“मधेशलाई होच्याउने टेलिभिजन कार्यक्रम तत्काल बन्द हुनपर्छ”

अन्तर्वार्ता

       

डा.शरद सिंह यादव, सामाजिक अभियन्ता तथा जनता समाजवादी पार्टी नेपालका युवा नेता

० कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने ह्वाट द फ्लप कार्यक्रमको विरुद्धमा किन उजुरी दिनुभयो ?

— काठमाडौंका ठूला मिडिया हाउसहरुले मधेश र मधेशीमाथि व्यङ्गयात्मक कार्यक्रमहरु चलाउने, खिल्ली उडाउने गर्दै आएका छन् । भए/नभएका विषयहरुलाई अतिरञ्जित गरेर देखाउने चलन नै चलेको छ । केही दिन अगाडि कृषि टिभीमा पनि यस्तै कार्यक्रम आएको थियो । यो देशमा अहिले राष्ट्रिय एकताको ठूलो समस्या देखिन्छ । हिमाल, पहाड, तराई–मधेशमा एकता खोजिरहेको अवस्थामा केही पत्रकार, कलाकारहरुले हाम्रो भावना नबुझेका हुन् कि बुझेर पनि बुझ पचाएको जस्तो लाग्छ । मधेशी पात्रको भूमिका गर्नका लागि मुखभरि कालो पोत्नुपर्ने अवस्था त म देख्दिँन । मधेशमा सबै कालो मान्छे मात्रै हुन्छ ? पहाडेहरु गोरो हुन्छन् भन्ने कुरा त छैन । मधेशमा एकसे एक गोरो मान्छे छन्, पहाडकै मान्छे कालो पनि हुन्छन् । यस्तो मानसिकताको विरुद्धमा हामी छौं । सन्दीप क्षेत्रीले कान्तिपुर टेलिभिजनमा ह्वाट द फ्लप कार्यक्रममा अहिले नागरिकताबारे आएको विधेयकको विषयमा एउटा प्रस्तुत गर्नुभएको छ । कार्यक्रममा एउटा मधेशी महिला, जो बोल्न सक्दैन, उसको लागि उसको श्रीमानले बोलिदिनुपर्ने, त्यसमा पनि यति तल्लोस्तरसम्मको व्यंग्य गर्नुभएको छ, त्यसकै विरुद्धमा हामीले प्रेस काउन्सिल नेपाल र मधेशी आयोगमा उजुरी दिएका हौं । एउटा ठूलो मिडिया हाउसका आफूलाई राम्रा भनाउँदा कलाकारले जब एउटा सिंगो समुदायलाई होच्याउने खालको प्रस्तुति देखाउनुहुन्छ भने कदापि हामीलाई स्वीकार्य हुँदैन । यस्तो अपमानजनक कुरालाई हामी मधेशका युवा, अभियन्ता, बुद्धिजीबीहरुले कहिल्यै पनि सहन सक्दैनन् । मैले कान्तिपुर टेलिभिजन, कार्यक्रमको प्रस्तोता र कार्यक्रमको निर्देशकलाई उचित कारबाही पाउँ भनेर उजुरी दर्ता गराएको छु ।

० मधेशी आयोग र प्रेस काउन्सिलले यी ठूला मिडियाहरुलाई कारबाही गर्न सक्छन् त ?

— म जुन निकायहरुमा उजुरी दिएको छु, तिनीहरुको कामै त्यहीं हो । मधेशी आयोग गठनको उद्देश्य पनि हो कि मधेशी सांस्कृतिकमाथि हुने हमलाविरुद्ध कारबाहीको प्रक्रिया अगाडि बढाउने हो । आयोगले जसरी पनि टेलिभिजन कार्यक्रमलाई कारबाही गर्ने आश्वासन दिएको छ । यदि एउटा कुनैलाई कारबाही भयो भने एउटा नजिर बस्छ र विस्तारै यस्ता कार्यक्रमहरु बन्द हुन्छ । हास्य व्यंग्यको पनि एउटा सीमा हुन्छ । जब मान्छेले एकदमै तल्लोस्तरसम्म गिरेर व्यंग्य गर्न थाल्छन् भने सम्बन्धित निकायले कारबाही गरेन भने भोली जनता आफै कारबाही गर्न तत्पर हुने अवस्था पनि आउन सक्छ ।

० एउटा सिंगो समुदायविरुद्ध घृणा फैलाउने कार्यक्रमविरुद्ध कुन हदसम्मको कारबाही हुनुपर्ने हो ?

— मैले उजुरीमै कस्तो कारबाही गर्ने भनिसकेका छौं । कार्यक्रम बन्द गरेर उनीहरुले क्षमा माग्ने र प्रस्तोतालाई हदैसम्मको कारबाही हुनुपर्ने हाम्रो माग हो । प्रेस काउन्सिल र त्यो मिडिया हाउसमाथि भर पर्छ कि कुन हदसम्मको कारबाही गर्ने हो ।

० कार्यक्रम बन्द गरी आगामी दिनमा यस्तो कार्यक्रम नबनाउने प्रतिबद्धता आउनुपर्छ ?

— मधेश र मधेशीलाई होच्याउने, अपमाणित गर्ने खालका कार्यक्रमहरु पटक–पटक हामीले हेर्दै आएका छौं । ह्वाट द फ्लप कार्यक्रमका प्रस्तोताको विगत हेर्दा उहाँले मधेशी समुदायको भूमिका गर्दा मुखमा कालो पोत्ने र व्यंग्य गर्दै आएको हुनाले हदैसम्मको कारबाही हुनुपर्छ । हामीले पहिला नै यस्तो कदम चाल्नुपर्ने थियो भनेर धेरै साथीहरुले फोन गरेर भनेका छन् । देशको ५० प्रतिशतभन्दा बढी जनतालाई हेप्ने काम गरेको छ, यस्तो कार्यक्रमलाई त निश्चितरुपमा बन्द गर्नैपर्छ ।

० सन्दीप क्षेत्रीले आफू पनि मधेशी नै भएको दाबी गर्नुहुन्छ नि ?

— कृषि टेलिभिजनको कुरा उठेको उहाँले आफ्नो स्पष्टिकरण दिएको मैले पनि देखेको छु । उहाँले म पनि मधेशी नै छु भनिरहँदा पनि नागरिकता विधेयकको बारेमा कार्यक्रम बनाउँदा भारतबाट विवाह गरेर आएकी महिलाले मजाक–मजाकमा तीन चार वटा बच्चा जन्माउँछन् भन्नु कुन स्तरको शब्द होला ? यदि उहाँ सहीमा मधेशमा जन्मेको मान्छे हुन् भने कम्तीमा यस्तो स्तरहीन कुरा गर्दैन्थ्यो । उहाँले एकदमै तल्लो स्तरको स्तरहीन कुरा गर्नुभएको छ । यसका लागि उहाँले कारबाही भोग्नैपर्छ ।

० मधेशी समुदायलाई होच्याउने खालका कार्यक्रमहरु किन उत्पादन हुन्छ होला ?

— काठमाडौंका केही मान्छेमा मधेशप्रति जुन किसिमको मनोविज्ञान छ जस्तै, मधेशीहरु अनपढ हुन्छ, गरिब हुन्छ, बोल्न आउँदैन, दोस्रो दर्जाको नागरिक हो जस्ता मानसिकता हरेक मिडियामा छिरेका छन् । मधेशीमाथि व्यंग्य ग¥यो भने टीआरपी बढ्छ भन्ने एउटा गलत सोच बसेको छ । त्यसैले, यस्तो मानसिकताले नै काठमाडौंमा काम गरिरहेको छ । यही मानसिकतालाई हटाउनका लागि मधेशका युवा, बुद्धिजीबीहरु अगाडि आयो भने यस्ता प्रवृत्तिलाई हटाउन सकिन्छ । हामी सबै नेपाली एक हौं, भौगोलिक अवस्थाले गर्दा मात्रै कोही गोरो र कालो हुने गरेका छन्, कसैको आँखा ठूलो र कसैको सानो हुन्छ । कोही नेपाली राम्रोसँग बोल्न सक्दैन, कोही मधेशका भाषा राम्रोसँग बोल्न सक्दैन । पहाडकै जिल्लाका धेरै यस्ता मान्छे छन् जसलाई नेपाली राम्रोसँग बोल्न आउँदैन, के उनीहरु नेपाली होइन र ? नेपाली हुनका लागि गोरो हुनैपर्छ ? ढाका टोपी लगाएका मान्छे मात्रै नेपाली हुन् त ? यदि हो भने संविधानले त्यसरी व्याख्या गरोस् ।

० कलाकारले कुनै अभिनय गर्दा त्यहींअनुसारको भेष, भुषा र भाषामा आफूलाई ढाल्नुपर्ने बाध्यता हुन्छ भन्ने तर्क पनि छ नि ?

