झापालाई माछामा आत्मनिर्भर बनाउने विर्तामोड नगर प्रमुखको प्रयास ‘हेभन वाटर पार्क’

–चन्द्रकला भण्डारी

भद्रपुर, २३ साउन । ‘हेभन वाटर पार्क’ मा उत्पादन हुने माछाको लोकप्रियता दिनप्रतिदिन बढ्दै गइरहेको छ । झापा विर्तामोडका नगर प्रमुख ध्रुव शिवाकोटीद्वारा सञ्चालित यो पार्क माछा पाल्न चाहने कृषकका लागि नमूना नै बनेको छ ।

विर्तामोड–२ मा १६ बिगाहा क्षेत्रफलमा ११ वटा पोखरी बनाएर नगर प्रमुख शिवाकोटीले ५ करोड रुपैयाँको निजी लगानीमा २०७३ वैशाखदेखि माछापालन शुरु गरेका हुन् ।

उत्पादन हुन थालेको दुई बर्ष नबित्दै पार्कका माछाले झापा जिल्लामा उत्पादन हुने कुल माछाको करीव एक चौथाई हिस्सा ओगट्न सफल भएको छ । पार्क सञ्चालक शिवाकोटीका अनुसार पार्कले आर्थिक वर्ष २०७४÷७५ मा २५० मेट्रिक टन माछा उत्पादन गरेर बजारमा बिक्री गर्न सक्यो ।

पार्कमा भियतनामी प्रजातिको पङ्गास सहित रहु, नैनी, कमन कार्प, बिग हेड, ग्रास कार्प, रुपचन लगायतका माछा उत्पादन हुँदै आएको छ । स्वाद र औषधीय गुणका कारण पङ्गास सबैभन्दा लोकप्रिय छ ।

गौरादह कृषि शाखा कार्यालयका मत्स्य प्रविधिज्ञ प्रदीप श्रेष्ठका अनुसार झापा जिल्लामा वार्षिक एक हजार ५० मेट्रिक टन माछा उत्पादन हुँदै आएको छ । तर, झापामा माछाको खपत वार्षिक रुपमा दुई हजार मेट्रिक टन हुने गरेको छ र अपुग माछा भारतबाट आयात हुने गर्छ ।

पार्कमा उत्पादन हुने माछाहरू बिक्रीका लागि सञ्चालकहरूले झापा, इलाम, मोरङ र सुनसरी जिल्लाको गाउँ गाउँसम्म यातायातका साधनमार्फत पु¥याउने गरेका छन् ।

गाउँ र शहरका टोल टोलमा कम्पनीकै गाडीले जिउँदै ल्याइदिने माछा किन्न उपभोक्ताहरूको घुइँचो लाग्ने गर्छ । बजारमा मरेका माछा किन्नु पर्ने बाध्यताबाट मुक्ति पाएका उपभोक्ताहरू दिनहुँ जिउँदो माछा बोकेर आउने पार्कको गाडी कुरेर बसिरहेका भेटिन्छन् ।

कम्पनीका ७ वटा गाडी माछा बोकेर गाउँमा दिनभरि डुल्ने व्यवस्था मिलाइएको छ । पार्कका व्यवस्थापक कृष्ण प्रसाईका अनुसार झापा जिल्लाबाहिर मोरङको उर्लाबारी, बेलबारी, लेटाङ र सुनसरीको इटहरी र धरानसम्म पार्कका गाडी माछा बोकेर गुड्छन् । पार्कको आफ्नै गाडी र कर्मचारीबाट दैनिक आठ सयदेखि एक हजार किलोग्रामसम्म माछा बिक्री हुँदै आएको छ ।

पर्यटकीय केन्द्र बन्दै पार्क

माछापालनका लागि बनाइएका ठूला जलाशय र त्यसको वरिपरि सजाइएका बगैंचाका कारण हेभन वाटर पार्क झापाको रमणीय पर्यटकीय गन्तब्य बन्न पुगेको छ ।

