विश्वका १० सर्वाधिक धनी क्लबमा प्रवेश गरे मुकेश अम्बानी

अर्थ/वाणिज्य

       

काठमाडौं, ८ असार । भारतीय धनाढ्य मुकेश अम्बानी विश्वका १० ठूला अर्बपतिको क्लबमा प्रवेश गरेका छन् ।

ब्लुमबर्गको विश्व अर्बपति सूचीमा अम्बानी नवौँ नम्बरमा उक्लिएका हुन् । उनको सम्पत्ति ४ अर्ब १८ करोड अमेरिकी डलरले बढेको हो ।

योसँगै उनीसँग कुल ६४ अर्ब ५० करोड अमेरिकी डलर सम्पत्ति रहेको छ । ‘टप १०’ धनीमा पर्ने उनी एसियाका एक्ला धनाढ्य हुन् ।

नवौँ नम्बरमा परेका भारतीय धनाढ्यले ओरेकल कर्पका ल्यारी एलिसन र फ्रान्सका फ्रान्कोइसलाई पछि पारेका हुन् ।

रिलायन्स कम्पनीको ४२ प्रतिशत स्वामित्व रहेका अम्बानीले आफ्नो डिजिटल युनिट जियो प्लेटफर्म्स लिमिटेडमा लगानी भित्र्याएपछि यस्तो प्रगति गरेको टाइम्स अफ इन्डियाले जनाएको छ ।

मार्चयता तेलदेखि टेलिकमसम्मको कारोबार गरिरहेका अम्बानीले सम्पत्ति बढाएका हुन् । त्यसो त कोरोनाभाइरसको महामारीले अन्य अर्बपतिलाई हानि गरे पनि कतिपयले फाइदा उठाइरहेका छन् ।

महामारीपछि अम्बानीको टेलिकम कम्पनी जियोले प्रगति गरेको छ । जसले उनको व्यक्तिगत सम्पत्तिमा योगदान पुगेको हो ।

तपाईको प्रतिक्रिया