औपचारिकतामा मनाइयो प्रदेश २ मा धान दिवस

समाचार

       

जनकपुरधाम, १५ असार । असार १५ अर्थात धान दिवस प्रदेश २ मा पनि औपचारिकतै सीमित रहेर मनाइएको छ । प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले पनि धान रोपेर धान दिवसको औपचारिकता पूरा गरे ।

धनुषाको हर्दिनाथस्थित राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रमको आयोजनामा मन्त्री साहले धान रोपेर खुशी साटासाट गरे । मन्त्री साहले शुभकामना सन्देश दिदै धान रोपेर देशको कृषि व्यवस्थालाई मजबुत बनाउने संकल्प लिनुपर्नेमा जोड दिए ।

प्रदेश सरकारले कृषिजन्य उत्पादनमा आत्मनिर्भरताको स्थिति सिर्जना गरी खाद्य सुरक्षालाई सुदृढ बनाउन कृषि कार्यलाई उच्च प्राथमिकतामा राखेर उत्पादन र उत्पादकत्व वृद्धि गर्न भरमग्दुर प्रयत्न गरिरहेको मन्त्री साहको भनाई छ ।

कोभिड–१९ को असाधारण र असामान्य स्थितिमा पनि नेपालका किसानहरूले देशको अर्थतन्त्र र समग्र जीवनशैलीलाई प्रतिबिम्बन गर्ने खेती किसानीलाई निरन्तरता दिँदै आएकोमा मन्त्री साहले सबै किसानलाई बधाई पनि दिए ।

देशको मुख्यबालीका रूपमा रहँदै आएको धान उत्पादनको करिब ३० देखि ४० प्रतिशत हिस्सामा प्रदेश २ को साझेदारी रहँदै आएको तथ्यले यहाँको कृषि प्रणालीमा धान उत्पादनको महत्व स्थापित हुँदै आएको छ’, मनत्री साहले बताए ।

तपाईको प्रतिक्रिया