जसपाले दर्ता गरायो संविधान संशोधन विधेयक

राजनीति

       

काठमाडौं, १९ जेठ । जनता समाजवादी पार्टी नेपालले प्राइभेट बिलको रुपमा छुट्टटै संविधान संशोधन विधेयक दर्ता गराएको छ । जसपा नेताहरुले संघीय संसद सचिवालयमा सोमबार संशोधन विधेयक दर्ता गराएका हुन् ।

गैर सरकारी विधेयकको रुपमा विधेयक दर्ता गरेपछि नेता कर्णले सत्तारुढ दलले आफूहरुको विधेयकमा समर्थन नगरे आफूहरु पनि सरकारले ल्याएको विधेयकमा समर्थन नगर्ने बताए । ‘सरकारले पनि अर्को विधेयक दर्ता गरेको छ, सरकारले मान्दैन भने हामीले के गर्ने हो त्यो गर्छौं’ उनले भने ‘हाम्रो मानेन भने उनीहरुको मान्न बाध्य हुन्नौं ।’

सरकारले नेपालको नयाँ नक्साअनुसार संविधानमा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन विधेयक दर्ता गरेको छ । तर राजपा र समाजवादी पार्टीले तराई मधेसको माग सम्बोधन हुने गरी संशोधन विधेयक ल्याउन माग गरेका थिए ।

नेता कर्णले आफूहरुको विधेयकलाई नेपाली कांग्रेसले पनि समर्थन गर्नुपर्ने बताए । ‘उहाँहरुले पनि हस्ताक्षर गर्न आउनुपर्थ्यो, आउनुभएन । उहाँहरुले चाहनुहुन्छ भने अर्को विधेयक दर्ता गर्न सक्नुहुन्छ ।’

तपाईको प्रतिक्रिया