— पक्कै पनि हो, यसलाई म मान्छु । तपाइँले जुन समुदाय र परिवेशको अभिनय गर्नुहुन्छ भने त्यहींअनुसार लुगा लगाउनुपर्ने, त्यहीं भेषअनुसार प्रस्तुत हुनुपर्छ । तर, त्यसको आडमा तपाइँले कसैको मानमर्दन गर्नुभएन । मधेशीको अभिनय गर्नका लागि मुखमा कालो पोत्नैपर्छ भन्ने त छैन । म पनि मधेशी हुँ, कालो छैन, एकदम गोरो छु, कुनै पहाडेभन्दा कम गोरो छैन । त्यसैले यो एकदम निचस्तरको सोचाइ हो कि मधेशीलाई देखाउनुप¥यो भने च्यातेको लुगा लगाउनुपर्ने, मधेशीहरु तरकारी बेच्ने हुन्छन्, खाली सिसी पुराना कागजवाला नै हुन्छन् । म दावाका साथ भन्न चाहन्छु कि मधेशी समुदायका व्यक्तिहरु शिक्षक, डाक्टर, चिकित्सक, न्यायाधीश, राष्ट्रपतिसम्म पुगिसकेका छन् । यो देशको प्रथम राष्ट्रपति र उपराष्ट्रपति मधेशी समुदायका व्यक्ति भइसकेका छन् । के मधेशी भनेकै सबै गरिब र अशिक्षित हुन्छन् त ? त्यस्तो त होइन । त्यसैले यो मनोविज्ञानलाई तोड्नका लागि हामी अगाडि आएका हौं । मलाई धेरै पहाडी मूलका साथीहरुले फोन गरेर भन्नुभएको छ कि धेरै राम्रो गर्नुभयो, यो मान्छे (सन्दीप क्षेत्री)ले जहिले पनि मधेशी समुदायलाई होच्याउने खालका प्रस्तुती देखाइरहेका छन् । मधेशी समुदायलाई होच्याएर नै उसको दालरोटी चलिरहेको छ । उहाँ वीरगन्जका मान्छे हुनुहुन्छ, तर उहाँको कार्यशैली र व्यवहारमा आफ्नो जन्मभूमिप्रति त्यस्तो लगाव देखिएन । हामी कुनै व्यक्ति वा संस्थाको विरुद्धमा होइन, आचरण र मानसिकताको विरुद्धमा लागेका छौं ।

० कार्यक्रमका विरुद्ध कारबाही भएन भने के गर्नुहुन्छ ?

— हामी सम्बन्धित निकायमा उजुरी गरेका छौं, केही दिनका लागि पर्खिन्छौं । उचित कारबाही भएन भने त्यसपछि हामीले छलफल गरेर कुनै निर्णय गर्छौं । कानूनले आफ्नो काम गरेन भने त्यसपछि जनताले आफ्नो हातमा लिने हो । प्रेस काउन्सिलका अध्यक्षले पनि यसलाई सकारात्मकरुपमा लिनुभएको छ, कारबाही हुन्छ भन्ने आश्वासन दिनुभएको छ ।

० यस्ता कार्यक्रमहरुले गर्दा राष्ट्रमा कस्तो प्रभाव पार्छ त ?

— यस्ता नकारात्मक किसिमका कार्यक्रमहरुले समाजमा विभेद र विभाजन ल्याउँछ । सञ्चार क्षेत्रले त देशलाई एकसूत्रमा बाँध्ने काम गर्नुपर्छ । मिडियाले समाजलाई विभाजन गर्ने काम गर्नुहुँदेन ।

० कलाकार सन्दीप क्षेत्रको बारेमा केही भन्नु छ ?

— कलाकार सन्दीप क्षेत्रीलाई म व्यक्तिगत रुपमा चिन्दिँन । उहाँ एउटा कलाकार जस्तो मान्छे, उहाँलाई यो एउटा सुध्रिने मौका हो । उहाँ त्यहीं व्यवसाय गरेर खाने मान्छे हुन् । मधेशीकै नाममा कार्यक्रम गरेर अहिलेसम्म उहाँको चुलो बलेको छ । उहाँ यदि सुध्रिनु हुन्छ भने माफी मागेर कार्यक्रमको स्वरुप परिवर्तन गर्ने र अब आइन्दा मधेशी समुदायमाथि कुनै किसिमको अपमानित हुने कार्यक्रम आयो भने उहाँकै लागि प्रत्युत्पादक हुन्छ भन्ने कुरा उहाँलाई आग्रह गर्न चाहन्छु ।

(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)

तपाईको प्रतिक्रिया