समुदायमा संक्रमण बढेपछि प्रदेश २ का ६ शहरहरुमा कर्फ्यू

समाचार

       

जनकपुरधाम, २० साउन । समुदायस्तरमा कारोना भाइरसको संक्रमणपछि प्रदेश २ का विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । प्रदेश २ को ६ जिल्ला सदरमुकाम भिडभाड हुने स्थानमा निषेधाज्ञा जारी गरिएको हो ।

झन्डै चार महिना लामो देशव्यपी लकडाउन अन्त्य भएलगत्तै प्रदेश २ मा कोरोना संक्रमित र मृतकको ग्राफ डरलाग्दो रुपमा बढेको पछि प्रदेशका मुख्य सहरहरुमा निषेधाज्ञा र लकडाउन जारी गरिएको हो ।

समुदायमा संक्रमणको साइकल ब्रेक गर्न ती सहरहरमा निषेधाज्ञा जारी गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

सप्तरीको सदरमुकाम राजविराज, प्रदेशको अस्थायी राजधानी जनकपुरधाम, महोत्तरीको जलेश्वर, रौतहटको गौर, बाराको कलैया र पर्साको वीरगञ्जमा निषेधाज्ञा जारी गरिएको छ ।

समुदाय स्तरमा संक्रमित बढेपछि थप संक्रमण रोक्न तयारी पूर्वभ्यास अनुरुप निषेधाज्ञा जारी गरिएको आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए ।

समुदाय स्तरमा संक्रमणको आशंकापछि जिल्ला प्रशासन कार्यालय धनुषाले सोमबार राति १२ बजेदेखि सात दिने निषेधाज्ञा जारी गरेको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को द

२ बमोजिम जिल्ला सुरक्षा समितिको निर्णय अनुसार जनकपुरधाम उप–महानगरपालिका भित्र निषेधाज्ञा जारी गरिएको हो ।

यसैगरी महोत्तरी जलेश्वरको पूर्वमा भार्गवसर मन्दिर, पश्चिममा रामनन्दन विशेश्वर महेन्द्र क्याम्पस, उत्तरमा रणभीम गण र दक्षिणमा रातोपुल चारकिलाको क्षेत्रमा पाँच दिनसम्मको लागि निषेधाज्ञा जारी गरिएको जनाए । त्यसैगरी जिल्लाको महोत्तरी गाउँपालिका ३ र ५ वडामा पनि पाँच दिनको लागि निषेधाज्ञा जारी गरिएको छ ।

प्रशासनले निषेधाज्ञा अवधिमा ‘मास टेस्टिङ्ग’ लाई तिव्रता दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कृष्ण कटवालले जानकारी दिए । कोरोना संकट व्यवस्थापन केन्द्रले महोत्तरीको १५ वटै स्थानीय तहमा पीसीआर परीक्षण गर्ने निर्णय गरेको छ ।

यस्तै, सप्तरीमा मंगलबार बिहान ५ बजेदेखि जिल्लाभर निषेधाज्ञा लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए । राजविराजमा कोरोना संक्रमितको मृत्यु भएपछि साउन ८ देखि लागेको निषेधाज्ञा मंगलबारबाट जिल्लाभरी विस्तार गरिएको छ ।

वीरगन्जमा संक्रमित थपिएसँगै मृत्यु हुनेको संख्या उच्च बनेपछि साउन १० देखि निषेधाज्ञा लागू गरिएको छ । सीमावर्ती सहर जलेश्वरमा साउन १६ देखि र बाराका अधिकांश स्थानमा आइतबारदेखि निषेधाज्ञा लागू गरिएको छ ।

समुदायमा कोरोना संक्रमण रोक्न प्रदेश २ को ८ जिल्लामा ५४ हजार मास्क नलगाउनेलाई कारवाही गरिएको प्रदेश प्रहरी प्रमुख डिआईजी धिरजप्रताप सिंहले जानकारी दिए ।

प्रदेश २ मा संक्रमण र मृत्युदर बढ्दै गएपछि आवश्यक समन्वयका लागि स्वास्थ्य मन्त्रालयले दीपेन्द्ररमण सिंह नेतृत्वको टिम वीरगन्ज र जनकपुरका लागि खटाएको छ ।

प्रदेश २ को सामाजिक विकास मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमणको संख्या सोमबारसम्म ५ हजार ९ पुगेका छन ।

संक्रमणबाट सबैभन्दा बढी १२ जना वीरगंजमा, बारामा २ , रौतहटमा २, धनुषामा १, महोत्तरीमा १, सप्तरीमा १ गरी १९ जनाको प्रदेश २ मा मृत्यु भइसकेको छ । क्वारेन्टाइनमा १ हजार ५ सय ८८ र आइसोलेसनमा ६ सय २६ जनाको उपचार भइरहेको छ । ३ हजार १ सय ८४ जना निको भएर घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया