अन्तर्राष्ट्रिय लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

सर्लाही, २३ जेठ । प्रदेश २ कै सबभन्दा ठूलो धनराशी पुरस्कार रहेको “अन्तर्राष्ट्रिय लालबन्दी गोल्डकप फुटवल प्रतियोगिता २०७५” को तयारी लगभग अन्तिम चरणमा पुगेको छ ।

लालबन्दी नगरपालिका र सर्लाही जिल्ला फुटबल संघको आयोजना, लायन्स क्लब लालबन्दी परिवारको सहआयोजना र उद्योग वाणिज्य संघ लालबन्दीको विशेष सहयोगमा प्रतियोगिता लालबन्दीको राधाकृष्ण खेल मैदानमा हुँदैछ ।

हाल प्रतियोगिताको तयारी स्वरुप मैदानको भित्री भागबाट जस्ता बार्ने काम र मैदान मिलाउने काम लगभग सकिएको र ३२०० दर्शक बस्नका लागि भनेर बासको र फलामको प्याराफिटको निर्माण कार्य पनि सकिएको फुटबल संघ सर्लाहीका महासचिव उज्जवल कार्कीले जानकारी दिएका छन् ।

यस्तै सुरक्षाको दृष्टिकोणले दर्शक मैदानमा जान नसकून भनी मैदानलाई तारजालीले घेरेको पनि उनले बताए ।

प्रतियोगिता जेठ २४ गतेदेखि सुरु भई असार २ गते सम्पन्न हुनेछ । यस प्रतियोगितामा काठमाडौँका विभागीय टिम नेपाल पुलिस र सशस्त्र प्रहरी बलसहित चर्चित ‘ए’ डिभिजन क्लब थ्रीस्टार र जावलाखेल युवा क्लब, मोफसलको रमपम झापा–११, गोर्खा ब्वाइज–रुपन्देही, बिजय युथ क्लब–हेटौंडा, कास्की–११ पोखरा, सर्लाही–११ र नेपाल बाहिरको क्लब युनाइटेड सिक्किम–भारत गरी जम्मा १० टीमहरुले उपाधिका लागि संघर्ष गर्नेछन् ।

प्रतियोगिताको उद्घाटन खेलमा सर्लाही–११ ले काठमाडौंको जावलाखेल युथ क्लबसँग खेल्ने आयोजकले बताएको छ ।

प्रतियोगितामा प्रथम हुने टोलीले ७ लाख रुपैयाँ नगदसहित शिल्ड तथा प्रमाणपत्र हात पार्नेछ भने दोश्रो हुने टोलीले ३ लाख ५० हजार रुपैयाँ नगदसहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

त्यस्तै, प्रतियोगिताकै उत्कृष्ट खेलाडीलाई नगद रु. ५० हजारसहित ट्रफी लगायत विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई नगद रु. १५ हजारसहित ट्रफी, उदयीमान खेलाडीलाई एउटा बाइक प्रदान गरिने र प्रत्येक खेलमा म्यान अफद म्याच पनि प्रदान गरिने आयोजक सर्लाही जिल्ला फुटबल संघका अध्यक्ष ठाकुर बहादुर सुश्लिङ (बिष्णु) ले जानकारी दिए ।

प्रतियोगितामा बृद्ध र अपाङ्गहरुलाइ निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने सर्वसाधारण प्रवेशका लागि अन्य दिन १०० रु. र फाइनल म्याचका लागि रु.२०० को टिकट दर तोकिएको छ । प्रतियोगितामा करिब ७० लाख रुपैंयाँ खर्च हुने अनुमान गरिएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com