त्री, मुख्यमन्त्री, प्रतिनिधि सभा सदस्यलगायत कोहि पनि मान्छे विदेशी संघसंस्था तथा विदेशमा रहेका नेपालीको कुनै संघसंस्था छ र त्यसले कुनै व्यक्तिलाई या प्रतिनिधिलाई बोलाउँछ भने त्यसमा जानका लागि रोक्नुपर्ने अवस्था हुँदैन । यदि केन्द्र सरकारको नियत ठिक थियो भने यसरी मिडियासामु ल्याएर प्रचार गरेर प्रोपोगाण्डा मच्याउनु जरूरी थिएन । यसले सम्बन्धलाई नजिक बनाउन भन्दा पनि दूरी बढाउँछ ।


० मुख्यमन्त्रीको अमेरिका भ्रमणका लागि अहिले उचित समय छ ?
— उचित÷अनुचित आफ्नो ठाउँमा छ । हाम्रै देशभित्रका दाजुभाई दिदीबहिनीहरूले त्यहाँ रहेर संघसंस्था बनाउनुभएको छ र एकदिने कार्यक्रममा आउनुस् भनेर निमन्त्रणा गर्नुभएको छ । भ्रमणका क्रममा लाग्ने खर्चसमेत हामी आफैले व्यहोर्छौं, राज्यलाई कुनै किसिमको व्ययभार पर्दैन भनिरहँदा एकदिनको लागि जान असुविधा हुँदैनथ्यो ।


० अहिलेको समयमा मुख्यमन्त्रीको काँधमा धेरै जिम्मेवारी छ । बजेटको कार्ययोजना, नीति नियम बनाउनुपर्ने लगायत विभिन्न किसिमका जिम्मेवारी छन्, यस्तो अवस्थामा विदेश भ्रमणमा जानु सार्थक हुन्छ ?
— भ्रमण एक दिनका लागि हो । एक दिन त आफ्नै देशभित्र रहँदा पनि त व्यस्त हुन सक्छ नि । कुनै पनि व्यक्तिको आफ्नो ठाउँमा भूमिका हुन्छ तर एक दिन उ उपस्थित नहुँदैमा सबै काम बिग्रेर जान्छ भन्ने मलाई लाग्दैन । मुख्यमन्त्री एक जनाले मात्रै सबै काम गर्ने त होइन । प्रदेश सरकार, अन्य प्रदेश सांसदहरूले पनि काम गर्नुहुन्छ । विशेष परिस्थितिमा मान्छेहरूले व्यवस्थापन गर्छन् । मुख्यमन्त्री जी नभएको बेलामा सबै कार्यहरूको व्यवस्थापन गर्न हामी पनि तयार छौँ ।


० केन्द्र सरकारले प्रदेश २ को सरकारप्रति गर्ने व्यवहार र प्रदेश २ को मुख्यमन्त्रीले पनि केन्द्र सरकारले अधिकार दिएन भन्ने किसिमको अभिव्यक्ति दिइरहँदा विशेष गरी प्रदेश २ र केन्द्र सरकारबीच दुरी बढ्दै गएको हो ?
— प्रदेश २ ले जुन कुरा उठायो अन्य प्रदेशहरूले पनि ढिलो चाँडो त्यो कुरा उठाउँदै छन् । भिन्नता के रह्यो भने संघीयताको नेतृत्व गरेको भूमि प्रदेश २ हो । त्यसकारण यसको आवश्यकता सबैभन्दा पहिले हामीले महशुस गर्छौं । हामीले भनेको कुरा किन जायज छ भने सबै प्रदेशका मुख्यमन्त्रीहरूले त्यहि कुरा बोल्दै, अवलम्बन गर्दै कुराहरू उठान गरिरहेका छन् । हामीले कर्मचारी, कार्यालय, स्रोतसाधन, व्यवस्थापनका कुराहरू उठायौं । प्रदेश सरकारलाई जति पनि स्रोत र साधनको आवश्यकता पर्ने त्यो केन्द्र सरकारले उपलब्ध गराउन सकेको छैन । केन्द्रसँग हामीले विभिन्न चरणमा भनेका छौँ । केन्द्रसँग सहकार्य गरेर हामी अगाडि बढ्छौं । तर केन्द्रको पनि त्यहि नीति, रणनीति र कार्यनीति हुनुपर्यो । यि तीन वटै भयो भने मात्र सहकार्य सम्भव हुन्छ । केन्द्र सरकारले पनि विवाद गरेर आफ्नो कामहरू अगाडि बढाउन सक्दैन र विवाद गरेर प्रदेश सरकारले पनि अपेक्षाकृत कामहरू अगाडि बढाउन सक्दैन । केन्द्र सरकार र प्रदेश सरकारमा विवाद भयो भने त्यसबाट स्थानीय तह पनि प्रभावित हुन सक्छ । त्यसकारण स्थानीय तहदेखि केन्द्र सरकारको सफलताको निम्ती सहकार्य अत्यन्त जरूरी छ । त्यो जहिले पनि केन्द्रबाट सुरू हुनुपर्छ । अर्को मुख्यमन्त्रीको अभिव्यक्तिको कुरा, मुख्यमन्त्रीले पनि यहि कुरा उठाउँदै आउनुभएको छ । मुख्यमन्त्रीले उठाउनु भएको कुरालाई माओवादी र एमालेका नेताहरूले पनि उठाउँदै आएका छन् । त्यसकारण यो कुनै नौलो कुरा होइन ।


