'मधेशीसँग नीतिगतरुपमै रंगभेद छ’

अन्तर्वार्ता

       

इन्द्रजीत यादव, गैरआवासीय मधेशी संघ अमेरिकाको संयोजक तथा जनमत पार्टीको अन्तर्राष्ट्रिय समिति सदस्य

० अमेरिका चलिरहेको रंगभेदविरुद्धको आन्दोलनको अवस्था के छ ?

— अमेरिकामा गोरा र कालाबीच रंगभेद रहँदै आएको छ । जर्ज फ्लोयड भन्ने काला वर्णका एक व्यक्तिको प्रहरी हिरासतमा मृत्यु भयो । यसको विरुद्धमा अमेरिकाको झण्डै ५० राज्यमा विरोध भएको छ । अहिले प्रहरी प्रशासनले पनि रंगभेदविरुद्धको आन्दोलनमा समर्थन गरेका छन् । यत्रो ठूलो आन्दोलन हुँदा पनि सरकारको तर्फबाट कुनै किसिमको बल प्रयोग भएको छैन । अहिले विभिन्न राज्यहरुमा कालाहरुको आन्दोलनको समर्थनमा अन्य सर्वसाधारण नागरिकहरु प्रदर्शन गरिरहेका छन् । गोरा प्रहरीहरुद्वारा कालो छाला भएकै कारण जसरी दमन गरिन्थ्यो, त्यसको विरुद्धमा सम्पूर्ण नागरिक अहिले समर्थनमा छन् ।

० अमेरिका जस्तो विकसित देशहरुमा छालाको रंगको आधारमा विभेद कसरी हुने गरेको छ ?

— अमेरिका यस्ता खालका विभेदहरु हुनुको पछाडि कतै न कतै सुनियोजित जस्तो लाग्छ । यहाँका सबै प्रहरी प्रशासन त्यस्तै सोच भएका छैनन् । केही नश्लवादी सोच भएका प्रहरीहरुले कालाहरुलाई जसरी विभेद गर्दै आएका छन्, अहिले पनि काला देख्ने बित्तिकै जुन पहिला दृष्टिकोण थियो त्यसमा परिवर्तन आएको छैन । त्यसैले यस्ता घटनाहरु प्रायः भइरहेकै हुन्छ । जर्ज फ्लोयडको प्रहरीबाट हत्या भएपछि यो घटनाले उग्ररुप लियो ।

० भनेपछि प्रहरी प्रशासनबाट नै रंगको आधारमा विभेद वा दमन हुने गरेका छन् ?

— निश्चितरुपमा प्रहरी प्रशासनले नै काला वर्ग देख्ने बित्तिकै बिना कारण दमन गर्न खोज्छन् । केही सुरक्षा अधिकारीहरुले काला मान्छे हुने बित्तिकै उनीहरु चोर फटाहा हुन् भन्ने मानसिकता रहँदै आएका छन् ।

० रंगभेदको विरुद्धमा अमेरिकी कानूनमा के व्यवस्था छ ?

— संसारको जुनसुकै कानूनले पनि मानिसको छालाको रंगको आधारमा व्यवहार गर्ने भन्ने हुँदैन । त्यहीअनुसार अमेरिकामा पनि रंगको आधारमा कसैमाथि शंका गर्ने, दुव्र्यवहार गर्ने लगायतको कानून छैन । रंगभेद जस्ता अपराधहरु कानूनविपरीत हुँदाहुँदै पनि कतिपय नश्लीय सोच भएका प्रहरी प्रशासनले त्यस्ता व्यवहार गर्ने गरेका छन् । यस्ता व्यवहार सम्पूर्ण अमेरिकी नागरिक र सरकारका लागि टाउको दुखाईको विषय बनेको छ । कुनै एक जना प्रहरीको गल्तीका कारण पूरै राष्ट्र नै आतंकित हुनुपर्ने, नागरिकले दुःख पाउनुपर्ने, राष्ट्रको जनधनको क्षति हुने गरेका छन् । अहिलेको कोरोना महामारीको चपेटामा विश्वमै सबभन्दा बढी प्रभावित अमेरिका नै परेको छ । यस्तो बेलामा पनि मान्छेहरु आन्दोलनमा उत्रिनुपर्ने बाध्यताको सिर्जना हुनु निश्चितरुपमा दुर्भाग्यपूर्ण नै हो ।

० काला वर्णका व्यक्ति जर्ज फ्लोयडलाई हत्या गर्ने प्रहरी अधिकारीमाथि कारबाही भयो त ?

