नेपाल प्रहरीका लागि सञ्चार तथा द्वन्द्व समाधानसम्बन्धी तालिम सुरु

काठमाडौं, २८ जेठ । अमेरिकी दूतावासले नेपाली सेना वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा अन्तरसांस्कृतिक सञ्चार तथा नेतृत्व विकास तालिमको शृङ्खलाको थालनी गरेको छ ।

यी तालिमहरूले वर्तमान तथा भावी शान्तिसेनामा सहभागी हुने नेपालीहरूलाई आफ्नो अन्तर्रा्ष्ट्रिय जिम्मेवारीमा सफल हुनका लागि आवश्यक अङ्ग्रेजी भाषा सीप, सांस्कृतिक दक्षता तथा द्वन्द्व समाधान क्षमता प्राप्त गर्न सघाउनेछन् ।

१५ वर्षभन्दा लामो समयदेखिको अमेरिकी सरकारको संलग्नतामार्फत प्रत्येक वर्ष १,००० भन्दा बढी नेपाली शान्ति सैनिकले तालिम पाउँदै आइरहेका छन् । यो तालिम सोही संलग्नताको अर्को खुट्किलाको रूपमा रहेको छ ।

तालिमको उद्घाटन समारोहमा अमेरिकी सैनिक सहचारी प्र.से. ग्रेगोरी पाइप्सले नेपाली सेनाका प्रशिक्षकहरूको व्यावसायिक विकासका लागि यस तालिमको महत्त्वमाथि जोड दिनुभयो । संयुक्त राष्ट्रसंघको औपचारिक भाषा अङ्ग्रेजी भएको हुँदा शान्तिसेनामा सामेल हुने नेपाली सदस्यले आफ्नो अङ्ग्रेजी भाषा सीपलाई तिखार्न र विस्तार गर्न महत्त्वपूर्ण छ ।

अङ्ग्रेजीमा पोख्त भएमा उनीहरूलाई स्थलगत जिम्मेवारीमा खटिएको बेला बृहत् सहकार्य गर्न मद्दत पुग्दछ । नेपाली शान्तिसेना हाल मध्यपूर्वी तथा अफ्रिकी मुलुकहरूमा तैनाथ भएकोले उक्त तालिमले ती मुलुकका सांस्कृतिक मूल्यमान्यतासम्बन्धी सहभागीको बुझाइलाई समेत प्रगाढ बनाउनेछ ।

जुन महिनामा नेपाली सेनाका २५ जना प्रशिक्षकले तालिम पाउनेछन् भने त्यसपछि नेपाल प्रहरीका ७० जना अधिकृतहरूका लागि काठमाडौँमा दुई हप्तासम्म तालिम सञ्चालन गरिनेछ । दुवै तालिमको प्रायोजन अमेरिकी दूतावासको अङ्ग्रेजी भाषासम्बन्धी क्षेत्रीय कार्यालयले गरेको हो र अमेरिकी अङ्ग्रेजी भाषा विशेषज्ञद्वारा तालिमका सत्रहरू सञ्चालन गरिनेछन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com