रौतहटका २ नगरपालिका सिल

समाचार

       

रौतहट, १५ असार । कोरोना संक्रमणबाट जोगाउन स्थानीय प्रशासनले रौतहटको दुई नगरपालिका सिल गरेको छ । जिल्लाको बौधीमाई नगरपालिका र ईशनाथ नगरपालिका अर्को आदेश नहुन्जेलसम्मका लागि सिल गर्ने निर्णय भएको हो ।

कोरोना भाईरसको संक्रमण समुदायमा गइसकेको देखिएकाले संक्रमणको जोखिम न्युनीकरण गर्न दुबै नगरपालिकामा सिल गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए ।

आइतवारको सुरक्षा समितिको निर्णय अनुसार दुबै नगरपालिकाका नागरिकलाई बाहिर जान अथवा बाहिरका मानिसलाई उक्त नगरपालिकामा प्रवेश निषेध गरिएको छ ।

त्यसैगरी बौधीमाई नगरपालिकाका केही कर्मचारीमा समेत संक्रमण देखिएकाले नगरपालिकाको अत्यावश्यक आन्तरिक काम बाहेक नगरपालिकाको सम्पूर्ण सेवा अर्को आदेश नहुन्जेल बन्द गरिएको छ ।

बौधीमाई नगरपालिकाको दुई वटा वडाका अध्यक्षका साथै केही सदस्य तथा कर्मचारी गरी १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

कोरोना भाइरसको संक्रमण रौतहटमा दिन प्रतिदिन बढ्दै गएको छ । रौतहटमा संक्रमितको संख्या १२ सय नजिक पुगेको छ । रौतहटमा कुल ७ सय ७१ जना कोरोना जितेर घर फर्किसकेका छन् ।

तपाईको प्रतिक्रिया