— जर्ज फ्लोयडलाई थर्ड डिग्री दिई जसरी हत्या गरियो, ती प्रहरी अधिकारीमाथि अहिले अदालतमा मुद्दा चल्दैछ । अहिले उनी प्रहरी हिरासतमा छन् र कानूनी कारबाही हुने क्रममा छ । अहिले रंगभेदविरद्धको आन्दोलन सामान्य अवस्था हुँदै गइरहेको छ । यो रंगभेदविरुद्धको आन्दोलनमा सारा विश्व जगत्ले समर्थन जनाइरहेका छन् । यस्ता खालका विभेद हाम्रो नेपालमा पनि देखिन्छ । तर, नेपालमा हुने रंगभेदप्रति नेपालकै बुद्धिजीवीहरुले नजरअन्दाज गरिरहेको अवस्था छ । नेपालमा मधेशी समुदायसँग दिनहुँ रंगभेद हुन्छ । नेपालमा प्रहरी प्रशासनबाट रंगको आधारमा मधेशी समुदायसँग रंगको आधारमा भेदभाव वा व्यवहार हुँदा हाम्रो सरकारको नै खासै ध्यान पुगेको देखिँदैन । त्यसको विरुद्धमा हामी (जनमत पार्टी)ले रंगभेदी दिवस पनि मनाउँदै आएका छौं । यो कुरा अमेरिकामा पनि हुँदा हाम्रो लागि नयाँ विषय नै लाग्दैन ।

० नेपाल र अमेरिकामा हुने रंगभेदमा के भिन्नता पाउनुभएको छ ?

— सबभन्दा पहिला त छालाको आधारमा भेदभाव वा व्यवहार हुनु नै दुर्भाग्यपूर्ण हो । तर अमेरिका र नेपालमा हुने रंगभेदमा के फरक छ भने अमेरिकामा रंगभेद हुँदा यहाँका सम्पूर्ण न्यायप्रेमी र सर्वसाधारणले त्यसलाई गलत भन्छन् । यहाँका सभ्य समाज र सरकारले पनि रंगभेदको विरोध गर्छन् । तर नेपालमा त्यस्तो अवस्थामा छैन । ताजा उदाहरणको रुपमा धनुषा जिल्लाको सवैला नगरपालिकामा एक २२ वर्षीय युवक शम्भु सादाको प्रहरी हिरासतमा हत्या भएको छ । यसभन्दा पहिला राममनोहर यादवको प्रहरी हिरासतमै मृत्यु भएको छ । तर, यसप्रति नेपालका राष्ट्रवादी भनाउने बुद्धिजीवी वा नागरिक समाजले कहिले पनि विरोध गर्दैन वा आवाज उठाउँदैन । त्यसैले नेपाल र अमेरिकामा हुने रंगभेदमा धेरै फरक छ । नेपालमा मधेशी समुदायले दिनहुँ रंगभेदका शिकार भइरहेका छन् । नेपालका कतिपय राष्ट्रिय सञ्चार माध्यमहरुले पनि मधेशीलाई होच्याउनका लागि त्यस्ता कार्यक्रमहरु समेत चलाउँदै आएका छन् । कुनै सरकारी कार्यालयमा जाँदासमेत त्यहाँका कर्मचारीले हामीसँग गर्ने व्यवहार अति नै निन्दनीय हुन्छ । हाम्रो छालाको रंग अलि कालो देख्ने नै बित्तिकै हेप्ने, होच्याउने लगायतका व्यवहारहरु हुँदै आएका छन् । जसले गर्दा हामीलाई लाग्छ कि हामी नेपालकै बासिन्दा हौं कि विदेशी । योभन्दा दुर्भाग्यको कुरा के हुन सक्छ ।

० भनेपछि नेपालमा मधेशी समुदायसँग नीतिगतरुपमै मधेशी समुदायसँग रंगभेद हुन्छ ?

