चोरी भएको मोटरसाइकल बरामद गरी फिर्ता

राम नारायण पंडित, सिरहा, ३१ जेठ । सप्तरीबाट चोरी भएको मोटरसाइकल सिरहा प्रहरीले बरामद गरी धनीलाई हस्तान्तरण गरेका छन् । जेठ १५ गते सप्तरीको सप्तकोसी नगरपालिका वडा नं. १ फतेपुरबाट हराएको स ७ प ८०८६ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकल जेठ १७ गते बरामद गरी बुधबार सवारी धनी सोही ठाउँ बस्ने भिरानन्द सोनीलाई हस्तान्तरण गरिएको ट्राफिक प्रहरी पोष्ट मिर्चैयाका प्रहरी नायव निरीक्षक मनोज चौधरीले बताए ।
मोटरसाइकल चोरी भएको भन्दै पिडितले सप्तरीको फतेपुर प्रहरीमा निबेदन दिएपछि सर्कुलर हुँदा शंकाको आधारमा चेकजाँच गर्ने क्रममा मोटरसाइकल बरामद गरिएको नायव निरीक्षक चौधरीले जनाए । उनले भने “मोटरसाइकल चोरी भएपछि हामीलाई सर्कुलर हँदा मिर्चैया नगरपालिका वडा नं. ५ स्थित चेकजाँच गर्ने क्रममा शंकास्पद देखिएकोले नियन्त्रणमा लियौं, मोटरसाइकलमा सवार ३ जना मध्ये एक जना बिरामी रहेकोले चालकले हतारमा बिरामी लिएर आउँदा ब्लुबुक बिर्सेर आएको भन्दै घरबाट ब्लुबुल लिएर आउँछु भनेर गएको एक हप्ता भन्दा बढी समयसम्म नआएपछि सोधखोज गर्दा चोरीको मोटरसाइकल भएको बुझियो ।”
यातायात व्यवस्था कार्यालयसंग समन्वय पश्चात धनीलाई खबर गरी मोटरसाइकल हस्तान्तरण गरिएको उनले बताए ।
मोटरसाइकल छाडी फरार भएका ब्यक्तिहरुको हुलियाको आधारमा खोजी कार्य जारी रहेको नायब निरीक्षक चौधरीले दाबी गरे । विभिन्न अपराधिक क्रियाकलापमा चोरीका मोटरसाइकल प्रयोग हुने गरेको भन्ने जनगुनासो बढेसँगैे चेकजाँचलाई तीव्रता दिएको उनले स्पष्ट गरे ।
उनले चोरीका मोटरसाइकल सस्तो पायो भन्दैमा खरिद गर्नेलाई समेत पक्राउ गरी कारवाही गर्ने बताए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com