फोरमको सहमतिले संशोधन र आन्दोलन दुवै बाटो खुला गरेको छ : राजेन्द्र महतो

अध्यक्षमण्डलीय नेता, राष्ट्रिय जनता पार्टी नेपाल

० नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपालबीच भएको दुई बुँदे सहमतिलाई राजपा नेपालले कसरी लिएको छ ?

— हामीले गरेको कठोर र गम्भीर मधेश आन्दोलनमा दर्जनौं सपूत शहीद भएका छन् । बन्द, हड्तालदेखि नाकाबन्दीसम्मका आन्दोलन हामीले अधिकार प्राप्तिका लागि गरेका थियौं । संविधानमा आवश्यक सुधारका लागि आन्दोलन गरेका थियौं । तर, त्यो आन्दोलनका मागअनुसार संविधानमा कुनै किसिमको संशोधन अहिलेसम्म भएको छैन । जबसम्म माग पूरा हुँदैन तबसम्म आन्दोलन भइरहन्छ । यही मागलाई सम्बोधन गर्न सत्ताधारी दलले संघीय समाजवादी फोरमसँग लिखित सम्झौता गरेको छ र सँगसँगै फोरम सरकारमा जाने भएको छ ।

० त्यसो भए यो सहमतिलाई राजपाले सकारात्मक रूपमै लिएको हो ?

— संविधान संशोधनको हकमा कुनै पक्षले कुनै प्रकारको प्रयास ग¥यो भने त्यसलाई सकारात्मक रूपमा नै लिनुपर्छ । त्यसैले संविधान संशोधनका लागि जुन सहमति भएको छ त्यसलाई हामीले सकारात्मक रूपमै लिएका छौं । यो सम्झौता कागजमा मात्रै सीमित रहनु हुँदैन । हामी विगतका दिनमा पटक–पटक सम्झौता गरेका थियौं तर ती सम्झौता कतिपय कार्यान्वयन भए तर धेरै सम्झौता कार्यान्वयन हुनै सकेन । त्यसैले फोरमसँग भएको त्यो सम्झौता सरकारमा प्रवेशका लागि भ¥याङ्ग मात्रै नबनोस्, त्यसमा सचेत रहनुपर्छ फोरम नेपाल । किनभने संविधान संशोधनका लागि जनताले कठोर संघर्ष गरेका छन् । दर्जनौं मधेशी सपूतले सहादत दिएका छन्, विराटनगरमा मेरै टाउको फुटेको छ, हाम्रा हजारौं साथी अपाङ्ग भएका छन्, जनताको अर्बौंको नोक्सानी भएको छ । फोरमसँग भएको सम्झौता कसैको अनुहार हेरेर गरेको होइन, आन्दोलनकै रापतापका कारण सत्तापक्षले सम्झौता गरेको हो । सम्झौताका लागि सरकारले हामीसँग पनि कुरा गरिरहेको थियो । हामी सरकारमा जाने परिस्थिति बनिसकेको थिएन र छैन । त्यसैले हामीसँग सम्झौता गर्न सम्भव भएन । तर, उपेन्द्रजीसँग सरकारमा जानेसम्मको परिस्थिति बनेपछि सम्झौता भयो । यसमा हामीलाई भन्नु केही छैन । फोरमले तीन महिना अघि नै सरकारमा जाने निर्णय गरिसकेको थियो । राजपाका निर्वाचित सांसद रेशमलाल चौधरी अहिले थुनामा छन्, सरकारमा कसरी जाने ? भनेपछि सरकारमा जाने हाम्रो परिस्थिति बनेको छैन । औचित्य र आवश्यक्ताको आधारमा संविधान संशोधन गर्ने भन्ने सम्झौता भएको छ ।

संशोधनका लागि औचित्य र आवश्यक्ता चाँडो यो सरकारलाई फोरमले महसुस गराउनुप¥यो । माग पूरा गराउने सन्दर्भमा संविधान संशोधनको हकमा राजपा र फोरम संयुक्त रूपमै प्रस्तुत हुनुपर्ने थियो, जुन हुन सकेन जनताको गुनासो रहेको छ ।

० फोरम सरकारमा जाने परिस्थिति बन्यो तर, राजपाको परिस्थिति नबन्नुको कारण के हो ?

— फोरमले त तीन महिना पहिले नै सरकारमा जाने निर्णय गरिसकेको थियो । त्यसैले निर्णय ग¥यो र सरकारमा गयो । हामीलाई यसमा कुनै आपत्ति छैन । तर, हाम्रो पार्टीले सरकारमा जाने निर्णय गरेको छैन । किनकि हामीले केही कुरा राखेका छौं । संविधान संशोधनका लागि प्रष्टसँग सरकार आउनुपर्छ भन्ने सुरूदेखि नै भन्दै आएका छौं र आज पनि यहि भन्छांै । त्यसमा पनि हाम्रा सांसद रेशमलाल चौधरीको शपथ ग्रहणसमेत भएको छैन । त्यो त अन्याय नै हो । यी कुराहरूलाई स्पष्ट नगरिकन सरकारमा दौडिने अवस्था त छैन । हामी बाहिरबाट त सरकारलाई समर्थन गरेकै छौं र सरकारमा गएर पनि सहयोग गर्न तयार छौं । तर, हामीले उठाएका मागका विषयमा सरकार गम्भीर हुनुप¥यो । अन्यथा हामी अहिले सरकारको विषयमा कुनै कुरा गर्ने अवस्थामा छैनौं ।

० फोरमसँग जसरी नेकपाले दुई बुँदे सहमति ग¥यो यसले तपार्इँहरूबीचको सम्बन्धमा केही फरक पारेको छ ?

— संविधान संशोधनको सहमतिले हामीलाई अप्ठ्यारो पर्ने सवालै उठ्दैन नि । त्यो हाम्रो मुद्दा हो र हाम्रो मुद्दाका लागि कोही अगाडि बढ्छ भने हामी त्यसलाई राम्रो मान्छौं । सरकारमा सहभागी हुने कुरासँग हाम्रो कुनै सरोकार छैन तर चिन्ता यति छ कि त्यो सम्झौतालाई सरकारमा जाने भ¥याङ्गको रूपमा मात्र प्रयोग नगरियोस् । जनताको बलिदानीबाट संविधान संशोधनको एजेन्डा आएको छ । त्यसमा टेकेर नै यो सम्झौता भएको छ । त्यो सम्झौताको कार्यान्वयनका लागि गम्भीरतापूर्वक अगाडि बढ्नुपर्छ ।

संविधान संशोधनको प्रस्ताव दर्ता गराउने अवस्था बनाउनुपर्छ फोरमले । बाहिरबाट दबाब दिने हाम्रो जिम्मेवारी छँदैछ, हामी गरिरहेकै छौं । यो दुई बुँदे सम्झौताले संविधान संशोधनको बाटो पनि खोल्यो र संशोधन गरेन भने आन्दोलनको बाटो पनि खुला गरेको छ । त्यसैले त्यो सम्झौता संशोधन र आन्दोलन दुईटै बाटो हाम्रो लागि खोलिदिएको छ । फेरि पनि धोका भयो भने कठोर र घनघोर आन्दोलनमा जान हामीलाई कसैले रोक्न सक्दैन । अब सम्झौता भएको छ, दुई तिहाई बहुमत भएको सरकारले अब कुनै बहाना पनि पाउँदैन । जसरी संशोधन गर्छु भनेर सम्झौता गरेको छ, अब संशोधन प्रस्ताव तयार गर्नुप¥यो । फोरम सम्मिलित सरकारले संशोधनका लागि अब कुनै बहाना पाउँदैन । गरेन भने सरकारको विरूद्धमा मात्रै होइन उपेन्द्र यादवको विरूद्धमा पनि जनताले आन्दोलन गर्न बाध्य हुन्छन् ।

० प्रदेशको समीकरणमा यो सहमतिले कुनै असर त पार्दैन ?

— आन्दोलनको हकमा केन्द्रमा फोरमले हामीसँगको गठबन्धन त तोड्यो । तर पनि केही छैन । अर्को गठबन्धन प्रदेश २ मा छ । सँगै संघर्ष गरेको, चुनाव सँगै लडेको र सरकार पनि गठबन्धन बनाएर बनाएका छौं । अब यसमा फोरमले के गर्छ त्यो उनीहरूलाई नै थाहा होला । हामी सबै परिस्थिति सामना गर्न तयार छौं ।

० प्रदेश २ को सरकारबाट नेकपाको समर्थन फिर्ता हुनु र त्यसलगत्तै फोरमसँग दुई बुँदे सहमति गर्नु यसले के संकेत गरेको हुनुपर्छ ?

— नेकपाले प्रदेश २ मा समर्थन फिर्ता लिए पनि हाम्रो सरकारको बहुमत छ । गणितको हिसाबले केही फरक परेको छैन । तर केन्द्रमा फोरमले एक्लै कम्युनिष्टसँग साँठगाँठ गरेको छ, त्यसैले प्रदेश २ मा पनि कम्युनिष्टसँग सरकार चलाउँछु, सरकार परिवर्तन गर्छु लगायतका कुरा हुनसक्छ । त्यो हामीलाई थाहा भएन । मुख्यमन्त्री फोरमको हो, फोरम जसरी आउँछ त्यसरी नै हामी प्रस्तुत हुने हो । त्यसैले गठबन्धन रहने वा नरहने लगायतका विषय फोरममाथि निर्भर गर्छ ।

० फोरमसँग मात्रै सहमति गरेर तपार्इँहरूबीचको सहकार्यता तोडाउने नेकपाको रणनीति पनि हो कि ?

