अयोध्याका बारेमा नेपाल र भारतका विद्वान मिलेर अनुसन्धान गर्नुपर्छ : प्रा.डा. मदन रिमाल

अन्तर्वार्ता

       

प्रा.डा.मदन रिमाल, नेपाली इतिहास संस्कृति तथा पुरातत्व विभाग प्रमुख, त्रिभुवन विश्वविद्यालय

० भगवान श्रीरामको जन्मभूमि अयोध्याको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति कति तथ्यपरक छ ?

— जनकपुरकी राजकुमारी सीताको विवाह अयोध्याका राजकुमार भगवान श्रीरामसँग विवाह भएको कुरा कुनै शंका नै छैन । प्रधानमन्त्रीले मुख्यतः तीनवटा कुरा उठाउनुभएको छ । मैले एकेडेमिक कुराहरु मात्र राख्छु । प्रधानमन्त्रीले राजनीति र उहाँको स्वभाव, त्यो त उहाँको कुरा भयो । राजनीतिलाई एकातिर राखेर हामीले हेर्ने हो भने उहाँले उठाउनुभएको तीन वटा कुरामा मेरो ध्यानाकर्षण भएको छ । उहाँले सांस्कृतिक अतिक्रमणको कुरा उठाउनुभएको छ । अर्को कुरा उहाँले अनुसन्धान आवश्यक छ भन्ने कुरा उठाउनुभएको छ । अनुसन्धान आवश्यक छ भने केमा भन्दाखेरि अयोध्या कहाँ छ भन्ने कुरामा । मिथिला क्षेत्रको राजधानी जनकपुरधाम छ । उहाँले अर्को कुरा दूरी भन्नुभएको छ । जनकपुरमा जन्ती कसरी आयो, कति दिन लाग्यो भन्ने कुरा दूरीको छ । त्यसैले यी तीनवटा कुरा अनुसन्धानको विषय हो । त्यसैले यसमा विवाद गर्नुपर्ने विषय छैन । तर, यसमा प्रधानमन्त्रीले त्यहाँ होइन भन्नुभएकोले यस्तो विषय उठेको हो । उहाँले भन्नु हुँदैनथ्यो । किनभने उहाँ त यो विषयको विज्ञ त होइन नि ।

० भनेपछि यो अनुसन्धानको विषय बन्न सक्छ ?

— अनुसन्धानको विषय बन्न सक्छ । मैले नै जनकपुरमा अनुसन्धान गरेको छु । मैले बाल्मिकी रामायणलाई आधार मानेर अनुसन्धान गरेको छु । मैले १५–२० अगाडि नै दूरी कति थियो त, भगवान राम कसरी आउनुभयो । राजा विशालका गढ भारतको वैशालीलाई भनिन्छ । नदी तरेर विशालगढ आउनुभयो भगवान राम । त्यसपछि भोलिपल्ट विश्वामित्रसँग जनकपुर आउनुभयो । एकै दिनमा धनुषयज्ञमा पुग्नुभएको छ । त्यसैले मैले पहिला पनि त्योअनुसारको दूरी खोजेकै हुँ । यो कुरा अध्ययनको विषय हो ।

० प्रधानमन्त्रीले बोलेको कुरामा पुरातत्व विभागले अनुसन्धान गर्ने भन्ने कुरा पनि आएको छ नि ?

— मैले पुरातत्व विभागमा बुझ्दा अनुसन्धान गर्ने विषयमा कुनै किसिमको कुरा नभएको जानकारी पाएँ ।

० यदि अनुसन्धान गर्नुपर्ने भयो भने के–के विषयलाई आधार बनाउने ?

