सहमतिमै पद बाँडफाँड : भट्टराई

राजनीति

       

काठमाडौं, २६ जेठ । जनता समाजवादी जनता पार्टीका नेता डा. बाबुराम भट्टराईले पार्टीमा पद विभाजन समहतिमै भएको स्पष्ट पारेका छन् ।

आइतबार निर्वाचन आयोगमा दर्ता भएको जनता समाजवादी पार्टीमा महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष छन् भने डा. भट्टराईसहित अशोक राई र राजेन्द्र महतो वरिष्ठ नेता रहेका छन् । डा. भट्टराईले बाहिर विभिन्न अड्कलबाजी भएको भन्दै बाहिर चलेको हल्लाबाट प्रभावित नहुन आग्रह गरे ।

डा. भट्टराईलाई उदृत गर्दै उनका प्रेस सल्लाहकार विश्वदिप पाण्डेले लेखेका छन्, ‘बाहिर अनेकन हल्ला चलेकोले प्रष्ट पार्न चाहन्छु । सबै कुरा सहमतिमा भएको छ । धेरै वैचारिक र संगठनात्मक कुराहरुमा छलफल बाँकी रहेको र निर्वाचन आयोगमा पुग्नुपर्ने बाध्यता भएकोले २ पार्टीबाट १/१ जना अध्यक्षको नाममा संयुक्त पार्टी दर्ता गरौं, म अहिले सदस्य नै हुन्छु र बाँकी कुरा पार्टीको पहिलो बैठकबाट निर्णय गरौं भनेर बाबुराम भट्टराईले पार्टी एकताको बैठकमा सहजीकरण गर्नुभएको हो । कोही साथीहरु पनि बाहिर चलेका हल्लाहरुबाट भ्रमित हुन जरुरी छैन । बाँकी कुरामा अब छिट्टै बस्ने केन्द्रीय समितिको बैठकले सबैलाई चित्तबुझ्दो निर्णय गर्ने छ ।’

पाण्डेका अनुसार आउने बैठकबाट नेतृत्व लगायत वैचारिक कुरा स्पष्ट पारिने पनि डा. भट्टराईले बताएका छन् । उनले जसपालाई वैकल्पिक राजनीतिक शक्तिको रुपमा स्थापित गर्ने दृढता पनि व्यक्त गरेका छन् । डा. भट्टराईले समाजवादी र राजपाको एकताका लागि एक वर्षदेखि पहल गर्दै आएको पनि खुलासा गरेका छन् ।

‘समाजवादी र राजपाको एकता बाबुराम भट्टराईको एक वर्षअगाडिदेखिको पहल हो । अहिले उहाँले यो एकतालाई के गर्दा निष्कर्षमा लैजान सकिन्छ त्यही गर्नुभएको हो । छिट्टै बस्ने केन्द्रीय समितिको बैठकसम्म सबैले धेर्य गरौं। वैचारिक कुरासहित नेतृत्वको कुरा सबैलाई चित्त बुझ्ने गरी सेटमै जनता समाजवादी पार्टीले निर्णय गर्नेछ’ प्रेस सल्लाहकार पाण्डेले लेखेका छन् ।

तपाईको प्रतिक्रिया