रौतहटमा सामूहिक बलात्कार गर्ने चालकसहित ३ पक्राउ

समाचार

       

रुपेन्द्र पटेल, रौतहट, १८ साउन । रौतहटमा युवतीलाई सामूहिक बलात्कारको आरोपमा ट्रक चालकसहित ३ जना पक्राउ परेका छन् ।

फतुवा रौतहट जिल्लाको बिजयपुर नगरपालिकामा ट्रकभित्रै युवतीलाई बलात्कार गरेको आरोपमा चालक र दुुईजना सहचालकलाई प्रहरीले पक्राउ गरेको हो ।

चितवनबाट भुस लिन फतुवा विजयपुर नगरपालिका बरगिनियाचौक आएको ना २ ख ६७४६ नम्बरको ट्रकमा २१ वर्षीय युवती बलात्कृत भएको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रहरी इन्सपेक्टर चन्द्रकिशोर साहले जानकारी दिए ।

पक्राउ पर्नेमा तनहुं जिल्ला ब्यास नगरपालिका वडा नं—१ का ट्रक चालक वर्ष २९ का बिष्णु प्रसाद रानाभाट, सोहीठाउँका सहचालकहरु वर्ष १८ का बिनोद रानाभाट र वर्ष १९ का केशर मगर रहेको साहले जानकारी दिए ।

गत बिहीबार बाराको पथलैयामा बाटोमा अलपत्र परेकी ती युवतीलाई घर पु¥याईदिन्छु भनी उनीहरुले ट्रकमा ल्याएका थिए ।

बरगिनिया चौक पुगेपछि युवतीलाई बन्धक बनाउँदै उनीहरुले ट्रकभित्रै बलात्कार गरेका थिए भने पिडितले रोई कराई गर्दा स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । पीडित युवतीको शुक्रबार साँझ स्वास्थजाँच भइसकेको छ ।

आरोपी तिनैजना उपर जबरजस्ती करणी सम्बम्धी मुद्धा दर्ता भई शुक्रबार जिल्ला अदालत गौरबाट १५ दिनको म्याद समेत थमाईएको र ट्रक नियन्त्रणमा रहेको इन्स्पेक्टर साहले बताए ।

पीडित युवतीको अभिभावक हालसम्म सम्पर्कमा नआएकाले उनलाई तत्काल महिला तथा बालबालिका सेवाकेन्द्र गरुडामा राखिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया