संविधान अपूरो रहेको कुरा लिखितरूपमै स्वीकारोक्ति : डा. शिवजी यादव

केन्द्रीय सदस्य, संघीय समाजवादी फोरम नेपाल

० फोरमले नेपाल कम्युनिष्ट पार्टीसँग गरेको दुईबुँदे सहमतिको आधारलाई कसरी पुष्टि गर्छ त ?

— यो सहमति लगभग फागुनमै निष्कर्षमा पुगिसकेको थियो, त्यतिखेर नै त्यसको आधार पुष्टि भएको थियो तर हस्ताक्षर भएको थिएन । जनताले ताजा जनादेश दिइसकेपछि देशमा पाँच वर्षका लागि जननिर्वाचित सांसदहरू आइसकेपछि संविधानका त्रुटिहरू कसरी सच्याउने भन्ने कुराको एक मात्र विकल्पलाई आधार बनाएर संशोधन गराउने शर्तसहित दुईबुँदे सहमति गरेका हौं ।

० फोरम २२ बुँदेदेखि हाल आएर दुईबुँदेमा झरेको छ, मधेशका के कति मागहरू पूरा भएका छन् ?


— अहिलेको दुई बुँदामध्ये पहिलो संविधान संशोधन गराउने शर्त हो र दोस्रो त्यसको आधारमा सरकारमा जाने । मुख्य आधार पहिलो बुँदा नै हो । मधेश आन्दोलनबाट उठ्दै आएका २२ बुँदादेखि तत्कालीन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको ८ बुँदे जुन मागहरू छन् ती कुराहरू कतिपय पूरा भए र बाँकी पूरा नभएका अधुरा कुराहरू छन् त्यो पूरा गराउने शर्तमै हामीले यो सहमति गरेका छौं । अब वार्ता भएपछि पूरा नभएका बुँदा एक–एक गरी उठान हुन्छ ।

० तपाइँहरू सहमति÷सम्झौता गर्दै सरकारमा जाने काम गर्दै आउनुभएको छ, यसपाली सहमति लागू नै हुन्छ भन्नेमा कसरी विश्वस्त हुने ?

— यत्रो ठूलो जनताको म्यान्डेट बोकेको र सत्तापक्षीय दलकै संख्याले संशोधन हुने हैसियत भएपछि त्यो शर्तमा सहमति भइसकेपछि यसमा ‘इफ एण्ड बट’ को त कुरै छैन । तर, छोटो समयमा बढीभन्दा बढी कसरी हामी उपलब्धि हासिल गर्न सक्छौं त्यतातिर लाग्नुपर्छ । अहिलेसम्मको इतिहासमा के देखियो भने संघर्ष लामो हुँदै गयो तर, अन्तमा हामीले उठाएका मुद्दा जायज रहेछ नि प्रमाणित त भयो नि । हामीले उठाउँदै आएको मुद्दा सही भन्ने आत्मबोध यो कम्युनिष्ट सरकारलाई भएको छ । उनीहरू निश्चितरूपमा गर्छन् ।

० जसरी वर्तमान संविधानलाई ९०% ले बनाएको र विश्वकै उत्कृष्ट भन्नेहरूले संशोधन बिना मुलुकमा शान्ति र समृद्धि आउँदैन भन्ने लिखितरूपमै स्वीकारोक्ति हो भन्न मिल्छ ?

— एकदम सही । जसरी यो सरकारले हामीसँग लिखितरूपमै स्वीकार ग¥यो कि सम्बोधन गर्नुपर्छ यो त एउटा इतिहास बन्यो । उसले गल्ती स्वीकार ग¥यो । उसका आफ्नै जनता, प्रादेशिक सरकारले पनि दबाब दियो । जनताले केका लागि मत दिए त भनेपछि यही अधुरा कुरा जुन फोरम, राजपा र अन्य दलहरूले पनि उठाइरहेका थिए त्यो कुरा अहिले आत्मबोध भएको छ । त्यसको स्वीकारोक्तिस्वरूप नै हामीसँग भएको दुईबुँदे सहमति हो ।

० तपाइँहरूले संविधान संशोधन गर्ने सहमति त गर्नुभयो तर कहिलेसम्म गर्ने भन्ने समयसीमा छैन । कहिलेसम्म यो सरकारले संशोधन गर्ला ?

— यो संसदको समय पाँच वर्षसम्मका लागि दिइएको छ । संवैधानिक हिसावले यो सरकारको निरन्तरता दुई वर्षसम्म सुनिश्चित गरेको छ । दुई वर्षसम्म सरकार परिवर्तन हुँदैन भन्ने जुन प्रावधान छ त्यो दुई वर्षको सीमा नै समयसीमा हो । यो समयसीमाभित्र संशोधन गरिएन भने निश्चितरूपमा दबाब सिर्जना हुन्छ । यो समयसीमाभित्र हामीले संशोधन गराउन सकेनौं भने त्यसपछि जनतासामु श्वेतपत्रकै रूपमा ल्याउँछौं ।

० भनेपछि दुई वर्षसम्मका लागि सरकारमा फोरमको सहभागिता सुनिश्चित भयो ?

