क्यान्सरपीडित बालकको जीवनरक्षाका लागि सहयोगी हात बढ्दै

जलेश्वर, २६ असार । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका वडा नं. ४ सुगाका क्यान्सरपीडित १२ वर्षीय बालक रवि पासवानलाई बचाउन सहयोगी हातहरु बढ्दै गएका छन् ।

बालबालिकाको क्षेत्रमा काम गर्ने सामुदायिक परिवार कल्याण संघ महोत्तरी तथा दलित जनजाति उत्थान संघ महोत्तरीले रविलाई बचाउन आर्थिक सहयोग गरेका हुन् ।

सेभ द चिल्डे«नको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित विद्यालय तथा समुदायमा बाल संरक्षण परियोजनाअन्तर्गत बाल संरक्षण समितिको आग्रहमा सामुदायिक परिवार कल्याण संघले २० हजार नगद हस्तान्तरण गरेका हुन् ।

जलेश्वर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष लोकेन्द्र लाल कर्ण, बाल संरक्षण समितिका सुगाका अध्यक्ष रामएकवाल पाण्डेयले संयुक्त रुपमा नगद क्यान्सरपीडित बालकलाई प्रदान गरेका छन् । सो अवसरमा वडाध्यक्ष लालले आफ्नो व्यक्तिगत तर्फबाट पनि ५ हजार रुपैयाँ नगद बालक रविलाई प्रदान गरेका थिए ।

सामुदायिक परिवार कल्याण संघका सामाजिक परिचालक कैलाशकुमार यादवले बालबालिकालाई संरक्षण गर्नुपर्ने सबैको दायित्व भएकोले आफुहरुले दायित्वबोध स्वरुप बालकलाई उपचारमा सहयोग पुगोस् भन्ने हेतुले सो रकम हस्तान्तरण गरेको जानकारी दिए ।

त्यसैगरी, दलित जनजाति उत्थान संघका अध्यक्ष श्यामसुन्दर दास तथा नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका अध्यक्ष कमलेश मण्डलले संयुक्त रुपमा क्यान्सरपीडित बालक रविलाई १० हजार नगद प्रदान गरेका थिए ।

कर्मचारीहरुबाट केही रकम संकलन गरेर अरु संस्थाबाट संकलन गरी बालकलाई नयाँ जीवनको लागि थोरै भएपनि सहयोग प्रदान गरेको संस्थाका अध्यक्ष श्यामसुन्दर दासले जानकारी दिए ।

केही दिन अगाडी मात्रै विभिन्न पत्रपत्रिकाहरुमार्फत रविका बुवा नागेन्द्र पासवानले ब्लड क्यान्सरबाट जुझिरहेका आफ्ना बालकलाई बचाईदिन सबैजनामा आग्रह गरेका थिए ।

विगत ६ महिनादेखि १२ वर्षीया छोरा रवि पासवानलाई भक्तपुर क्यान्सर अस्पतालमा ब्लड क्यान्सरको उपचार गराइरहेका नागेन्द्रले उपचारमा रकमको अभाव भएको भन्दै छोरालाई बचाई दिन सबैसँग आग्रह गरेका छन् । उनले भने, “अहिलेसम्म उपचारमा ३० लाखभन्दा बढी खर्च गरिसक्यौं, उपचार अहिले पनि बाँकी नै छ तसर्थ सबैसँग सहयोगका लागि आग्रह गर्छु ।”

नीजि विद्यालयमा शिक्षण सेवा गर्दै आएका नागेन्द्रले भएभरको सम्पत्तिबाट उपचार गराएपनि अब उपचार गराउने सामथ्र्य नरहेको बताउँदै सबैले सहयोग गरे मेरो छोराले पनि नयाँ जीवन पाउनेमा आफू आशावादी रहेको बताए ।

सदरमुकाम जलेश्वरमा रहेको न्यू मोर्डन बोर्डिङ्ग स्कुलमा अध्यापन गराउँदै आएका उनले तलबबाट घरखर्च समेत निस्कन नसक्ने अवस्थामा रहेको हुँदा छोराको उपचार कसरी गराउनु ? प्रश्न गर्दै पैतृक सम्पत्ति तथा दाजुहरु र आफन्तको सहयोगमा अहिलेसम्म उपचारको हिम्मत गरेपनि रकम अभावमा उपचार गराउने धैर्यता गुमेको दुखेसो पोखे । उनले छोराको उपचारमा खटिएका कारणले विद्यालय नियमित जान नसक्दा नियमित आयआर्जन समेत गुमेको बताए ।

रवि आफै पनि सोही विद्यालयको कक्षा ५ मा अध्ययनरत रहँदै आएको र आफू उपचारपश्चात निको भएर पुनः विद्यालय जाने बताउँछन् । ‘सबै सहयोगी हातहरुले आशिर्वाद दिने हो भने म पहिले जस्तै हुन्छु,’ रविले भने । उनले सहयोग गर्ने महानुभावहरु तथा संस्थाहरुलाई धन्यवाद समेत दिए ।

अहिले बालकको भक्तपुर क्यान्सर अस्पतालका चिकित्सक डा.अजय झाको निगरानीमा उपचार भइरहेको रविलाई होडस्किन लिम्फोमा क्लासिक रोग लागेको र अवस्था तेस्रो चरणमा रहेको बताइएको छ ।

बालकको जीवनरक्षाका लागि सहयोग गर्न चाह्नेहरुले जलेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकको बचत खाता नं. १२७००१९९८१० मा सहयोग गर्न सक्ने बालकका बुवा नागेन्द्रले बताए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com