जानकी मन्दिरको सौन्दर्यीकरणका लागि एनआरएनले सहयोग गर्ने

जनकपुरधाम, २६ असार । ऐतिहासिक धार्मिक आस्था बोकेको जानकी मन्दिरलाई सौन्दर्यीकरण गर्नका गैरआवासीय नेपाली संघ (एनआरएन)ले सहयोग गर्ने भएको छ ।

जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गराउन सबै पक्षले पहल थालेपछि एनआरएनले पनि चासो देखाएको हो । जानकी मन्दिरलाई सौन्दर्यीकरणका लागि रु पाँच करोडको लागतमा विद्युतीकरण गरिने भएको छ ।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत, एनआरएनका प्रमुख संरक्षक डा उपेन्द्र महतो र जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको रोहवरमा गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट र जानकी मन्दिर छुट गुठीको तर्फबाट छोटे महन्थ रामरोशन दासले सोमबार संयुक्तरुपमा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार मन्दिर परिसरलाई अत्याधुनिक विद्युतीय प्रकाशमार्फत प्रज्वलित गर्नका लागि उज्यालो नेपाल अभियानबाट निर्मित कम खपतमा बल्न सक्ने एलइडी चिमको प्रयोग गरिनेछ । मन्दिरको सौन्दर्यकरणलाई अझ बढी उपयोगी बनाउन सौर्य ऊर्जाको प्रयोग गर्ने योजना रहेको जनाइएको छ ।

सम्झौताअनुसार मन्दिरको ऐतिहासिक र मौलिक भौतिक संरचनामा कुनै परिवर्तन नगरी विद्युतीकरणको कार्य गरिनेछ । विद्युतीकरणमा लाग्ने तार, उपकरण, बत्ती आदिको जडानको खर्च एनआरएनले व्यहोर्ने छ । यस वर्षको विवाहपञ्चमी महोत्सवअगावै विद्युतीकरणको कार्य सम्पन्न गरी मन्दिरलाई पर्यटकको आकर्षणको केन्द्र बनाउने योजना रहेको एनआरएनले जनाएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com