बोलीको ठेगान नभएका व्यक्तिलाई कहिलेसम्म सत्ताको बागडोर सुम्पिराख्ने ? (विचार)

विचार/दृष्टिकोण

       

डा.मनोज मुक्ति ‘विवेक’

सत्ताको दम्भ र उन्मादमा शासकवर्ग बौलाउँछन् र त्यसले उटपट्याङ्ग हर्कतहरु गर्छन् भन्ने विषयवस्तुहरु पढ्ने र सुन्ने गरेका थियौं । तर हाल आफ्नै देशमा देख्ने, भोग्ने र झेल्ने अवसर यो कमाउनिष्ट पाखण्डी सरकारले जुराइदिएकोले एकदमै दुःखित छु, लज्जाबोध हुँदैछ ।

“भानु जयन्ती” को उपलक्ष्यमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विशेष कार्यक्रममा हाम्रो देशका प्रधानमन्त्री खड्ग प्रसाद शर्मा ओलीले “राम जन्मभूमि” र “माता सिताको विवाह एवं उनका वनवास” को सन्दर्भमा दिएका तथ्यहीन, आधारहीन, कपोलकल्पित, भ्रामक, द्वेषपूर्ण, घृणित अभिव्यक्तिहरु विभिन्न पत्रपत्रिका एवं संचारमाध्यमबाट सुन्दा, हेर्दा र पढ्दा अत्यन्तै दुखी तुल्यायो ।

केही महिनादेखिको प्रधानमन्त्री ओलीको भाषण, विचार, क्रियाकलाप, गतिविधिहरुको सूक्ष्म विश्लेषण गर्दा हामीलाई लागेको छ कि, कहिँ उहाँको मानसिक अवस्था बिगरेको त होईन ? कि उहाँलाई लगभग दुई तिहाइ जनमतको दम्भले आफुलाई देवत्वकरण गर्न लागेको त होईन ? कि उहाँ कतैबाट परिचालित त हुनुहुन्न ? धर्मनिरपेक्षताको आडमा उहाँ कतै नेपालमा धार्मिक युद्धको बिजारोपण गर्न लागि पर्नु भएको त छैन ? कि वहाँ हाम्रो छिमेकी परममित्र राष्ट्र भारतलाई उचालेर झिस्काएर युद्धमा देश र जनतालाई धकेल्न खोज्नु भएको त छैन ? लगायतका अनेकन प्रश्नहरु उब्जिएको छ आज । जसको उत्तर हामी प्रधानमन्त्री र प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने पार्टी नेपाल कम्युनिष्ट पार्टीसँग खोज्दै छौं ।

विद्यावारिधी (एज।म्।) कै उपाधिका लागि जनताको खुनपसिनाले संचित देशको कोष र ढुकुटीबाट करोडौं रकम खर्च गरेर काठमाडौंको ठुलठुला होटेल एवं रिसोर्टहरु बुक गरेर “कृश्चियन सम्मेलन“ गराएका ओली र तिनका पार्टीका प्रायःजसो सबै ठुला साना नेता कार्यकर्ताहरुले त्यहीं कार्यक्रममा “होली वाईन” सेवन गरि आफ्नो धर्म परिवर्तन गरेको तथ्य सर्वविदितै छ । कि त्यही होली वाईनको प्रभाव एवं उन्मादमा उहाँले नेपालको ९०% ॐकार परिवारलाई चुनौती दिन खोज्नु भएको त होईन ? हाम्रो आस्थामाथी प्रहार गर्न खोज्नु भएको त होइन ? हामीलाई होच्याउने, घोच्ने, ठेस पुर्याउने, हेप्ने कुचेष्टा गर्नु भएको त होइन ? हो भने उहाँ, उहाँको पार्टी र समग्र ब्यवस्थाकै लागि त्यो प्रत्युत्पादक हुनेछ ।

अतः प्रधानमन्त्री र उहाँले प्रतिनिधित्व गर्ने नेपाल कम्युनिष्ट पार्टीसँग हामी जवाफ माग्दछौं कि, तिनका अधिकारीक धारणा के हो ? यस्तो मानसिक संतुलन गुमाएका, बोलीको ठेगान नभएका, जिब्रो चिप्लिने, लम्पट एवं स्वाँठ ब्यक्तिलाई कहिलेसम्म देशको शासन सत्ताको बागडोर सुम्पिराख्ने ?

हामी सम्पूर्ण ॐकार परिवार एवं राष्ट्रभक्त आम नेपालीलाई आह्वान गर्दछौं कि “आआफ्नो धर्म, संस्कृति, परम्परा, ईतिहास, पहिचान, राष्ट्रिय एकता, स्वाधीनतालाई बचाउन एवं जगेर्ना गर्न एकजुट होऔँ । यो कमाऊनिष्ट देशद्रोही जनघाती शासन ब्यवस्थालाई जडैदेखि उखेलेर फालौँ । नभए भोलिको दिन र हाम्रो भावी सन्ततिले हामीलाई कहिल्यै माफ गर्ने छैनन् ।

(लेखक जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष एवं राष्ट्रिय जनतान्त्रिक गठबन्धनका संयोजक हुन् ।)

तपाईको प्रतिक्रिया