पोखरीमा नौका विहार गर्न, बगैंचामा सेल्फी खिच्न र माछा हेर्न यहाँ टाढा टाढादेखि दिनहुँ सयौँ व्यक्ति आउने गरेका छन् । यहाँका ११ पोखरीमध्ये ठूला दुईमा चार वटा डुङ्गा राखिएका छन् । पोखरीको पूर्वी ढोका नजीक माछाको ठूलो चित्राकृतिसमेत राखेर रमणीय बगैंचा निर्माण गरिएको छ ।

पार्कमा जलाहारीले माछा निकालेको र भण्डारण गरिएको प्रत्यक्ष अवलोकन गर्न दिइने व्यवस्था मिलाइएका कारण माछा मारेको रमाइलो दृश्य हेर्न समेत आगन्तुकहरू झुम्मिने गरेको व्यवस्थापक प्रसाईं बताउँछन् । आन्तरिक पर्यटक बढेपछि पोखरीको एक छेउमा माछाको मात्र परिकार पाइने ‘हेभन रेस्टुरेन्ट एन्ड बार’ सञ्चालनमा ल्याइएको छ ।

पार्कले नै सञ्चालनमा ल्याएको यस रेस्टुराँमा पोखरीबाट निकालिएको ताजा माछा उपभोक्ताले रोजी रोजी खान पाउने व्यवस्था मिलाइएको पार्ककी निर्देशक विद्या शिवाकोटी बताउँछन् । उनका अनुसार रेस्टुराँमा माछाका ५३ परिकार उपलब्ध छ ।

पर्यटकलाई थप मनोरन्जन दिन पोखरीको दक्षिणी किनारमा ५ करोड रुपैयाँको निजी लगानीमा व्यवस्थित बाल उद्यान निर्माण थालिसकेको नगर प्रमुख शिवाकोटीले जानकारी दिए ।

आयात प्रतिस्थापनमा योगदान

आर्थिक वर्ष २०७१÷७२ सम्म भारतीय बजारबाट आयातित माछामा अत्यधिक निर्भर झापा जिल्ला त्यसपछि क्रमशः आत्मनिर्भरताको मार्गमा अघि बढिरहेको छ ।

पशु क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका अनुसार मेची भन्सार नाका भएर आव २०७१÷७२ मा दुई हजार १०९ मेट्रि«क टन माछा भित्रियो । तर, आव २०७४÷७५ मा यो आयात स्वाट्टै घटेर एक हजार ५७८ मेट्रिक टनमा झरेको छ । आव २०७२÷७३ देखि प्रतिवर्ष १०० मेट्रिक टनका दरले माछा आयात घट्दै गएको देखिएको छ ।

हेभन वाटर पार्कबाट उत्पादित माछाले झापा जिल्लाको कुल खपतको १२.५ प्रतिशत हिस्सा धानेको छ ।

भारतको आन्ध्र प्रदेशलगायतको स्थानबाट हप्तौंको अवधिमा आइपुग्ने मरेका माछामा मानव स्वास्थ्यका लागि हानिकारक फर्मालिन रसायनको प्रयोग भएको पाइने गरेकाले सचेत बन्दै गएका उपभोक्ताहरूले स्थानीय पोखरीमा उत्पादित जिउँदो माछा नै किनेर खाने गरेका छन् ।

घरघरै जिउँदो माछा बिक्री गरेर पार्कले आमजनतामा स्वस्थ माछा खान चेतना फैलाएको मत्स्य प्रविधिज्ञ श्रेष्ठ बताउँछन् ।

हेभन वाटर पार्कको स्थापना आगामी ५ वर्षभित्र झापालाई माछामा आत्मनिर्भर बनाउने एक अभियान भएको नगर प्रमुख शिवाकोटी दावी गर्छन् ।

“यसै वर्षदेखि विर्तामोड नगर क्षेत्रबाट भारतीय मरेका माछा विस्थापित भइसक्यो,” शिवाकोटी भन्छन् – “पूरै जिल्लालाई आत्मनिर्भर बनाउन पुग्ने गरी माछाका भुरा उत्पादनमा हामीले ध्यान केन्द्रित गरिरहेका छौँ ।”

