उच्च मनोबलले कोरोना पराजित गर्न सकिन्छ : प्रदीप यादव

अन्तर्वार्ता

       

प्रदीप यादव, सांसद, जनता समाजवादी पार्टी नेपाल

० तपाइँ कोरोना विरुद्धको लडाइमा विजय हासिल गर्नुभयो । होम आइसोलेट बस्दाको अनुभव कस्तो रह्यो ?

— म कोरोना संक्रमित भइसकेको रिपोर्ट आइसकेपछि पहिलो दिन म एकदमै पीडामा थिएँ । पूरा विश्व समुदाय नै अहिले कोरोना महामारीसँग लडिरहेका छन् । त्यसैले मलाई पहिलो दिन एकदमै तनाव भयो । रातभरि म छटपटिरहें, राम्ररी सुत्न पनि पाइन । तर, भोलिपल्टबाट साथीभाई, इष्टमित्रहरुको धेरै फोर आयो, सहानुभूति देखाउनुभयो, मलाई हिम्मत दिनुभयो । हिम्मत र साहसले कोरोनालाई पराजित गर्न सकिन्छ भन्ने किसिमका सल्लाह र सुझावहरु आएपछि मेरो मनमा नयाँ ऊर्जा आयो । त्यसपछि मैले बिहान ६ बजेदेखि राति १० बजेसम्मको सेडुल बनाएर उच्च मनोवलका साथ कोरोनाविरुद्ध लडिरहें । म बिहान र बेलुका शारिरीक व्यायाम गर्न थाले । खानेकुरामा पनि विशेष ध्यान दिएँ, घरेलु औषधीय गुण भएका खाद्य, पेय पदार्थहरु सेवन गरेपछि म कोरोनामुक्त भएँ । आत्मबल बलियो बनाएर र घरेलु उपचारबाट नै मैले कोरोना जितेको हुँ ।

० तपाइँ संक्रमित भइसकेपछि घरपरिवारबाट कतिको सहयोग पाउनुभयो ?

— मलाई मेरा घरका सदस्यहरुले सहयोग नै गरे । मलाई जे चाहिन्थ्यो, म फोन गर्थे र ती सामान ल्याएर म बसेको ढोका अगाडि पु¥याइदिन्थे । म एउटा छुट्टै फ्ल्याटमा बस्न थालेको थिएँ । म संक्रमित भएको रिपोर्ट आइसकेपछि कोहीसँग सम्पर्कमा पनि गइन । म आफू पनि बचें र अरुलाई पनि बचाएँ । यसमा मेरो परिवारको ठूलो सहयोग रह्यो । परिवारको सहयोगबिना कोरोनालाई जित्न सकिँदैन ।

० तपाइँको कन्टेक्ट ट्रेसिङ्गमा कतिजना संक्रमित भए ?

— मेरो कन्टेक्टबाट मेरो गाडी चालक, पिएसओ संक्रमित भएका थिए । त्यसपछि वैज्ञानिक वन व्यवस्था समितिमा म छु, सो समितिमा ११ छन् । त्यसमध्येका एक जना पाण्डे थरका व्यक्ति संक्रमित हुनुभो । बाँकी कोही पनि मबाट संक्रमित भएन । मेरो परिवारका मान्छेहरुको पनि कोरोना रिपोर्ट निगेटिभ नै आयो ।

० तपाइँ कसरी संक्रमित हुन पुग्गुभयो त ?

— म आफ्नो निर्वाचन क्षेत्रको विभिन्न कार्यक्रमहरुमा गइरहन्थे । यही बीचमा बाढी पहिरो आएको थियो, प्रभावित क्षेत्रमा पनि घुमें । गाउँ–गाउँमा डुल्दै जाँदा कहाँबाट संक्रमित भएँ, त्यो थाहा भएन । तै पनि म कोरोनाबाट बच्न सबै सावधानी अपनाउँदै आएको थिएँ । म जहिले पनि मास्क, ग्लब्स लगाएर नै कुनै पनि कार्यक्रममा जान्थे । तर, कसरी भएँ, कहाँबाट भएँ पत्ता लागेन ।

० कोरोनाको जुन आतंक मच्चिएको छ, यसले धेरै मानिसमा मानसिक समस्या पनि देखिएको छ । यो कोरोना कालमै धेरैले आत्महत्या पनि गरेका छन् । कोरोनालाई पराजित गर्न सकिन्छ भन्ने मनोबल बढाउन तपाइँ के सुझाव छ ?