० प्रदेश नं. २ माथि जुन किसिमका प्रहार भैरहेका छन्, यी सबलाई हेर्दा संघीयता विरूद्धमा षडयन्त्र त भइरहेको छैन ?
— संघीयता यो देशमा कसैले भिक्षाको रूपमा दिएको होइन । मधेशी जनताको अथक प्रयास र सयौं युवाहरूको बलिदानको फलस्वरूप भएको संघीयता कसैले मिती तोकेर समाप्त गर्छु भनेर कसैले सपना देख्छ भने त्यो दिवा सपना हो ।


० तर असफल बनाउने षडयन्त्र त हुँदैछ नि ?
— जुन किसिमले यसलाई अपाङ्ग बनाउने षडयन्त्र हुँदैछ त्यसप्रति हामी सचेत छौं र गम्भीर पनि छौं । कहिलेसम्म असहयोग गर्ने हो ? हामी असहयोगलाई पनि अवसर र चूनौतिको रूपमा लिएर अघि बढ्नेछौं । संघीयतालाई हामी संस्थागत गर्छौं । सरकारको त पहिलेदेखि नै चाहना हो कि देशमा संघीयता नआओस र संघीयता आईसकेपछि राजधानी घोषणा नगर्ने, राजधानी घोषणा गरेपनि केन्द्रमै लगेर सपथ ग्रहण गर्न लगाउने, सपथ ग्रहण पछि पनि अवरोधहरू सिर्जना गर्ने । तर हामी त सफल भयौं नि । चुनाव गर्यौँ, अस्थायी नै भए पनि राजधानी तोकियो, प्रदेश सभाको बैठक बस्यो । एकपछि अर्को उपलब्धी गरिरहेका छौं र यो उपलब्धीबाट हामी सन्तुष्ट भएर अगाडि बढ्नुपर्ने स्थिति छ । अझै पनि हामी संघर्ष गरेर अगाडि बढ्नेछौँ । जहाँसम्म भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको सवाल छ, देश संघीयतामा गैसकेपछि प्रदेश सरकार गठन भैसकेपछि विदेशी प्रधानमन्त्री एउटा प्रान्तमा आउनु आफैमा ऐतिहासिक कुरा हो । त्यसलाई सफल बनाउन यहाँको प्रदेश सरकारले अथक प्रयास गर्यो । सुरक्षाका कुरादेखि नागरिक अभिनन्दनसम्म । नागरिक अभिनन्दनको सवालमा धेरै कुराहरू आयो । यति धेरै मान्छे किन आए भन्नेजस्ता कुरा आयो । जति धेरै उपस्थित भएर अभिनन्दन गर्यो त्यति नै ठूलो सम्मान हुन्छ । अभिनन्दन त काठमाडौंमा पनि भयो तर त्यो सरकारी अभिनन्दन थियो । हामीले गरेको नागरिक अभिनन्दन थियो । त्यो हामीले भव्यताका साथ सम्पन्न गर्यौं । त्यसरी नागरिक अभिनन्दन गर्न सफल भएकोमा हामी आफूलाई गौरवान्वित महसुस गरेका छौं ।


० अभिनन्दनकै क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सय करोड दिने भनेर घोषण गर्नुभयो, त्यो भारतीय रूपैया हो कि नेपाली ?
— हामीलाई सूचना प्राप्त भएअनुसार त्यो भारतीय रूपैयाँ नै हो । नेपाली एक अर्ब ६० करोड रूपैयाँ सहयोग गर्ने घोषणा भएको हो ।


० त्यो सहयोग केन्द्र सरकारमार्फत दिने भनिएको छ, त्यसको लागि योजना तपाईहरूले बनाउने कि केन्द्र सरकारले ?
— यसमा केन्द्र, प्रदेश र स्थानीय तीनै तह मिलेर जनकपुरको विकासका लागि सहकार्य गरेर अगाडि बढ्ने हो ।


० तपाइँ सम्हाल्नु भएको भौतिक पूर्वाधार विकास मन्त्रालयका योजनाहरू के–के छन् ?
— सडक निर्माण, भौतिक संरचनाहरू, ऊर्जा, विद्युत लगायतका क्षेत्रमा हाम्रो मन्त्रालयले योजना बनाउँदैछ । अहिले हामी अत्यन्त प्राथमिकतामा राखेका छौं । प्रदेशभित्रका गौरवका योजनाहरू के–के हुनसक्छ, जसले प्रदेशको अनुहार फेर्न सक्छ जस्तै हुलाकी सडक, हाम्रो प्रदेशमा रहेको ऐतिहासिक महत्व बोकेका निजगढका अन्तर्राष्ट्रिय विमानस्थल हुन सक्छ । हाम्रो प्रदेशसँग जोडिने काठमाडौंको फास्ट ट्रयाक हुनसक्छ । धार्मिक पर्यटन क्षेत्रको सवालमा सप्तरीदेखि पर्सासम्मका धार्मिकस्थलहरूलाई लाइनअप हुन सक्छ । यस्तै, कृषिमा आधारित उद्योगहरूलाई कसरी विकसित गर्ने र कृषिलाई कसरी आधुनिकीकरण गर्ने, खेत–खेतमा कसरी सिंचाइ पु¥याउने र प्रत्येक गाउँमा कसरी उज्यालो पु¥याउने यावत् जुन हाम्रा प्रमुख कुराहरू हुन यसमा सरकारले प्राथमिकताकरण गरेर हामी काम गर्न अगाडि बढिरहेका छौं ।


० तपाइँहरू बजेट ल्याउने तयारीमा पनि हुनुहुन्छ, बजेटको सिलिङ्ग कतिसम्म हुन्छ ?
— बजेटको सिलिङ्ग केन्द्र सरकारले तोक्ने हो । अहिले अड्कल मात्र भइरहेको छ । अहिलेसम्म कानूनको अभावमा यहाँका करहरूको बारेमा समुचितरूपमा निर्धारण नभइसकेको अवस्थामा यति कर आउँछ त्यो यथोचितरूपमा यकिन नभइसकेको अवस्थामा केन्द्रले सिलिङ्ग दिएको बजेटको निर्धारण गर्छौं ।


० तपाइँहरूको बजेटमा सबभन्दा प्राथमिकतामा के–के छन् ?
— सबभन्दा बढी प्राथमिकतामा अहिले सडक रहेको छ । प्रदेश २ सबभन्दा पिछडिएको क्षेत्र सडकमा नै हो । त्यसपछि जनजीविकाको सवालमा सबभन्दा बढी कृषिमा आधारित जीवन छ । त्यस्तै, धार्मिक पर्यटकीयस्थलहरूको स्तरोन्नति कसरी गर्ने लगायतका प्राथमिकतामा छन् ।


० युवानीति के छ प्रदेश २ को ?
— स्वाभाविकरूपले सबभन्दा बढी युवा पलायन हुने प्रदेश २ नै हो । विदेश पलायनलाई रोक्न स्वदेशमै कसरी रोजगारको सिर्जना गर्ने तर्फ लागेका छौं ।

 

प्रकाशित मिति : २०७५ साल जेठ ११ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com