टीकापुर घटना राज्यले गराएको हो : रूक्मिनी चौधरी

अध्यक्ष, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरूहट)

० तपार्इँहरू अहिले के गर्दै हुनुहुन्छ ?
— हामीले थालेको आन्दोलनका शान्तिपूर्ण कार्यक्रमहरू जारी नै छ । गत असार १३ गते थारू कल्याणकारिणी सभाको केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न भयो । यही १५ गते थरूहट÷थारूवान संयुक्त संघर्ष समितिको राष्ट्रिय भेलाबाट घोषणापत्रसमेत जारी गरिसकेका छौं ।


० तपार्इँहरूको आन्दोलन केका लागि छन् ?
— अहिले थारूहरूको माग र मुद्दाहरू सम्बोधन भएको छैन । २०७२ साल भदौमा टीकापुरमा भएको घटनाका आरोपीमा हाम्रा २६ जना साथीहरूलाई झुठा मुद्दा लगाई बन्दी बनाइएको छ । त्यो घटना राज्यपक्षले गराएको हो । त्यतिबेला थारूहरूको घरमा तोडफोड, आगजनी, महिलाहरूमाथि बलात्कार भएको थियो, ती दोषीहरूलाई कारबाही गर्नुको साटो राज्यले निर्दोष थारूहरूलाई समातेर थुनामा राखेको छ । टीकापुर घटनासँग सम्बन्धित जति पनि आयोगहरू बनेका छन् ती सबै आयोगले प्रतिवेदन पनि बुझाइसकेको अवस्था छ तर राज्यले सार्वजनिक गरि रहेको छैन । ती सबै प्रतिवेदनहरू राज्यले अविलम्ब सार्वजनिक गर्नुप¥यो । यो देशमा जसरी थारूहरू गैरनागरिकको रूपमा बाँचिरहेका छन्, तिनीहरू पनि यो देशको नागरिक हो भनेर आत्मसम्मानका साथ राज्यले हामीलाई सम्बोधन गर्नुपर्ने लगायतका विषयमा हाम्रो आन्दोलन जारी छ ।


० टीकापुर घटनाको आरोप लागेका आन्दोलनकारीहरूको अवस्था कस्तो छ ?
— राज्यले जबर्जस्ती थुनेपछि अवस्था त नाजुक नै छ । जुन परिवारका अभिभावक नै जेलमा परिसकेको छ, उनीहरूका बालबच्चा, महिला, वृद्धवृद्धाहरू बिचल्लीमा छन् । थुनामा रहेका आन्दोलनकारीका बच्चाहरूको उच्च शिक्षाको कुरा त परै जाओस् विद्यालय जानबाट पनि वञ्चित छन् । उनीहरू गाँस, बास र कपासदेखि लिएर सबै किसिमका मौलिक अधिकारबाट वञ्चित छन् । राज्यले अहिलेसम्म कुनै सुनुवाई गरेको छैन । राज्यले थारूहरूलाई राज्यविहीनको अवस्थामा राखेको छ ।


० टीकापुर घटना राज्यले नै गराएको हो भनेर तपार्इँ कसरी भन्न सक्नुहुन्छ ?
— टीकापुर घटना नितान्त एउटा रहस्मयी घटना हो । यो राजनीतिक घटना हो । घटना भए लगत्तै तत्कालीन गृहमन्त्री वामदेव गौतमले प्रष्ट जवाफ दिनुभएको छ नि । उहाँले भन्नुभएको छ कि टीकापुर घटना थारूहरूले गराएको होइन, यो घटना फलानाले गराएको हो । घटनाका सम्बन्धमा छानबिनका लागि राज्यले नै गठन गरेको विभिन्न आयोगहरूको प्रतिवेदनलाई हेर्न सक्नुहुन्छ । को दोषी हो भनेर ती प्रतिवेदनमा प्रष्टमा रूपमा लेखिएको छ । ती प्रतिवेदनहरूमा नेपाल सरकार स्वयम् आफै दोषी हो भनेर देखाइसकेपछि त्यसलाई सार्वजनिक नगरिएको हो । त्यसकारणले टीकापुर घटना राज्यले नै गराएको हो भनेर हामीले भनिरहेका छौं ।


