नेपाल–भारत अन्तर्देशीय रेल सेवा सञ्चालनसम्बन्धि संयुक्त टोलीको बैठक सम्पन्न

काठमाडौं, २६ असार । नेपाल–भारत अन्तर्देशीय रेल सेवा सञ्चालन सम्बन्धि समझदारी पत्रमा छलफलका लागि काठमाडौंमा संयुक्त कार्य समूहको तेस्रो बैठक सम्पन्न भएको छ । उक्त बैठक भारतका तर्फबाट रेलवे मन्त्रालयका कार्यकारी निर्देशक (ट्राफिक यातायात) मनोज कुमार श्रीवास्तव र नेपालको तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशव कुमार शर्माको अगुवाईमा सम्पन्न भएको हो ।

संयुक्त कार्य समूहको तेस्रो बैठकले (क) जयनगर–विजलपुर–बर्दिबास र (ख) जोगवनी–विराटनगर रेलवेमा भइरहेको प्रगतिको सराहना गर्दै जयनगरदेखि जनकपुर÷कुर्थासम्म र जोगवनी देखि नेपाल भन्सार क्षेत्रसम्म रेल सेवा सञ्चालनका लागि आइपर्ने आवश्यकताहरुमाथि विस्तृत छलफल भएको छ ।

यी आयोजनाहरु कात्तिक २०७५ भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । संयुक्त कार्य समूहले रेलसेवा सञ्चालन, समझदारीपत्रको अन्तिम स्वरुप टुङ्गाउने विषयको आवश्यकता पहिचान गर्दै उक्त कार्य शीघ्र सञ्चालन गर्नका लागि जोड दिइएको जनाइएको छ । यस समूहको बैठकभन्दा पहिले नेपाल–भारत अन्तर्देशीय रेल सेवाको सञ्चालनका लागि गठित संयुक्त समितिको बैठक काठमाडौँमा यही असार ५ देखि ६ गतेसम्म भएको थियो ।

सामान तथा सवारी आवागमनको सहज आवतजावत, दुवै देशका जनताबीच सम्बन्ध विस्तार तथा दुई देशबीच व्यापार, वाणिज्य र आर्थिक सहकार्यलाई सुदृढ गर्नका लागि नेपाल–भारत सीमामा रेलमार्ग पूर्वाधार साथै अन्य पूर्वाधारका विकासका लागि भारत सरकार तथा नेपाल सरकार प्रतिबद्ध रहेको जनाइएको छ ।

जयनगरदेखि जनकपुर/कुर्था र जोगबनीदेखि नेपाल भन्सार क्षेत्रसम्मको रेल सेवा सञ्चालनले दुई देशबीचका रहेको जनता जनता बीचको सम्बन्ध तथा आर्थिक क्रियाकलापलाई सुदृढ गरि नेपाल–भारत सम्बन्धलाई थप नयाँ उचाई प्रदान गर्ने विश्वास लिइएको काठमाडौंस्थित भारतीय राजदूतावासले विज्ञप्तिमार्फत् उल्लेख गरेको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com