— हामी सरकारमा गइसकेपछि हाम्रो पहिलो प्राथमिकता नै संशोधनका लागि विधेयक ल्याउनु हो । विधेयकको उत्पति नै सरकारबाट हुन्छ । भनेपछि त्यो उत्पति हुने ठाउँमै हामी भएपछि योभन्दा ठूलो दबाब के हुनसक्छ । जसले सडकबाट आफ्नो उठाउँदै थियो, उसले आफूले भनेअनुसारको विधेयक बनाउनलाई दबाब दिने गरी सरकारमा बस्न सक्नु त्यो पनि जनताका लागि ठूलो उपलब्धि हो । हाम्रो वाचा पूरा भएन भने त्यसको जिम्मेवारी हामी लिन्छौं । हामीले ८०÷९०% प्रतिशतको संविधान होइन शतप्रतिशत वा सबैले अपनत्व ग्रहण गर्न सक्ने संविधान हुनुपर्ने भनेका छौं । दीर्घायु संविधान होस् भन्ने हाम्रो चाहना हो । त्यसका लागि केही समय लाग्न सक्छ ।

० आन्दोलनका अर्का सहयात्री राजपा नेपाललाई यो सहमतिभन्दा बाहिर किन राखियो त ?

— हाम्रो आन्दोलनको एउटा अभिन्न अंग हो राजपा नेपाल । हामी सँगै चुनाव लडेर प्रदेश २ मा सरकार बनाएका छौं । हामीले राजपालाई छोडेर कतै गएकै होइनौं । हाम्रो मूल थलो भनेकै प्रदेश २ हो । उहाँहरू निर्वाचनको बेलामै जुन गल्ती गर्नुभयो त्यसको फलस्वरूप अन्य प्रदेशमा जुन तरंग जानुपर्दथ्यो त्यो हुन सकेन । त्यसले गर्दा हामी अलि कमजोर भयौं । प्रदेश २ मा जनताले हामीलाई सँगै मिलेर बस भन्ने जनादेश दियो । केन्द्रीय सरकारमा भएका दलले राजपासँग पनि कुरा गरेकै हो, किन कुरा मिलेन त्यो राजपाले जानून् । हामी त्यहाँ गयौं बन्दैमा राजपा आउनु हुँदैन भन्ने तम होइन । हामीले गरेको दुईबुँदे सहमतिमा यदि केही त्रुटि छ भने त्यसलाई परिमार्जन गर्दै राजपाले पनि अर्को सहमति गरेर सामेल हुनसक्छ । त्यसैले राम्रो काम गर्नका लागि कसैले कसैलाई छोडेर गएको होइन । स्थानीय तहको निर्वाचनका बेलामा हामी सहभागी हुँदा राजपालाई हामीलाई दुश्मनैको रूपमा देखेको थियो । तर, हामीले कहिल्यै पनि राजपालाई दुश्मनको रूपमा हेरेनौं । जहिले पनि हामीले मित्र शक्ति भन्यौं । तर, उहाँहरूलाई जब त्यो कुराको बोध भयो, त्यसपछि हामी सँगै चुनाव लड्यौं । हामी सँगै अगाडि बढौं भन्ने चाहना हो ।

० भनेपछि यो सहमतिले राजपा र फोरमबीचको सम्बन्धमा कुनै किसिमको कटुता आएको छैन ?

— बिल्कुलै कटुता आएको छैन र आउनु पनि हुँदैन । किनभने अहिले जनताले जुन ताजा जनादेश दिएको छ, त्यसले कुनै अशान्ति नगरिकन समृद्धिको बाटोमा अग्रसर हुने मार्गदर्शन दिएको हो । विगतका आन्दोलनहरूका क्रममा भएका क्षतिलाई रिकभरी गर्दै अपूरो संविधानलाई पूरा गरौं । सुशासन, समृद्धि र सबैको सहभागिता भएको हाम्रो नेपाल बनोस् ।

० प्रदेश २ मा राजपा र फोरमको सरकार छ । त्यो सरकारलाई दिएको समर्थन नेकपाले फिर्ता लियो, यसले प्रदेश २ मा सत्ता समीकरणमा परिवर्तन हुने संकेत हो ?

— राजपा र फोरमको यही बुद्धिमता छ । प्रदेश २ मा त सरकार हामीले बनाएका छौं । उनीहरू समर्थन गर्न आएका थिए र हामीले स्वागत पनि गरेका थियौं । तर, उहाँले समर्थन लिनुभयो त्यसका लागि उहाँहरू स्वतन्त्र हुनुहुन्छ । प्रदेश २ को ठूलो दलको हैसियत प्रमुख प्रतिपक्षी दलको मान्यता दिनुपर्छ भन्ने मागको आधारमा समर्थन फिर्ता लिएको हो । तर, यसरी दिएको समर्थन फिर्ता लिनु जायज छैन ।

० नेकपाले प्रमुख प्रतिपक्षीकै लागि प्रदेश २ को सरकारबाट समर्थन फिर्ता लिएको हो ?
— बिल्कुल ।
मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंशः
प्रकाशित मिति ः २०७५ जेठ १८ गते शुक्रबार


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com