भारतीय र चिनियाँ रेलको अन्तर्कथा (विचार)

पहिला भारतीय कि चिनियाँ रेल ? भन्ने प्रश्नले अहिले नेपालको राजनीतिक बजार तातेको छ । प्रधानमन्त्री केपी ओलीको हालै सम्पन्न भएका दुई छिमेकी मुलुकहरू भारत र चीनको भ्रमणले नेपालमा रेलको सम्भावनाको ढोका मात्र खोलेको छैन, एउटा बहस पनि सिर्जना गरेको छ ।
प्रधानमन्त्री ओलीको हालै भएको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच रक्सौलदेखि काठमाडौंसम्म अन्तर्देशीय विद्युतीय रेलमार्ग निर्माण गर्ने विषयमा सहमति भएको छ । दुई देशका जनताबीचको सम्बन्धलाई अभिवृद्धि गर्ने र आर्थिक वृद्धि तथा विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले दुई देशका प्रधानमन्त्रीबीच नयाँ विद्युतीय रेलमार्ग निर्माणका लागि सहमति भएको हो । रेलमार्ग भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिनेछ ।
अहिलेसम्म सर्वेक्षण नभएको भए पनि रक्सौलदेखि काठमाडौं दूरी १ सय १० देखि १ सय २० किलोमिटर लामो हुने अनुमान छ । यसका अतिरिक्त नेपाल–भारत जोड्ने २ अन्तरदेशीय रेलमार्ग अहिले निमार्णाधीन अवस्थामा छन् ।
सन् २०१० मा सम्झौता भएका ५ वटा अन्तर्देशीय रेलमार्ग निर्माणमध्ये जयनगरदेखि–जनकपुर–कुर्था र जोगबनीदेखि विराटनगर भन्सार कार्यालयसम्म जोड्ने रेलमार्गलाई सन् २०१८ भित्र सम्पन्न गरिनेछ । यससँगै, प्रधानमन्त्रीको गत हप्ता भएको चीन भ्रमणमा पनि विद्युतीय रेल मार्गले प्राथमिकता पाएको छ ।
बेइजिङमा भएको यस समझदारीले नेपालमा रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने कार्यका लागि बाटो खोलिदिएको छ । नेपालमा रेल भित्रिँदा यसैलाई केरूङको बाटो काठमाडौँ ल्याउने हालको सोँच हो । नेपालको चीनसँगको सीमा रसुवागढीदेखि काठमाडौं करिब ८० किलोमिटर छ ।
नेपालमा राजनीतिक दलहरू दुई ध्रुवमा विभक्त हुन्छन, र एउटा पक्षले चिनियाँ रेलको वकालत गर्दा अर्कोले भारतीय रेलको पक्ष लिएर अवरोध गर्ने चिन्ता हुन्छ ।
भारत र चीनबाट नेपालमा रेल ल्याउनु सकारात्मक भए पनि दलका नेताहरू नै एउटाको पक्ष लिएर अर्कोका विरोधमा उत्रिएका छन् ।
कांग्रेस नेता रमेश लेखक भन्छन, ‘चीनबाट रेल ल्याउने खर्चले नेपालभित्र २५ हजार किलोमिटर पक्की सडक बन्न सक्छ ।’ उनको यो भनाइको तात्पर्य चीनबाट रेल ल्याउनै नहुने हो भन्ने देखिन्छ । नेपालमा रेल कुदाउने भन्ने विषयमा पनि आम सहमति देखिंदैन । ऋणमा बनाउने वा अनुदानमा बनाउने भन्नेमै मतभेद छ ।
केरूङबाट काठमाडौ झारेपछि त्यो रेल कता लैजाने भन्ने सवालमा समाजको तहतप्का अनिर्णित नै छ । त्यसमाथि चीनबाट भारी लादेर आएको रेलमा के हालेर फर्काउने भन्ने विषयमा पनि विवाद छ ।
चिनियाँ रेल नेपालमा किन आउने भन्नेबारेमा प्राविधिक बहसमा भएको देखिँदैन । घनीभूत छलफल नगरीकन दीर्घकालीन परियोजनाको दिशा औंल्याउन सकिँदैन ।
