राजपाको काँधमा ठूलो जिम्मेवारी आएको छ : राजेन्द्र महतो

झापा, २८ जेठ । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका नेता राजेन्द्र महतोले राजपाको काँधमा अहिले ठूलो जिम्मेवारी आएको बताएका छन् ।

सोमबार विर्तामोडस्थित मारवाडी सेवा समितिमा राजपा झापाले आयोजना गरेको अगुवा नेता कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष महतोले यस्तो बताएका हुन् ।

उनले आफूहरुको आन्दोलनकारी सहयात्री संघीय समाजवादी फोरम नेपाल पनि आफ्ना पूरानै घर कम्युनिष्ट पार्टीमा विलय हुन लागेको समाचारहरु आइरहेकोले शोषित, पीडित र उपेक्षित जनताहरुको अधिकारका लागि राजपामाथि ठूलो जिम्मेवारी आएको धारणा राखेका छन् ।

उनले आफूहरुको मुख्य शत्रु खसवादी पार्टी कांग्रेस र कम्युनिष्ट रहेको जिकिर गर्दै आफ्ना आन्दोलनकारी सहकर्मी पार्टी पनि अब आन्दोलन छोडेर जाँदै गरेको अवस्थामा राजपाले नै त्यो आन्दोलनको अभिभारा बोक्नुपर्ने बताए ।
विगतमा मधेशको नाममा ठूलाठूला भाषण गर्ने फोरम लोकतान्त्रिक पनि जहाँबाट आएका थिए त्यहीं गए र फोरम नेपाल पनि आफ्नो मातृ पार्टीमा विलिन हुन लागेको उनले बताए ।

मधेशी, आदिवासी जनजाति, थारु, मुस्लिम लगायत हिमाल पहाडका उत्पीडित समुदायको अधिकारका लागि राजपाले अबको दिनमा आफ्नो सशक्त प्रस्तुती देखाउनुपर्ने आवश्यकता रहेको महतोले जोड दिए ।

उनले आफ्ना नेता कार्यकर्ताहरुलाई पार्टीलाई सशक्त र बलियो बनाउन प्रभावकारी भूमिका निर्वाह गर्न आग्रहसमेत गरेका छन् । अब छिट्टै नै महाधिवेशन गरी पार्टीका संगठनहरुलाई एकत्रित गर्ने उनले बताए ।

चुनावका कारण पार्टी गठनको एक वर्षभित्र महाधिवेशन गर्न नसकिएको बताउँदै उनले महाधिवेशनका लागि निर्वाचन आयोगसँग छ महिनाको म्याद लिएर सोही अवधिभित्र महाधिवेशन गरिने जानकारी दिए ।

उनले आयोगले असारमसान्तभित्रै महाधिवेशन गर्न दिएको निर्देशन पूरा हुन नसक्ने बताए । संवैधानिक व्यवस्थाअनुसार छ महिनाको म्याद लिएर महाधिवेशन गर्न सकिने महतोले बताए ।

 


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com