पर्सा जिल्लामा आजबाट निषेधाज्ञा

समाचार

       

वीरगञ्ज, १९ साउन । पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रका लागि जारी गरिएको निषेधाज्ञा आजदेखि जिल्लाभरका लागि जारी गरिएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा साउन १७ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगञ्ज महानगरपालिकाभित्र रहेको निषेधाज्ञा सोमबारदेखि जारी गर्ने निर्णय गरेको हो ।

पछिल्लो परिस्थितिको विश्लेषण गर्दै कोरोना भाइरस संक्रमण व्यापक रुपमा फैलिन थालेपछि र संक्रमितको व्यवस्थापनमा समस्या भएपछि अर्को सूचना नभइञ्जेलका लागि जिल्लाभर निषेधाज्ञा लगाउने निर्णय जिल्ला सुरक्षा समितिको बैठकले गरेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बताए ।

पर्सामा साउनमा मात्रै १२ जना संक्रमितको मृत्यु भएको छ भने पर्याप्त आइसोलेसन सेन्टर नहुँदा अधिकांश संक्रमितहरूलाई घरमै राखिएको छ । लक्षणसहितका संक्रमितलाई मात्रै आइसोलेसन सेन्टरमा राख्ने नीति अख्तियार गरिएको छ ।

होटलमा पेड आइसोलेसनको व्यवस्था पनि मिलाइएको छ । पछिल्लो परिस्थितिमा संक्रमण अझै फैलिनसक्ने जोखिम बढेकाले जिल्ला सुरक्षा समितिले निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।

वीरगञ्ज महानगरपालिका क्षेत्रमा निषेधाज्ञा लगाएको सात दिन बितिसकेको छ । निषेधाज्ञाका कारण अत्यावश्यक वस्तुको आपूर्ति बन्द रहेको र अत्यावश्यक वस्तुको आपूर्ति बन्द भएकाले आम सर्वसाधारण मर्कामा परेको गुनासो आएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए ।

तपाईको प्रतिक्रिया