रेल भित्रिँदाका वातावरणीय असर, सामाजिक तथा धार्मिक प्रतिकूलता, मानवीय श्रोतसाधन, उत्पादकत्व लगायतका विषयमा ठोस बहस गरी निचोड निकालेको उल्लेख्य सन्दर्भ भेटिँदैन । अहिलेसम्म गम्भीर हुनुपर्ने निकायहरू, तात्तिनु पर्ने अंगहरू सकारात्मक दिशातर्फ गएको देखिँदैनन् ।
अर्को घरेलु कारण भनेको राजनीतिक इच्छाशक्ति पनि हो । अघिल्लो प्रधानमन्त्रीत्व कालमा चीनसँग पारवहन तथा यातायात सम्झौतामा हस्ताक्षर गरेका यिनै ओली हुन, जसले आफनो दोस्रो कार्यकालको दोस्रो चीन भ्रमणमा प्रोटोकल बनाउन सकेनन् । इच्छाशक्ति भएको भए उनले प्रोटोकलसहित चीनसँग पारवहन तथा यातायात सम्झौतामा हस्ताक्षर गर्थे होलान । तर उनमा पनि इच्छाशक्तिमा कमी देखियो भने भारत र चीनसँग भएको रेलमार्गको सम्झौतामा दम्भ देखियो । त्यसैले नेपालको राजनीतिक बजार अब केही महिना यहि रेलमार्गको विषयमा कुदिरहने छ ।
सम्झौताको भाषामा तलमाथि नभए चिनियाँ रेल कुनै दिन काठमाडौं नआइ पुग्ला भन्न सकिन्न । केहीका विचारमा चिनियाँ रेल अब नेपालीको सपना मात्रै रहेन, यथार्थ पनि बनिसकेको छ । किनभने ‘बेल्ट एण्ड रोड परियोजना’ अनुरूप तिब्बतको सिगात्सेसम्म पुगेको चिनियाँ रेल काठमाडौसम्म पुग्नु टाढाको कुरा होइन र असम्भव पनि होइन ।
रणनीतिक महत्व
भारतले नेपाललाई अन्तरदेशीय रेलमार्गबाट नेपाललाई जोडिरहेको अवस्थामा चीनले पनि नेपाललाई जोड्न तयार हुनु भनेको नेपाल दुबैका लागि रणनीतिक महत्वको रूपमा रहेको बुझनु पर्छ । नेपालको भूराजनीतिक अवस्थाका कारण भारत र चीन दुवैको नजर नेपालमा रहँदै आएको छ ।
काठमाडौं आएको चिनियाँ रेल लुम्बिनीसम्म पुग्दा उत्तर दक्षिणको रणनीतिक साझेदारका रूपमा उभिनेछ । आर्थिक महाशक्तिको रूपमा उदाइरहेको चीनले पछिल्लो समय दक्षिण एसियामा आफ्नो प्रभावलाई बढाउँदै लगेको छ । चीनले चाइना–पाकिस्तान इकोनोमिक करिडोर (सिपेक)मा ६२ विलियन सम्मको लगानी गरिरहेको छ । त्यस्तै माल्दिभ्स, बंगलादेश र श्रीलंकामा समेत चीनले लगानी बढाइरहेको छ ।
चीन, नेपालमा आफ्नो रेल विस्तार गर्दै भारतीय बजारमा आफ्नो उपस्थिति जनाउन चाहन्छ । भारतको ठूलो बजार प्रवेश गर्न चीनलाई नेपाल सहज रूटको रूपमा रहेको छ ।
उता, नेपालमा चिनियाँ प्रभाव बढ्दै जाँदा भारतीय चिन्ता बढ्दै गएको छ, जुन स्वभाविक पनि हो । किनभने, चिनियाँ रेल काठमाडौं आउँदा सुरक्षा र सामरिक कारणले भारतलाई खतरा पनि हुन सक्छ भने नेपालमा चिनियाँ प्रभाव थप बढ्दै जानेछ ।
चिनियाँ रेल नेपाल–भारत सीमासम्म पुग्दा भारतलाई व्यापारिक दृष्टिबाट पनि घाटा हुनसक्छ भने सामरिक रूपमा पनि भारतलाई चुनौती थपिने देखिन्छ । त्यसैले पनि भारतले नेपाली सीमासम्म रेल विस्तार गरिरहेको छ भने काठमाडौँसम्म रेलमार्ग निर्माणमा समेत सहयोग गर्ने सहमति गरेको छ ।


प्रकाशित मिति : २०७५ साल असार १५ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com