— यो सन्दर्भमा सहमतिपत्रमा हस्ताक्षरकर्ता हाम्रा आन्दोलनकारी मित्र उपेन्द्र यादवजीलाई थाहा होला । आन्दोलनको माग पूरा नभएसम्म आन्दोलनकारीको सहकार्य कुनै पनि हालतमा टुट्नु हुँदैन भन्ने हाम्रो मान्यता हो ।
त्यसैले, हामी एक्लैले केही सम्झौता गरेनौं, हामी समयको प्रतिक्षामा थियौं तर उपेन्द्रजी एक्लैले सम्झौता गर्न जानुभयो । सम्झौता गरिसकेपछि इमान्दारीका साथ संशोधन प्रस्ताव ल्याउनु प¥यो, पारित गराउनु प¥यो ।

० तपार्इँहरूलाई सहमतिभन्दा बाहिर किन राखिएको होला ?

— यो मैले पनि बुझ्न सकेको छैन । संविधान संशोधनको सम्झौता आन्दोलनकारीसँग गर्नुपर्ने थियो । आन्दोलनकारी भनेको राजपा र फोरम हो । यो प्रश्नको जवाफ उपेन्द्र यादवले दिनुपर्छ । सरकार त डिभाइड एण्ड रूल चाहन्छ । शासन सत्ताले ‘फुट डालो र राज करो’ नीति जहिले पनि चाहेकै हुन्छ नि ।

० अहिले पनि त्यहीं देखिएको हो ?

— यसको जवाफ उपेन्द्र यादवले दिने हो । हामीलाई थाहा छैन ।

० राजपाभित्र विवाद छ भन्ने सुनिन्छ, तपार्इँ के भन्नुहुन्छ ?

— कुनै प्रकारको विवाद छैन । विवाद देख्नेहरू आफै विवादित होलान् । छ वटा पार्टी मिलेर राजपा बनेको छ, छवटै पार्टीका आ–आफ्ना संगठनहरू छँदैछन् । हामी एकीकृत गर्न सकेका छैनौं । केन्द्रदेखि गाउँसम्म अहिले पनि संगठन छुट्टाछुट्टै छन् । यो स्वाभाविक हो छवटै पार्टीको संगठन छुट्टाछुट्टै भएकोले मोर्चा जस्तो देखियो । यसलाई एक गर्ने काम महाधिवेशनले गर्ने हो । महाधिवेशन नभएकोले काम गर्न अलि अप्ठ्यारो भएको हो, कार्यकर्तामा कामै नभए पछि शिथिलता भएको हो । त्यसैले कामै नभएपछि विवाद सिवाद देखिएको हो । यसका लागि हामी चिन्तित छौं । एक वर्षमा महाधिवेशन गर्ने भनिएको थियो, तर गर्न सकिएन । अब चाँडै पार्टीको महाधिवेशनतर्फ लाग्छौं । यही जेठ २५ गते हाम्रो राजनीतिक समितिको बैठकबाट महाधिवेशनमा जाने चिन्तन गर्नेछौं ।

० संसदीय दलका नेताका लागि पनि विवाद छ नि ?

— कुनै प्रकारको विवाद छैन । संसदीय दलको नेता चयन भइसक्नुपर्ने थियो, कुरा त सही हो । त्यसका लागि हामीसँग विधान थिएन, त्यो विधान निर्माण ग¥यौं । अब चाँडै संसदीय दलको बैठक बस्छौं, विधान पारित गर्छौं र सो विधानअनुसार हामी नेताको पनि चयन गर्छौं ।

० संसदीय दलको नेताका लागि अध्यक्ष मण्डलमा कुरा मिलेको छैन भन्ने पनि छ नि ?

— लोकतन्त्रमा यो कुरा सामान्य हो । सहमतिको आधारमा भयो ठिकै हो, यदि सहमतिमा हामी कुनै निर्णयमा पुग्न सकेनौं भने अधिकांश साथीले जे भन्छ त्यो अनुसार चल्ने हो ।

० संयोजक महन्थ ठाकुर र तपार्इँ बीच विवाद छ भन्ने सुनिन्छ, के भन्नुहुन्छ ?

— त्यस्तो केही पनि छैन । सहमतिमा भयो भने सहमतिमै गर्ने, भएन भने अधिकांश साथीले जसलाई जिम्मा दिन्छ त्यहीअनुसार हुने हो । यो त एउटा जिम्मेवारी न हो । ठाकुरजीको अस्वस्थतातर्फ पनि हामी सोचिरहेका छौं । संयोजक चक्रीय प्रणाली जाने विषय जे थियो त्यसलाई खारेज गरेर ठाकुरजीले नै गर्नुस् भनेर मैले नै भनेको हुँ । अहिलेको अवस्थामा सबै कुरामा विचार गरेर हामी निर्णयमा पुग्छौं ।

मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंशः
प्रकाशित मिति ः २०७५ जेठ १८ गते शुक्रबार


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com