भारतीय गृहमन्त्री अमीत शाहलाई कोरोना संक्रमण

समाचार

       

काठमाडौं, १८ साउन । भारतका गृहमन्त्री अमीत शाहलाई नोभेल कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । उनले आइतबार ट्विट गरेर आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन् । चिकित्सकको सल्लाह अनुसार उनलाई अस्पताल भर्ना गरिएको छ ।

गृहमन्त्री शाहले ट्विट गर्दै भनेका छन्, ‘कोरोनाका प्रारम्भिक लक्षण देखिएका छन् । मैले कोरोना जाँच गराए र रिपोर्ट पोजेटिभ आएको छ । मेरो स्वास्थ्य अवस्था अहिले ठिक छ । तर, चिकित्सकको सल्लाह अनुसार म अस्पताल भर्ना भएको छु ।’

उनले आफ्नो सम्पर्कमा रहेका व्यक्तिहरुलाई आइसोलेसनमा बस्न र परीक्षण गराउन आग्रह गरेका छन् ।

यता, भारतको उत्तर प्रदेशमा कोरोना संक्रमणका कारण क्याबिनेट मन्त्री कमला रानी वरुणको मृत्यु भएको छ । उनलाई जुलाई १८ मा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उपचारका लागि लखनउस्थित एसजीपीजीआईमा भर्ना भएकी उनको आइतबार निधन भएको बीबीसीले जनाएको छ ।

मुख्यमन्त्री योगी आदित्यनाथले मन्त्री कमला रानीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

कमला रानी शिक्षामन्त्री थिइन् । सन् २०१७ मा बीजेपीले उनलाई कानपुर घाटमपुरबाट चुनावमा प्रतिस्पर्धा गराएको थियो । उनी गत वर्ष क्याबिनेट मन्त्री बनेकी थिइन् ।

तपाईको प्रतिक्रिया