बाराको सुवर्ण गाउँपालिकामा खुल्लमखुल्ला भ्रष्टाचार

बारा, २८ जेठ । बारा जिल्लाको दक्षिणी भेगमा रहेको सुवर्ण गाउँपालिकामा कर्मचारीहरुको मिलेमतोमा व्यापक भ्रष्टाचार भइरहेको आरोप लागेको छ । सो गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत र सामाजिक विकाश शाखाका कर्मचारीको मिलेमतोमा करिब ४१ लाख रुपैयाँ कमिशनको भरमा बाँडिएको आरोप लागेको हो ।

गाउँपालिकाले आह्वान गरेको लक्षित वर्गतर्फको करिब ४१ लाख रुपैयाँको बजेट मापदण्ड नपुगेको गैरसरकारी संस्थाहरुलाई वितरण गरिएपछि सो रहस्य खुलेको हो ।

सामाजिक विकास शाखाका कर्मचारी संजिव यादवले एनजिओहरुसँग २० देखि ५० प्रतिशत कमिशन लिएर संस्था छनौट गरेको एक जना एनजिओवालाले आरोप लगाए । यस कार्यमा निमित्त प्रशासकीय अधिकृत सुन्दर निरौलाको समेत अप्रत्यक्ष संलग्नता रहेको उनले आरोप लगाए ।

गाउँपालिकाको सूचनामा कम्तिमा पनि ३ वर्ष काम गरेको संस्थालाई नै कार्यक्रम दिने भनिएता पनि ६ महिना पहिला दर्ता भएको संस्थालाई कार्यक्रम दिइएको उनको आरेप छ । कमिशनको खेललाई लुकाउन, संस्था छनौट भएको जानकारी समेत कसैलाई नदिइएको उनले बताए ।

यता संस्था छनौट गर्दा समितिले गर्ने भएको भन्दै यसमा आफ्नो कुनै संलग्नता नरहेको अधिकृत निरौलाले बताए । यादवसँग भने सम्पर्क हुन सकेन ।

यसरी मापदण्ड पुगेका संस्थालाई पाखा लगाई कमिशन लिएर संस्था छनौट गरेको बिरोधमा केहि संस्थाहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोग जाने तयारी गरिरहेको सूचना प्राप्त भएको छ ।

यसैबिच सुवर्ण गाउँपालिकामा भएको अदृष्य भ्रष्टाचारको चौतर्फी विरोध हुन थालेको छ । नेपाल विद्यार्थी संघका सहमहामंत्री राजेश रौनियारले गाउँपालिकाले आफ्नो निर्णय नसच्याए आफूहरुले त्यसको विरोध गर्ने बताए ।

असार मसान्तमा कार्यकाल सकिने खरदार सरहका करार कर्मचारी संजिव यादवले निमित्त प्रशासकीय अधिकृत सुन्दर निरौलाको मिलेमतोमा गरीरहेको भ्रष्टाचार आफुहरुलाई सह्य नहुने रौनियारले बताए ।

गाउँपालिकाका अध्यक्ष महेन्द्र यादवले भने संस्था छनौट गर्दा बदमाशी भएको स्विकारेका छन् । कर्मचारीहरुले आफुलाई नटेरेको समेत उनले बताए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com