— जसलाई कोरोना संक्रमण हुन्छ, उसलाई हिम्मत दिनुपर्छ कि कोरोनालाई हामीले जित्न सक्छौं । उसलाई हिम्मत दिने साथीभाई, इष्टमित्र हुनुपर्छ । संक्रमितहरुको मनोबल बढाउनका लागि राज्यले पनि पहल गर्नुपर्छ । यसका लागि छुट्टै शाखा बनाउनुपर्छ, जसले संक्रमितहरुलाई फोनबाट वा अन्य माध्यमबाट मनोवल बढाओस् । किनभने मानिसले जब आफ्नो आत्मबल गुमाउँछ अनि कमजोर हुन्छन् र उसको रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता पनि कमजोर हुन्छ । प्रतिरोधात्मक क्षमता कमजोर हुँदा कुनै पनि रोगले छिटो आक्रमण गर्छ । राज्यले त्यस्तो शाखा खडा गरेर कोरोना संक्रमितलाई हिम्मत बढाउने काम गर्नुपर्छ । तर, राज्यको यसतर्फ ध्यानै गएको छैन ।

० कोरोना लाग्नेबित्तिकै परिवारजनबाट पनि अपहेलना सहनुपर्ने अवस्थाहरु पनि छन् । यसको ज्वलन्त उदाहरण केही दिन पहिला क्वारेन्टिनमा एक युवकले आत्महत्या गरे । यसलाई कसरी कम गर्न सकिन्छ ?

— कोरोनो यस्तो रोग हो कि छुट्टै बस्नुपर्छ । यो कुराको जनचेतना समाजमा हुनुपर्छ । एक संक्रमित मानिस अर्को मानिसको सम्पर्क आउँदा सर्ने भएकोले संक्रमित मानिस एक्लै बस्नुपर्छ । जो संक्रमित हुन्छ उसलाई आफ्नो परिवारबाट हिम्मत दिनुपर्छ । यो रोग पनि निको हुन्छ, यो लाग्दैमा मानिस मरिहाल्दैन भन्ने कुराहरु भनेर हिम्मत दिनुपर्छ । कोरोना लाग्ने बित्तिकै आत्तिहाल्ने, मर्छ भन्ने कुराहरु गर्नु हुँदैन । यसबाट मानिस आफ्नो आत्मवल गुमाउँछ र रोगले झन् आक्रमण गर्न थाल्छ । हामीले हिम्मत दिने हो, यो एउटा रुघाखोकी जस्तै हो । यसलाई हराउन सकिन्छ । मैले पनि कोरोनालाई हराएँ । मानसिकरुपमा कमजोर हुनुभयो भने कोरोनाले तपाइँलाई हराइदिन्छ ।

० खानपानमा के–के सेवन गर्नुभो तपाइँले ?

— मैले बिहान काढा खान्थे । एक चम्चा च्यवनप्राश पनि खान्थे । त्यसपछि लसुनको २२ वटा दाना, अढाई चम्चा बेसार, अलिकति कालो खुर्सानी, कालो नुनलाई मिसाएर पिसेर एउटा भाँडोमा राख्थे । पिसेर बनाएकालाई तीन पटक बिहान, दिउँसो र बेलकी गरी तातो पानीमा खान्थे । तातो पानीको वास्प पनि लिन्थे । खाजामा फलफुल र मौसमीको जुस खान्थे । हरेक डेढ दुई घन्टामा मौसमीको जुस र नरिवलको पानी पनि खान्थे । राती खिचडी र आलुको चोखा खान्थे । दिउँसोको खाजामा सुप खान्थे । यसैगरी, दिनभिरमा तीनपटक कागती र मह पानीसँग खान्थे । यसरी मैले १० दिनको सेड्युल बनाएर खानपानमा ध्यान दिएँ ।

० तपाइँ त एउटा सांसद हुनुहुन्छ, आफ्नै घरमा होम आइसोलेट भएर यस्ता किसिमका खानपिन गर्नुभयो । तर, क्वारेन्टिनमा रहेका आम सर्वसाधारणहरुका लागि यस किसिमको खानपानको व्यवस्थापन मिलाउन सकिन्छ कि सकिँदैन ?

— राज्यले चाह्यो भने गर्न सकिन्छ । तर जुन प्रकारको हाम्रो यहाँ आइसोलेसनको व्यवस्था छ, त्यो एकदम दयनीय छ । क्वारेन्टिनमा समयमा खाना र खाजा पाउँदैन । यस्ता धेरै जनगुनासोहरु आउँछन् । त्यसैले यस्ता कुराहरु सुधार्नुपर्छ ।

० अहिले प्रदेश २ को जुन अवस्था छ, त्यहाँ तपाइँहरुकै सरकार छ । किन गम्भीर भएन होला ?

— कोभिडको मामिला देशभर संघीय सरकार आफैले नै हेरिरहेको छ । प्रदेश र स्थानीय सरकारको त्यति भूमिका छैन । प्रदेश र स्थानीय सरकारलाई भूमिका र पावर एकदम कम दिएको छ । त्यसैले जबसम्म प्रदेशलाई पावर दिँदैन, तबसम्म प्रदेशले के गर्न सक्छ र ? पावर सबै केन्द्रमा छ र संघले विशेषगरी सबै अधिकार आफैमा राखेको छ । त्यसैले अहिलेको अवस्थाको जवाफदेहिता संघ सरकार हुनुपर्छ ।

० तर, यो कोरोनाकालमै प्रदेश २ मा व्यापक भ्रष्टाचार भइरहेको जनगुनासोहरु पनि छन् नि ?

— क्वारेन्टाइनको सवालमा स्थानीय सरकारलाई जिम्मा दिइएको छ । प्रदेशले पनि केही बजेट छुट्याएको छ । अहिलेको अवस्थामा पैसाभन्दा पनि जनशक्ति, स्वास्थ्य उपकरणको आवश्यकता छ । संघ सरकारले प्रदेश २ मा एउटा टोली पनि पठाएको थियो । त्यो टोली हेरेर गयो र हरायो । त्यो टोलीले अनुगमन गरिसकेपछि सरकारलाई सुझाव दिनुपर्दथ्यो र तुरुन्त एउटा विशेष टोली खट्नुपर्दथ्यो । प्रदेश सरकारले आफ्नो हैसियतअनुसार काम गर्दैछ । यसमा मुख्य दोषी संघीय सरकार नै हो । यो कोरोनाविरुद्धको लडाइमा यदि विजय हासिल गरियो भने त्यसको श्रेय संघीय सरकारलाई जान्छ र असफल भयो भने पनि त्यसको जिम्मा संघले नै लिनुपर्छ ।

० प्रदेश २ सरकारको गत आर्थिक वर्षको आधाभन्दा बढी बजेट फ्रिज भयो । ती बजेटहरुलाई कोरोना रोकथाम, नियन्त्रण तथा राहत उद्धारमा रकमान्तर गर्नुपर्दथ्यो नि ?

— त्यो त प्रदेश सरकारलाई सोध्नुहोला । प्रदेश सरकारले के ग¥यो, के–के गरेन । हाम्रो पार्टीको सरकार हो । यसबारे हाम्रो पार्टी र मन्त्रीहरुले जवाफ दिनुपर्छ ।

० तपाइँले मुख्य व्यापारिक नाकामै सम्भवतः अहिलेसम्मकै सबभन्दा ठूलो नेपालको झण्डा निर्माण गराउनुभएको छ । उद्देश्य के थियो ?

— नेपाल र भारतको सीमामा आफ्नो राष्ट्रिय ध्वजा ११० फिट अग्लो टावर लाइट निर्माण गराएको छु । त्यसले नेपालको एउटा पहिचान दिलाउँछ । नाकाबाट कुनै पनि भारतीय वा विदेशी नेपालमा प्रवेश गर्छ, उसलाई थाहा हुन्छ कि नेपालमा प्रवेश ग¥यौं । किनकि नेपाल र भारतको खुल्ला सिमाना हो । त्यो सीमामा पहिचान गर्न गाह्रो हुन्छ कि नेपालमा छौं कि भारतमा । त्यसैले कमसेकम पहिचान दिलाउनका लागि मैले आफ्नो संसदीय विकास कोषबाट त्यो टावर लाइटको निर्माण गराए । त्यो नेपालमा पहिलो टावर लाइट हो, त्यस्तो नेपालमा कहीं पनि छैन । एकदम आधुनिक तरिकाले निर्माण गराइएको छ । राति पनि जानुभयो भने चम्किरहेको हुन्छ र फहराइरहन्छ । मान्छेहरुका लागि एउटा सेल्फि प्वाइन्ट पनि भएको छ ।

(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)

तपाईको प्रतिक्रिया