बाँकेमा तीन दिनसम्म पूर्ण निषेधाज्ञा जारी

समाचार

       

नेपालगन्ज, १८ साउन । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि बाँकेमा तीन दिनसम्म पूर्ण निषेधाज्ञा जारी भएको छ । स्थानीय प्रशासनले आइतबारदेखि मंगलबारसम्म निषेधाज्ञा जारी गरेको हो ।

नेपालगञ्जमा सरकारी कार्यालय र समुदायस्तरमा गरिएको कोरोना परीक्षणमा एकै दिन ३० जनामा संक्रमण देखिएपछि कोरोना संकट व्यवस्थापन समितिको बैठकले तीन दिनसम्म पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

अत्यावश्यकीय कामबाहेक घर बाहिर ननिस्कन प्रशासनले आग्रह गरेको छ । प्रशासनको आग्रहलाई अटेर गरी अनावश्यकरूपमा हिँडडुल गरेको पाइएमा कानूनबमोजिम कारवाही हुनेछ ।

कोरोनाको जोखिम हुन नदिन तीन दिन निषेधाज्ञा जारी गरिएको जनाइएको छ । निषेधाज्ञाको अवधिमा स्वास्थ्य, सुरक्षा, विद्युत्, दूरसञ्चार, खानेपानी, दूध तथा दुग्धजन्य पदार्थ, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि पसल तथा तरकारी र खाद्यान्न आपूर्ति सेवा सञ्चालन गर्न पाइने छ ।

त्यसैगरी एम्बुलेन्स, शवबाहन, दमकल, झण्डावाला र कूटनीतिक नियोगका सवारी साधन, लामो दूरीका मालवाहक गाडी र सवारी अनुमति (पास) भएका गाडी मात्र सञ्चालनमा आउन पाउनेछन् ।

पछिल्लोपटक संक्रमण देखिएका ३० जनाको सम्पर्कमा आएका ४२३ व्यक्तिको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । कन्टयाक्ट ट्रेसिङ गर्दै समुदायमा कोरोना संक्रमण फैलिन नदिन स्थानीय प्रशासन लागिपरेको छ ।

तपाईको प्रतिक्रिया