जसपामा पाँच पदाधिकारीको टुंगो, तीन अध्यक्ष र दुई वरिष्ठ नेता

राजनीति

       

काठमाडौं, २५ जेठ । लामो समयको मन्थन–गन्थनपछि नवगठित जनता समाजवादी पार्टी नेपालले पदाधिकारी टुंगो लगाएको छ । जसपाले पाँच पदाधिकारी रहने टुंगो लागेको हो ।

जसपामा तीन जना अध्यक्ष र दुई वरिष्ठ नेता रहने टुंगो लागेको जनाइएको छ । अध्यक्षत्रय महन्थ ठाकुर, उपेन्द्र यादव र डा. बाबुराम भट्टराई रहने सहमति भएको हो । यसैगरी, राजेन्द्र महतो र अशोक राई वरिष्ठ उपाध्यक्ष हुने भएका छन् ।

जसपाका अन्य पदाधिकारीहरुको टुंगो लागेको छैन । राजपा र समाजवादीबीच एकता भएको जानकारी निर्वाचन आयोगमा ४५ दिन अघि नै दिइसकेको छ ।

निर्वाचनमा आयोगमा ४५ दिनभित्र पदाधिकारीहरुको टुंगो लगाई आयोगमा दर्ता गराउनुपर्ने हुन्छ । आज अन्तिम दिन जसपाले पाँच पदाधिकारीको टुंगो लगाएको हो ।

अहिले आयोगमा पाँच पदाधिकारी र बाँकी सबै सदस्य रहने गरी निवेदन दर्ता गर्न लागिएको हो । राजनीतिक दल सम्बन्धी ऐनमा एकीकरण वा गाभिने घोषणा गरेको ४५ दिनभित्र सम्झौताको प्रतिलिपी संलग्न गरेर निर्वाचन आयोगमा निवेदन दिनुपर्ने व्यवस्था छ ।

ऐनमा दुई वा सो भन्दा पार्टीले सम्झौता गरी एकीकरण हुन वा गाभिन सक्ने, एकीकरणको सम्झौता भएको पैँतालीस दिन भित्र एकीकरण हुने वा गाभिने दलले आफ्नो विधान, केन्द्रीय समितिको निर्णय र सम्झौताको प्रतिलिपी संलग्न गरी आयोगमा निवेदन दिनुपर्ने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया