नेपाल–चीन सीमामा कुनै समस्या छैन : परराष्ट्रमन्त्री ज्ञवाली

समाचार

       

काठमाडौं, १५ असार । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले सबै प्रक्रिया पूरा गरेर सगरमाथाको वास्तविक उचाइ सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको बताएका हुन् । उनले नेपालले आफैँले उचाई मापन नगरेकोले बीचमा उचाइमा अलमल भए पनि अहिले त्यो सुल्झिएको दाबी गरे ।

सगरमाथाको उचाइ स्नो लाइनलाई मान्ने कि रक वेसलाई मान्ने भन्ने विषयमा चीनसँग छलफल गरिरहेका उनको भनाइ थियो । राष्ट्रियसभाको सोमबारको बैठकमा उनले भने, ‘सगरमाथाबाटै सीमाना जाने कारणले गर्दा त्यसको उचाइ दुबै देशको सहमतिबाट मात्र टुङ्ग्याउने अवस्था आएका कारण त्यो विषय टुंगिएको थिएन, त्यतिबेलासम्म नेपालले आफ्नो तर्फबाट नापी गरेको अबस्था थिएन ।’

मन्त्री ज्ञवालीले नेपाल र चीनबीचमा कुनै सीमासम्बन्धि समस्या नरहेको पनि प्रष्ट पारे । ‘यी केही काम दुई देशबीचमा छलफल गरेर टुंगो लगाउनुपर्ने बाहेक अरु कुनै समस्याहरु नेपाल–चीन सीमाका विषयमा नरहेको व्यहोरा यहाँहरुलाई जानकारी गराउन चाहन्छ’, मन्त्री ज्ञवालीले भने ।

मन्त्री ज्ञवालीले चीनसँगको सीमा सुल्झ्याएर ९८ वटा सीमा स्तम्भ कायम गरिएको पनि बताए ।

३७ र ३८ नम्बरको सीमा स्तम्भ भौगोलिक विकटताका कारण बनाउन नसकिएको उनले जानकारी दिए । उनले राष्ट्रियसभामा भने, ‘नेपाल, भारत र चीनको तृदेशीय विन्दु पहिचान हुन बाँकी छ ।

चीनतर्फको १ नम्बर सीमा स्तभ तिन्कर भञ्ज्याङबाट पूर्वमा छ । शून्य नम्बरको सीमा वा तृदेशीय विन्दु टुंगो लाग्ने बित्तिकै हुन्छ । भारतसँगको विवादको कारण त्रिदेशीय विन्दु पहिचान हुन सकेको छैन ।’

तपाईको प्रतिक्रिया