हाल यस पार्कको ह्याचरीमा तीन लाख ५० हजार पङ्गास माछाका भुरा हुर्किसकेका छन् भने ५० लाख अन्य जातका माछाका भुरा उत्पादन भइरहेको छ ।

पार्कले भारतबाट आयातित मरेका माछा बेच्ने गरेका बजारका हण्डीवाला व्यापारीलाई भने आफ्नो उत्पादन बिक्रीका लागि दिने गरेको छैन । उनीहरूले भारतबाट ल्याइएका कुहेका माछासँग मिसाएर बेचिदिए स्थानीय उत्पादन समेत बदनाम हुनसक्ने भएकाले यसो गरिएको उनी बताउँछन् ।

पार्कले लक्ष्मीपुर, दुर्गापुर र सुरुङ्गामा आफ्नै बिक्री कक्ष सञ्चालनमा ल्याएको छ । ती बिक्री कक्षबाट पनि चौबिसै घण्टा ताजा माछा बिक्री हुने गर्छ ।

फर्मालिनको त्रासले माछा पाल्ने प्रेरणा
नगर प्रमुख शिवाकोटी कृषि व्यवसायमा लागेका पुराना किसान हुन् । विर्तामोडले नगरको स्वरुप धारण गर्नुभन्दा डेढ दशक अघि अनारमनी गाविस छँदा पनि उनी गाविसको अध्यक्ष थिए ।

राजनीति उनको समाजसेवा भए पनि व्यवसाय भने जहिल्यै पनि माछासँग जोडिँदै आएको छ । बीसौं वर्षदेखि झापाका केचना लगायतका क्षेत्रमा रहेका ठूला जलाशयहरूमा उनले माछा पाल्दै आएका छन् ।

भारतको आन्ध्र प्रदेशमा घुम्न जाँदा नेपाल पठाउने माछामा फर्मालिन नामक हानिकारक रसायन हालेको देखेपछि आफूमा विषादीमुक्त अभियान चलाउने सोच आएको उनी बताउँछन् ।

एकातिर आयात हुने मरेका माछालाई लामो अवधि ताजा देखाउन फर्मालिनको प्रयोग र अर्कातिर नेपालमा क्यान्सर रोगीको संख्या बढेको पाइएपछि ताजा माछाको उत्पादन गरेर भारतीय माछा विस्थापन गर्ने योजना बनाएको उनले बताए ।

उनी भन्छन्, – “पार्कको जिउँदो माछा हामीले घरघरै पु¥याउन थालेपछि मानिसहरू यति खुशी भए कि कैयनले मलाई घरमै आएर माला लगाइदिएर ‘हामीलाई फर्मालनको विष खानबाट र क्यान्सर लाग्नबाट बचाइदिनु भयो” भने ।”

विर्तामोड–१ की सविना खतिवडा पार्कको पोखरीमै गएर पङ्गास माछा किनेर खाने बानी परिसकेको बताउँछिन् । सविना भन्छिन्– “पार्कमा भर्खर पोखरीबाट झिकेर पानीमै राखिएका ताजा माछा पाइने भएकाले आनन्द लाग्छ र सधैं पोखरीमै आएर किन्ने गरेको छु ।” होटल, रेस्टुराँ, विवाह, जन्मदिन र अन्य चाडवाडमा पार्कमा आएर माछा किनेर लैजानेहरू बढेको सञ्चालकहरू बताउँछन् ।

पार्ककी निर्देशक विद्या व्यवसाय फस्टाएकामा सन्तुष्ट छिन् । उनी भन्छिन्, – “जति उत्पादन भइरहेको छ, त्योभन्दा बढी बजारमा माग छ । गाउँ घुम्न पठाएका गाडीहरू रित्तो कहिल्यै फर्किनु परेको छैन ।”


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com