— निश्चितरुपमा मधेशीसँग नेपालमा नीतिगतरुपमै रंगभेद भइरहेका छन् । उदाहरणका लागि हेर्नुस्, दुधे बच्चाहरुलाई समेत थाहा हुन्छ कि मधेशी को हो, कसरी बोली व्यवहार गर्नुपर्छ । काठमाडौंमा तरकारी बेच्ने मान्छेलाई धोती, मधेशिया, काले भन्नुपर्छ भन्ने कुरा ती बच्चाहरुको मानसिकतामा कसरी जान्छ ? त्यसैले नेपालमा पूरै नीतिगतरुपमा नै रंगभेद हुन्छ ।

० नेपालमा रंगभेद कसरी हटाउन सकिन्छ ?

— रंगभेद नेपालको उन्नति र विकासमा ठूलो बाधक हो । यस्ता मानसिकताहरु नहटाएसम्म नेपाल सम्पन्न र सुखी हुन सक्दैन । यसका विरुद्ध पूरा मधेशी समुदाय लड्दै आएका छन् । जबसम्म नागरिकमा जागरुकता आउँदैन तबसम्म हामी यही सानोतिनो कुरामा अल्झेर बसिरहन्छौं । यसका विषयमा राजनीतिक लडाइँ नै लड्नुपर्ने आवश्यकता छ ।

० अब कोरोनाको कहरबारे कुरा गरौं । कोरोनाको कहरबाट सबभन्दा बढी प्रभावित अमेरिका छ । यसको रोकथाम कसरी भइरहेको छ त अमेरिकामा ?

— वैश्विक महामारी कोरोना भाइरस (कोभिड–१९) बाट निश्चितरुपमा सबभन्दा बढी प्रभावित अमेरिका नै भएको छ । अमेरिकामा अहिलेसम्म १९ लाख ५६ हजारभन्दा कोरोना संक्रमित भेटिएका छन् । जसमध्ये करिब १ लाख ११ हजार जति मानिसको ज्यान गइसकेको छ भने ३ लाखभन्दा बढी उपचारपछि निको भएका छन् । अहिले पनि संक्रमितहरु बढिरहेकै छन् । यसको रोकथामका लागि अमेरिकी सरकारले सकेसम्म प्रयास गरिरहेको छ । सरकारको लकडाउन पनि घोषणा गरेको छ, अलिकति खुकुलो पनि बनाएको छ । दैनिक मजदुरी ज्यालादारी गर्नेहरुका लागि सरकारले राहत पनि पु¥याइरहेको छ । भनेपछि यत्रो कोरोनाको कहर हुँदा पनि यहाँका जनजीवन त्यति कष्टकर भएको छैन । यसको तुलनामा नेपालको अवस्था हेर्दा जनजीवन एकदमै कष्टकर देखिएको छ । नेपालमा क्वारेन्टाइन व्यवस्थित छैन, दैनिक ज्यालादारी गर्ने मजदूर वर्गहरु भोकभोकै मरिरहेको समाचारहरु पनि हामी सुनिरहेका छौं । प्रदेश २ कै कुरा गर्ने हो भने सबभन्दा दयनीय अवस्था छ । मापदण्ड नै नपुगेको क्वारेन्टाइनहरु छन्, पूरै अव्यवस्थित छन् । जसले गर्दा दिनप्रति दिन प्रदेशमा कोरोना संक्रमितहरु फेला परिरहेका छन् ।

(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)

तपाईको प्रतिक्रिया