पर्सामा प्रहरी र पत्रकारसहित ३५ जना संक्रमित

समाचार

       

वीरगन्ज, १९ साउन । नारायणी अस्पतालको प्रयोगशालमा आइतबार राति गरिएको परीक्षणमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसअघि आइतबार साँझ गरिएको परीक्षणमा वीरगन्ज महानगरपालिका– १२ का वडाध्यक्षसहित ३८ जनामा कोरोना पुष्टि भएको थियो ।

नारायणी अस्थायी कोरोना अस्पतालका इन्चार्ज डा.निरजकुमार सिंहका अनुसार आइतबार मात्र पर्सामा ७३ नयाँ संक्रमित थपिएका छन् ।

राति संक्रमण पुष्टि हुनेमा वीरगन्जका ३९ वर्षीय पत्रकारसमेत रहेका छन् । विगत दुई दिनदेखि ज्वरो आएपछि गत शनिबार उनले स्वाब परीक्षणका लागि दिएका थिए ।

संक्रमित हुनेमा वडा प्रहरी कार्यालय श्रीपुरका ३ जना प्रहरीसमेत रहेका छन् । संक्रमित थुनुवाको सम्पर्कमा आएपछि गत साउन १३ मा वडा प्रहरी कार्यालयमा स्वाब संकलन गरिएको थियो ।

डा.सिंहका अनुसार ३५ जना नयाँ संक्रमितमध्ये १४ जना कन्ट्याक्ट ट्रेसिङको क्रममा परीक्षण गर्दा पोजिटिभ भेटिएका छन् । ३५ संक्रमितमध्ये १९ जना वीरगन्ज महानगरपालिका ११ श्रीपुरका बासिन्दा हुन् ।

आइतबार साँझको परीक्षणमा सोही वडामा २७ जना र शनिबार १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया