जनकपुरमा सोमबार रातिदेखि एक साताका लागि निषेधाज्ञा

समाचार

       

जनकपुरधाम, १८ साउन । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा पनि निषेधाज्ञा जारी गरिने भएको छ । सोमबार राति १२ बजेदेखि लागू हुनेगरी एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएपछि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको उनले बताए । उनका अनुसार स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्ला सुरक्षा समितिको निर्णयअनुसार जनकपुरधाम उपमहानगरपालिकाभर निषेधाज्ञा जारी गरिएको छ ।

अत्यावश्यक कामबाहेक बिना पास घरबाट बाहिर निस्किए कारवाही गरिने उनको भनाई छ । निषेधाज्ञाको समयमा औषधि पसल, अस्पताल तथा स्वास्थ्य केन्द्र, एम्बुलेन्स लगायत संचालनमा रहने जनाइएको छ ।

धनुषामा एक जनाको कोरोनाले मृत्यु भएको छ भने प्रादेशिक अस्पताल जनकपुरधामका तीन नर्स, सामाजिक विकास मन्त्रालयका तीन कर्मचारीसहित सैयौं व्यक्तिमा कोरोना पुष्टि भइसकेको छ ।

तपाईको प्रतिक्रिया