० भनेपछि ती प्रतिवेदनहरू सरकारले अविलम्ब सार्वजनिक गर्नुप¥यो ?
— सरकारले आयोग वा समितिहरू बनाउँदा त्यसले प्रतिवेदन बुझाइसकेपछि सार्वजनिक त गर्नुप¥यो नि । त्यो सूचनाको हक पनि हो । संविधानमा सूचनाको हकको व्यवस्था गरेको छ भने जनतालाई त्यसको बारेमा जानकारी हुनुप¥यो नि । यदि त्यसको जानकारी जनतालाई दिनु नै छैन भने किन छानबिन समिति वा आयोग बनाउनुप¥यो ।


० ती प्रतिवेदनहरू सार्वजनिक गराउन तपार्इँहरूले सरकारसँग माग गर्दा के जवाफ आयो त ?
—हामीले बारम्बार सरकारी पक्षलाई भेटेर, ज्ञापनपत्र बुझाएर आग्रह गरेका छौं कि ती घटनाका सम्बन्धमा गठित आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक गर्नुस् । तर राज्यले सुनुवाई गरेको छैन । हामी शान्तिप्रेमी हौं र शान्तिपूर्ण तरिकाले भन्दै आएका छौं । सरकारी पक्षले प्रतिवेदन सार्वजनिक गर्छौं भनेर आवश्वासन मात्र दिएको छ तर सार्वजनिक गरेको छैन ।


० टीकापुर घटनाको अभियोगमा अहिले थुनामा रहनुभएका रेशमलाल चौधरीको पार्टी राजपासँग तपार्इँहरूको सहकार्य भइरहेको छ कि छैन ?
— टीकापुर घटना नितान्त थारूहरूसँग सम्बन्धित घटना हो । तर पनि राजपासँग हाम्रो समन्वय र सहकार्य त भइरहेको छ । त्यो घटना कुनै पार्टी भनेर गराइएको होइन, त्यो राजनीतिक घटना हो । यसको समाधान पनि राजनीतिक तवर बाट नै हुनुपर्छ ।


० रेशमलाल चौधरी राजपा नेपालबाट निर्वाचित हुनुभएको छ र उहाँको पार्टी संघीय संसदमा तेस्रो ठूलो दलको रूपमा रहेको छ । खासगरी रेशमलाल चौधरीको सन्दर्भमा राजपाको भूमिका कस्तो पाउनुहुन्छ ?
— राजपाका नेताहरूले आफ्नो ठाउँबाट आवाज उठाइरहनु भएको छ । तर, त्यसको सुनुवाई भइरहेको छैन ।


० थारू समुदायका सांसदहरू जो अन्य पार्टीमा हुनुहुन्छ, उहाँहरूले यस विषयमा बोलेको पाइँदैन, किन होला ?
— थारूमाथि भइरहेको विभेद र दमनका विषयमा कोही पनि अनभिज्ञ छैनन् । थारू समुदायका सांसदहरू चाहे जुनसुकै पार्टीमा होस्, उहाँहरूले स्वस्फूर्तरूपमा यस विषयमा बोल्नुपर्ने हो तर बोलिरहेको हामी पाएका छैनौं । उहाँहरू बोले पनि नबोले पनि हामी आफ्नो ठाउँबाट आवाज उठाउँदै आएका छौं । उहाँहरू आफ्नो पार्टीकोे सिन्डिकेट विरूद्ध जान नसकेर होला ।