— अनुसन्धान गर्दा हामीले दूरीलाई नै आधार बनाउनुपर्छ । दूरीलाई आधार मानेर निष्कर्ष निकाल्न सकिन्छ । कतिपयले सीतामढी भनिरहेका छन्, हामीले जनकपुरधाम भनिरहेका छौं । विश्वामित्रले रामलाई दरबारबाट लिएर गएर सुपनेखाको लक्ष्मणले नाक काटेपछि यज्ञमा आउने, यी सबै दूरीलाई हामीले केलाउने हो । धेरै अगाडि जनकपुरमा म हुँदा यसै विषयमा शोध गरिरहेको थिएँ । म आइए पढ्दाखेरि जनकपुर सर्किट खोज्ने भनेर भारत र नेपालका विद्वानहरु जम्मा भएर पेपरहरु प्रस्तुत गरेर विभिन्न ठाउँहरु खोज्न जाने भन्ने कुरा मलाई सम्झना छ । हामीले आपसी समझदारीमा रामायण, महाभारतलाई प्रमाणित गर्दै हिंड्नुपर्छ । राजनीतिक दलका नेताहरु राजनीति गर्ने मान्छेहरु हुन् । राजनीतिमा के–के भन्नुहुन्छ, त्यसमा हामी भन्न सक्दैनौं । तर, एकेडेमिकली भन्नुपर्दा अनुसन्धान त गर्नैपर्छ । भारत र नेपालका विद्वान मिलेर खोजौं न त । के फरक प¥यो र । जहाँ पाएपनि रामायण ठाउँ पाउनु नै ठूलो कुरो हो । त्यसैले यसमा चिन्तित हुनुपर्ने कुनै कुरा छैन ।

० प्रधानमन्त्री ओलीले त्यतिबेला सम्वादका माध्यमहरु थिएन, कसरी त्यति टाढाबाट आएर बिहे गर्न सक्छन् भन्ने किसिमका जुन तर्क गर्नुभएको छ, तर त्यतिबेला पनि त विभिन्न किसिमका विभिन्न माध्यमहरु जस्तै पुष्पक विमान लगायतको कल्पना गरिएको छ नि ?

— पहिला धेरै प्रविधिहरु थिए, ती ज्ञान हामीले अहिले पाउन सकेका छैनौं । त्रेतायुगको कुरा गर्ने हो भने लाखौं वर्ष पूरानो कुरा हो । तर हामीले वैज्ञानिक ढंगले हे¥यौंं भने ढुंगायुगपछि सुरु भएको सिभिलाइजेशन भनेर जहाँ कृषि खेती आदि गरियो । त्यो भारतवर्षमै हो । त्यसपछि हामी बुद्धको समय भन्छौं । अब रामको घटना हो भने हामीले त्रेतायुगलाई मान्नुपर्छ । त्यति परसम्मको प्रमाणहरु आजसम्म पाउन सकिएको छैन । अब आस्था, विश्वास, भावना, धर्म लगायत नै हो । यो आस्था र विश्वासको आधारमा हामीले खोज्न सकियौं भने मानव सभ्यताकै लागि हाम्रो ठूलो उपलब्धि हुन्छ । रामसेतु श्रीलंकामा छ, जहाँ रहस्यका कुराहरु धेरै छन् । त्यसकारण यसलाई अनुसन्धान गर्दा नै राम्रो हुन्छ । विस्तारै–विस्तारै अनुसन्धानबाट अन्य कुराहरु आउँछन् ।

० दूरीकै कुरा गर्ने हो भने अहिलेको श्रीलंका तत्कालीन लंकाका राजा त्यहाँबाट कसरी आए, सीतालाई नै किन अपहरण गरे लगायतका कुराहरुमा पनि शंका गर्न मिल्छ नि ?

— आर्कोलोजीमा हामीले दूरीबाट नै अनुसन्धान गर्नुपर्छ । पत्तै लगाउने हो भने दूरीलाई आधार मानेर खोज्न सकिन्छ । सम्भावित स्थलहरु भनेर हामीले खोज्ने हो । हामीले मानिआएको धर्म, संस्कृति, आस्था, विश्वासमा प्रधानमन्त्रीको कुराले चोट पुगेको छ । यदि त्यहाँ होइन भने कहाँ हो भनेर प्रमाणका आधारमा भन्न सक्नुपर्दथ्यो । प्रधानमन्त्रीको आफ्नै एउटा स्वभाव छ । केही विषयमा प्रतिक्रिया दिइहाल्ने । तर मैले सकारात्मकरुपमा हेर्दा हामीलाई अनुसन्धानको एउटा बाटो हुन्छ कि भन्ने लागेको छ ।

० प्रधानमन्त्रीले जसरी भारतविरोधी अभिव्यक्तिहरु दिँदै आउनुभएको छ, त्यसकै एउटा निरन्तरता हो कि यो विषयमा वास्तवकै उहाँले प्रमाणको आधारमा भन्नुभएको होला ?

— हेर्नुस्, प्रधानमन्त्रीले बोल्नुभएको कुरामा प्रमाण त छैन । उहाँले प्रमाणको आधारमा कुरा त गर्नुभएकै होइन । रह्यो राजनीतिको कुरा त्यो त उहाँहरुले जान्नुहुन्छ । एकेडेमिक र आर्कोलोजीको कुरा गर्नु हुन्छ भने रिसर्च ओरिएन्टेड कुराहरु हुन्छ । अनुसन्धान नगरिकन भन्न पनि हुँदैनथ्यो । अब उहाँले बोलिसकेपछि अनुसन्धानका लागि बाटो खुल्यो कि भन्ने मात्र मलाई लागेको हो । तर, अनुसन्धान गर्दा भारत र नेपाल दुवै मिलेरै गर्दा राम्रो हुन्छ । किनभने हाम्रो धर्म, संस्कृति एउटै छ, हामी आपसी समझदारीमा बस्नुपर्छ । भारतसँग हाम्रो विविध खालका सम्बन्ध छन् ।

० सदियौंदेखि रहँदै आएको सांस्कृतिक, धार्मिक तथा अध्यात्मिक सम्बन्धमा प्रधानमन्त्रीको अभिव्यक्तिले कस्तो प्रभाव पारेको देख्नुहुन्छ ?

— यस्तो अभिव्यक्तिले सांस्कृति, धार्मिक तथा अध्यात्मिक सम्बन्धमा अप्ठ्यारो पार्छ । मैले एकेडेमिक कुराहरु मात्र राख्छु पहिला पनि भनेकै छु । त्यसैले अब यस्तो कुरा आइसकेपछि अनुसन्धान गर्नैपर्छ भन्ने लाग्छ । राजनीतिक र सांस्कृतिक सम्बन्धबारे हामीले बोलेर केही हुने पनि होइन र केही गर्ने पनि होइन । यो कुरा प्रधानमन्त्री र सरकार–सरकारबीचको कुरा हो । आर्कोलोजीको दृष्टिकोणले भन्नुपर्दा अनुसन्धानको बाटो खोलियो भने हामीलाई काम गर्न सजिलो हुन्थ्यो । तर, अनुसन्धान गर्दा भारतलाई बेवास्ता गरेर हुँदैन । भारतका विद्वानसँगै मिलेर गर्नुपर्ने हुन्छ । किनभने रामायण र महाभारतका कुराहरु हुन्, त्रेतायुग र द्वापरयुगका कुराहरु हुन् । आर्कोलोजिष्ट फाइन्डिङ्गसहरु गर्नुपर्छ ।

० यदि अनुसन्धान गरेर प्रधानमन्त्रीले भनेझैं आधारहरु भेट्यो भने हामीलाई यो कुरा स्वीकार गर्न कतिको सहज हुन्छ ?

— अनुसन्धान गर्दा वर्षौंवर्ष लाग्ने कुरा हो । तुरुन्त अनुसन्धान गरेर थाहा पाउने कुरा पनि होइन । जस्तै, कपिलवस्तुको लुम्बिनीमा ५०औं वर्षदेखि अन्वेषण भइरहेकै छ । तर, अन्वेषण गर्दा केही तथ्यहरु अवश्य फेला पर्छ जसले संकेत गर्छ कि यहाँ केही छ भनेर । त्यसपछि हामीले आर्कोलोजिष्ट फाइन्डिङ्गस मात्रै हो भनेर भन्ने हो । त्यसपछि त्यसलाई कसरी प्रस्तुत गर्ने भन्ने कुराहरु सरकारमा निर्भर पर्छ । हामीले फाइन्डिङ्गसलाई हेरेर व्याख्या गर्छौं ।

मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)

तपाईको प्रतिक्रिया