मधेशको स्वार्थ पूरा गर्न फोरम सरकारमा गएको हो : विमल प्रसाद श्रीवास्तव

प्रतिनिधिसभा सदस्य संघीय समाजवादी फोरम, नेपाल

० दुई बुँदे सहमति गरेर सरकारमा गएको संघीय समाजवादी फोरमको माग कहिले पूरा हुन्छ ?
— निश्चिय पनि हाम्रो पार्टी दुई बुँदे सहमति गरेर सरकारमा सहभागि भएको हो । संविधन संशोधनको विषयमा कुरा अगाडि बढिसकेको छ । सबै प्रक्रिया पु¥याएर यसलाई अन्तिम रूप दिइन्छ । जे सहमति गरेर हामी सरकारमा गएका छौं त्यो पूरा हुन्छ र हामीले गरेरै छाड्छौं ।


० संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालकै माग थियो संविधान संशोधन, अहिलेको अवस्थामा यो विषयमा राजपासँग छलफल भएको छ कि छैन ?
— संघीय समाजवादी फोरम र राजपा नेपालको एउटै माग हो भन्ने बुझाई नै गलत हो । आफ्नो आफ्नो पार्टीको आफ्नो–आफ्नो अवधारणा छ । त्यसमा हाम्रो एजेण्डा मध्ये संविधान संशोधन पनि थियो । राजपाको पनि विभिन्न एजेण्डाहरू मध्ये संविधान संशोधन पनि हो । सन्दर्भवश कुनै कुनै कुरा मिल्न गएको होला तर यसको अर्थ दुवै पार्टीको एजेण्डा एउटै हो भन्ने कुरा होइन । उद्देश्य एउटै हुन सक्ला । हामीले जुन उद्देश्यका लागि सरकारमा गएका छौं त्यो उद्देश्य प्राप्त गर्ने दिशामा धेरै अगाडि बढिसकेका छौं ।


० त्यसो भए राजपा र फोरमको संविधान संशोधनको माग पनि फरक–फरक हो ?
— उद्देश्य एउटै हुनसक्ला तर प्रक्रिया अलग छन्, अवधारणाहरू अलग छन् ।


० तर, मधेश आन्दोलन त तपाईंहरूले एउटै माग राखेर गर्नुभएको थियो नि ?
— कुनै समयमा राजपाले चुनाव वहिष्कार गरेको थियो भने हामी चुनावमा गएका थियौं । एजेण्डा हामीले छोडेनौं र त चुनावमा पनि गयौं । पछि हामीले जुन बाटो लिएका थियौं त्यही बाटोमा राजपा पनि आएर निर्वाचनमा सहभागी भयो । त्यति बेला के संयोग मिल्यो भने हामीले एकअर्कोसँग मिलेर नै चुनाव लड्यौं । संयोग मिल्नु आफ्नो ठाउँको कुरा हो तर प्रक्रियाहरू फरक फरक थिए । त्यही अनुसार अहिले पनि हामी अगाडि बढिरहेका छौं ।


० संविधान संशोधनको ड्राफ्ट ल्याउँदा पनि राजपाका नेताहरूसँग कुनै छलफल हुँदैन त ?
— राजनीतिक हिसाबले त हामी सबै दलहरूसँग छलफल गर्छौं । अब सरकारले नै संविधान संशोधनको प्रस्ताव ल्याउँछ, हामीले होइन । सरकारले ल्याउने संविधान संशोधनको प्रस्तावमा हाम्रो जुन मुख्य उद्देश्य थियो त्यो समावेश हुनुपर्दछ भन्नेमा हाम्रो जोड रहेको छ ।