० प्रधानमन्त्री केपी ओली र प्रचण्डलाई जेलमा हाल्नुपर्छ भन्नुभएको थियो, किन ?
— केपी ओली र प्रचण्डलाई पनि जेलमा हाल्नुपर्छ । किनकि थारूहरू टीकापुर घटनाका दोषी छैनन् तर पनि अभियोग मात्र लगाएर अहिले थुनामा राखिएको छ । जसले घोषणा गरेरै हजारौं नेपालीको हत्या गराए, अर्बौं खर्बौंको धनजनको क्षति गराए तिनीहरूभन्दा ठूलो अपराधी को हुन सक्छन् ? कसैमाथि अभियोग लाग्दैमा उ अपराधी हुन सक्दैनन् । यदि प्रचण्ड र ओलीले घोषणा गरेरै हजारौं जनताको हत्या गर्न र गराउन सक्छन् भने हामी थारूहरूको त त्यसमा संलग्नता पनि छैन । अनि हामीमाथि अभियोग लाग्ने बित्तिकै वर्षौंसम्म थुनामा राखिने तर जसले यत्रो नेपालीहरूको हत्या गरे, तिनीहरूले नै देशको बागडोर कसरी चलाउन मिल्छ भनेर मैले यसो भनेको हुँ । जनयुद्धको नाउँमा प्रचण्डहरूले बीसौं हजार नेपालीको हत्या गरे, झापा विद्रोहमा ओलीहरूले हजारौं नेपालीको ज्यान लिए भनेर जगजाहेर नै छ । उनीहरूले खुला रूपमा भनेर हत्या हिंसा मचाउँदा त्यो राजनीतिक घटना हुने तर सदियौंदेखि राज्यबाट शोषित पीडितहरूले आफ्ना अधिकारका लागि आवाज उठाउँदा उल्टै दमन गर्ने र थुनामा राख्न मिल्छ ? यो कहाँको न्याय हो ? तसर्थ, मैले त्यो सन्दर्भमा प्रचण्ड र ओलीलाई पनि थुनामा राख्नुपर्छ भनेर भनेको हुँ ।


० भनेपछि नेपालमा समुदायको आधारमा कानूनको प्रयोग हुने गरेको छ ?
— नेपालमा त समुदाय, जात र व्यक्तिको आधार कानुनको प्रयोग हुने गरेको कुरा कसैबाट लुकेको छैन । यदि यही तरिकाले कानूनको प्रयोग गर्ने हो भने संविधानमै लेख्नुप¥यो कि ठूलालाई चैन सानालाई ऐन । त्यो व्यवस्था भइदिएको भए हामीले स्वीकार्न सक्थ्यो कि ठिकै छ हामी शोषित पीडितहरूमाथि उनीहरूको व्यवहार ठिक्कै हो । ती कुराहरू संविधानमा किन लेख्न सकेनन् त ? जब संविधानमा सबै नागरिक समान हो भने यसरी समुदायको आधारमा प्रयोग किन ?


० तपार्इँहरूको आन्दोलन अहिले कुन रूपमा अगाडि बढ्दैछ त ?
— हामी शान्तिपूर्ण रूपमा आन्दोलनका कार्यक्रमहरू अगाडि बढाइरहेका छौं । हामीले विभिन्न राजनीतिक दलहरूसँग सहकार्य गर्दैछौं । यसैगरी, हामीले जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकार र प्रधानमन्त्रीसम्मलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम राखेका छौं । यस्तै, हाम्रो थारू कल्याणकारिणी सभाको महाधिवेशनको मिति पनि असोजमा गर्ने भनेर तय गरिसकेका छौं र त्यसलाई आन्दोलनकै रूपमा सम्पन्न गर्ने तयारीमा छौं ।


० तपाईँहरूले गरेको आन्दोलनलाई सरकारले सुनेको अवस्था छैन, आगामी दिनमा के गर्नुहुन्छ ?
— हाम्रो शान्तिपूर्ण आन्दोलनलाई सरकारले सुने पनि नसुने पनि हामी निरन्तर आन्दोलनमै हुन्छौं । कुनै न कुनै दिन शान्तिपूर्ण आन्दोलन अवश्य नै सफल हुनेछ भन्ने विश्वास लिएका छौं । यो मुलुक कस्तो छ भने जब हिंसा भड्किन्छ तब मात्र सुनुवाई हुन्छ । तर, त्यस्तो दिन नआओस् भन्ने पक्षमा छौं । हामी त्यस्तो गतिविधिमा संलग्न हुँदैनौं ।

 

प्रकाशित मिति : २०७५ साल असार २२ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com