अयोध्याको राम मन्दिर शिलान्यासका दिन जनकपुरमा दीप प्रज्वलन गर्न आग्रह

समाचार

       

काठमाडौं, २० साउन । बर्षौको कानुनी र राजनीतिक लडाईपछि अयोध्यामा निर्माण हुन लागेको राम मन्दिरको अगस्ट ५ तारिख बुधवार शिलान्यास हुने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिमित आमन्त्रितहरुका बीच मन्दिरको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

कोरोनाको प्रभाव बढ्दै जाँदा सतर्कता अपनाउँदै सिमित अतिथिहरुलाई मात्र बोलाइएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

राम मन्दिर निर्माण अभियानका अभियन्ताहरु लालकृष्ण आणवानी र मुरलीमनोहर जोशीले भिडियो कन्फ्रेन्समार्फत शिलान्यास समारोहमा सहभागी हुनेछन् ।

भारतीय केन्द्रीय गृहमन्त्री अमित शाह सहित विभिन्न राज्यका मुख्यमन्त्रीहरु समेत कोरोना संक्रमित पाइएपछि कार्यक्रममा व्यापक सुरक्षा सतर्कता अपनाइएको छ । आमन्त्रित सबैले कोरोना नभएको प्रमाण पेश गर्नुपर्नेछ ।

शिलान्यास कार्यक्रममा नेपालबाट जानकी मन्दिरका महन्थ राम तपेश्वर दास बैष्णवलाई निमन्त्रणा गरिएको छ । नेपालबाट निम्त्याइएका उनी सम्भवतः एक्ला अतिथि भएपनि कोरोनाको बढ्दो प्रभावका कारण आफू जाने अवस्थामा नरहेको महन्थले बताए । पत्रकार सम्मेलन गरेरै उनले भूमीपूजनको दिन जनकपुरमा दीप प्रज्वलन गर्न आग्रह गरे ।

शिलान्यास कार्यक्रममा विभिन्न धार्मिक पीठ र नदीहरुको पानी अयोध्या पु¥याइएको छ । नेपालबाट पनि जानकी मन्दिरको माटो पशुपतिनाथमा पूजा गरी अयोध्या पठाइएको छ ।

पशुपतिनाथ क्षेत्र विकास कोषका सदस्य संहिता शास्त्री अर्जुन प्रसाद बास्तोलाले राम मन्दिरको शिलान्यास तथा भूमिपुजन कार्यक्रमको शुभकामना दिएका छन् । बास्तोलाले राम मन्दिरको निर्माण चाँडै हुने अपेक्षा पनि गरेका छन् ।

तपाईको प्रतिक्रिया