० निर्वाचनको समयमा खासगरी नेकपा एमालेलाई टार्गेट गरेर, एमालेलाई मधेश विरोधी पार्टीको रूपमा देखाएर चुनाव जित्नुभयो । अहिले त्यही पार्टीको नेतृत्वमा रहेको सरकारमा सहभागी हुनुभएको छ । यो सरकारले तपाईंहरूले भने अनुसारको संविधान संशोधन गर्छ भन्नेमा कति विश्वास गर्नुभएको छ ?
— चुनाव जित्नका लागि कसले के भन्छन्, कोसँग तालमेल गर्छ त्यो एउटा फरक विषय भयो । हाम्रो उद्देश्य मधेशको विषयमा संविधानमा समावेश नभएका बुँदाहरूलाई समावेश गराउनु हो । त्यो विषयलाई हामीले संविधानमा समेट्ने प्रयासमा छौं । अहिले दुईवटा कम्युनिष्ट पार्टी मिलेर बलियो बाम गठबन्धको सरकार निर्माण भएको छ, यस्तो अवस्थामा मधेशको माग पूरा गर्न उनीहरूको साथ नलिई र उनीहरूसँगै सहमति सम्झौता नगरी यो काम गर्न असम्भव नै हो । यो अवस्थामा सरकारले नै सरकारमा सहभागी हुन हामीलाई आह्वान ग¥य । तसर्थ, मधेशको उद्देश्य र स्वार्थ पूरा गर्नकै लागि हामी बामगठबन्धको सरकारमा सहभागी भएका हौं ।


० प्रधानमन्त्री भईसकेपछि केपी ओलीको मधेशप्रतिको धारणामा परिवर्तन आएको पाउनुभएको छ ?
— राजनीतिमा को दुश्मन हुन्छ को मित्र हुन्छ भन्न गाह्रो हुन्छ । चुनावको समयमा आ–आफ्नो एजेण्डा हुन्छ । त्यतिबेलाको माहोल अब सकियो । ओलीज्यूलाई हामीले नराम्रो भने पनि उहाँ अहिले दुई तिहाई बहुमतको सरकारको नेतृत्व गरिरहनु भएको छ । उहाँले हामीसँग भएको सम्झौता अनुरूप काम गरिदिनुभयो भने मधेशप्रतिको सोचाईमा परिवर्तन आएको रहेछ भनेर बुझ्न सकिन्छ ।


० यो सरकारको कार्यशैली सन्तोषजनक लाग्छ ?
— हामी सरकारमा सहभागी भएको एक महिना हुँदैछ । त्यसकारण सबै कुरा राम्रो भइरहेको छ भनेर भन्न सकिन्न तर खराब छ भनेर भन्न हतार गर्नुपर्ने अवस्था पनि छैन । कमीकमजोरीलाई सुधार गर्दै जनताको आकांक्षा अनुसार काम गर्ने सक्नुपर्छ र जनताको समस्यालाई समाधान तर्फ अग्रसर भएर अगाडि बढ्यो भने जनताको मन जित्न सरकार सफल हुन्छ । अहिले तराई÷मधेशमा बाढी पहिरोको समस्या देखा परेको छ । यो समयमा त्यहाँका जनतालाई राहत उपलब्ध गराउनु र बाढीपहिरोको क्षति कम गर्न दीर्घकालीन योजना बनाउनु सरकारको दायित्व हो । यतातिर सरकारको ध्यान जान जरूरी छ ।


० मधेशका हरेक जिल्लामा अहिले बाढीको प्रकोप बढ्दै गएको छ ? बाढीबाट हुने क्षति न्यूनीकरणको लागि के हुँदैछ ?
— प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरणको लागि नेपाल सरकारले विशेष ध्यान दिनु आवश्यक छ  । म मेरो आफ्नो व्यक्तिगत र पार्टीको तर्फबाट बाढीबाट हुने क्षति कम गर्न भूमिका निर्वाह गर्छु र हाम्रो पार्टीका सांसदहरूले संसदमा यस विषयमा कुरा उठाएर सरकारको ध्यानाआकर्षण गराएका छन् ।


० वर्षेनी हुने यस्ता समस्याहरूको दीर्घकालीन समाधान तर्फ सरकारको ध्यान किन जान नसकेको होला ?
— यस्ता विषयहरूमा सरकारले ध्यान नदिनु दुर्भाग्य हो । बाढी पहिरोबाट पीडितहरूलाई तत्काल राहतको व्यवस्था गरिए पनि यसको दीर्घकालीन समाधान नखोज्दासम्म बर्षेनी यो समस्या दोहोरिरहन्छ । त्यसैले अहिले निर्माण भएको बलियो सरकारले त्यस क्षेत्रका जनताको समस्या बुझेर दीर्घकालीन समाधान खोज्न जरूरी छ । सरकारको ध्यान नै गएन भनेर भन्न त मिल्दैन तर जनताको आवश्यक्ता अनुसार सरकारले काम गर्न नसकेको हो ।


० प्रदेश नम्बर २ मा फोरम र राजपाको संयुक्त सरकार छ । तपाईंहरू यता केन्द्रमा नेकपाको सरकारमा सहभागी हुनुभएको छ भने उता प्रदेश २ मा नेकपाले समर्थन फिर्ता लिएको अवस्था छ नि, यस्तो किन ?
— कतिपय कुराहरू संयोग मात्र हुन जान्छ । कांग्रेस र नेकपाले समर्थन फिर्ता लियो भन्दैमा दुई नम्बर प्रदेशमा राजपा र फोरमको गठबन्धनमा निर्माण भएको सरकार ढल्दैन । प्रदेशको हाम्रो रणनीति अलग छ । त्यहाँ अहिले पनि राजपासँग हाम्रो सहमति छँदैछ र कुनै विमति छैन । अहिले प्रदेश २ को सरकार परिवर्तन हुने कुनै सम्भावना छैन । यसमा शंका नगर्दा हुन्छ । राजपा र फोरमबीच जे–जे सहमति भएको छ त्यसमा विमति भएन भने प्रदेश २ मा हाम्रो सहकार्य निरन्तर रहन्छ ।


० फोरम र राजपाको गठबन्धन प्रदेश २ बाहेक अन्य क्षेत्रमा विस्तार हुन नसक्नुको कारण के हो ?
— परिस्थिति अनुसार चुनावमा गइयो, त्यसमा पनि आवश्यक्ता महसुस भएको ठाउँमा गठबन्धन निर्माण गरियो । अन्य ठाउँमा पनि गठबन्धन बनाएर जान सकेको भए नतिजा फरक आउन सक्थ्यो । तर दुर्भाग्य नै भनौं, प्रदेश १ र प्रदेश ५ मा हामीले गठबन्धन बनाएर जान सकेनौं तर निर्वाचनबाट प्राप्त भएको परिणामबाट हामी खुसी छौं । यसबाट पछि हामीले एउटा पाठ पनि सिक्नेछौं । आगामी निर्वाचनमा प्रदेश २ बाहेक अन्य क्षेत्रमा पनि हामी गठबन्धनको लागि प्रयास गर्नेछौं ।


० भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालै सम्पन्न नेपाल भ्रमणबाट दुर्ई देशबीचको सम्बन्धमा कस्तो परिवर्तन आएको छ ?
— नेपाल र भारतको सम्बन्ध हामीले बनाएर बनेको सम्बन्ध होइन । यो पुस्तौं पुस्तादेखिको सम्बन्ध हो । मधेश र भारतको बीचमा खुल्ला सिमाना भएर पनि हामीबीच बेटीरोटीको सम्बन्ध स्थापित भएको छ । त्यसैले कसैले चाहेर वा आफ्नो केही स्वार्थले सम्बन्ध बिगार्ने खोज्छ भने पनि यो सम्बन्ध बिग्रिदैन । यो सम्बन्ध बिगार्न कसैले खोज्छ भने त्यो कल्पना मात्र हुनेछ ।

(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)

 प्रकाशित मिति : २०७५ साल असार २६ गते मंगलबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com