आर्थिक अनियमितता गरेको भन्दै कारबाहीका लागि अख्तियारमा उजुरी

काठमाडौं, २९ जेठ । जाजरकोट जिल्लाको पशु विकास कार्यालयका कर्मचारीले पशु विकासका विभिन्न शीर्षकका बजेटमा अपचलन गरी अकूत सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोप लगाउँदै कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा उजुरी परेको छ ।

जाजरकोटको उसे गाउँपालिकाका सामाजिक अभियन्ताहरुले पशु विकास कार्यालयका निजामती कर्मचारी रामेश्वर महतो विरुद्ध उजुरी गरेका हुन् । गत वर्ष चैत १६ गते अख्तियारमा दिएको उजुरीमा भनिएको छ, ‘महतोले राजनीतिक प्रभावको ध्वाँस दिने र मानिसहरुलाई मानिसको व्यवहार नगरी पशुतुल्य व्यवहार गर्दै आर्थिक भ्रष्टाचारमा निलिप्त दिनप्रति दिन गैर जिम्मेवार हुँदै आउनु भएको छ भने उहाँले उक्त कार्यालयमा बसेर अनियमित तरिकाले आर्जन गरेको सम्पत्ति आफ्नै श्रीमती सन्तोषी देवी र सासुआमा जौनी देवी पुर्वेको नाममा राखेर चोखो बन्ने दुस्साहस गरिरहनु भएको छ ।’

महतो सिरहा जिल्लाको सुखीपुर नगरपालिकाका स्थायी बासिन्दा हुन् । उनलाई जनतामुखी कार्य गर्न भने पनि अटेर गरी भ्रष्टाचार गरेको आरोप उजुरीकर्ताहरुको छ । सिरहामा पनि महतोको अकूत सम्पत्ति रहेको उजुरीमा उल्लेख छ । आफ्नै स्वार्थपूर्ति गरी आर्थिक भ्रष्टाचार गर्दै गैरजिम्मेवारी बन्दै गएको गुनासो उजुरीकर्ताहरुले गरेका छन् ।

महतोलाई तत्काल निलम्बन गरी अनियमित तरिकाले आर्जन गरेको सम्पत्तिबारे छानबिन गरी कारबाही गर्न आयोगमा उजुरी दिइएको हो । सामाजिक अभियन्ताहरु जाजरकोट जिल्लाको उशे गाउँपालिका वडा र्नृ २ बस्ने मदनराज आर सी, समीक्षा आर सी र मानबहादुर रोकायाले कारबाहीका लागि उजुरी दिएका छन् ।

सो उजुरीबारे के कस्ता सुनुवाई भयो भन्ने कुराको जानकारी अहिलेसम्म अख्तियारबाट प्राप्त नभएको उजुरीकर्ताहरुको भनाई छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com