कोरोनाको सन्त्रास (सम्पादकीय)

सम्पादकीय

       

बिहीबार साँझसम्म प्रदेश २ मा २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएर संक्रमितको संख्या ९ हजार ४ सय २७ पुगेको छ । प्रदेश २ मा दिनदिनै संक्रमितको संख्या बढ्दै गइरहँदा यसले भयावह अवस्थाको चित्रण गरेको छ । यसै कारण प्रदेशका सबै ८ वटै जिल्ला ‘लकडाउन’ गरिएको छ ।

केही समय अगाडि नियन्त्रणमा आएको भए पनि कोरोना भाइरसको संक्रमण अहिले फेरि अनियन्त्रित भइसकेको छ । दिन प्रतिदिन संक्रमितको संख्या बढिरहेको छ । संक्रमित थपिँदै जाँदा ज्यान गुमाउनेको संख्या पनि थपिँदै गएको छ ।

यहाँ फैलिरहेको संक्रमणलाई बेलैमा रोक्न नसक्ने हो भने यसले अझ धेरै भयावह स्थिति निम्त्याउन सक्ने विज्ञहरुले चेतावनी दिएका छन् । पछिल्लो समय यसको प्रभाव काठमाडौँमा समेत परेको छ । लामो समयसम्म भएको लकडाउन खुल्नु र खुल्ला सिमानाका कारण घट्दै गएको संक्रमण ह्वात्तै बढेको हो ।

प्रदेशमा संक्रमण बढ्दै जानुको कारण संक्रमित भएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ राम्रोसँग हुन नसकेको हो । खासमा कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी रुपमा अगाडि बढेकैे छैन । हुन त यो प्रदेश २ मा मात्र नभएर सबै ठाउँमा उस्तै छ । तर प्रदेश २ मा अझ बढी कमजोर अवस्था छ ।

कोरोना भाइरसको संक्रमण फैलिनुमा मानिसहरु एक अर्कामा कति भेटघाट गरिरहेका छन् भन्ने कुरा पनि महत्वपूर्ण छ । काठमाडौँ र प्रदेश २ जनघनत्व धेरै भएको प्रदेश भएका कारण धेरै मानिसहरु एकअर्काको सम्पर्क आउने भएका कारण पनि संक्रमणले तीव्र रुप लिएको हो ।

सबै जिल्ला भारतीय सीमासँग जोडिनु, ३ प्रतिशत भू–भागमा रहेको प्रदेशमा २० प्रतिशत जनसंख्या रहनु, वैदेशिक रोजगारीमा यही प्रदेशका बढी रहनु र सबैभन्दा गरिबी रहेका कारण यो प्रदेश कोरोनाको बढी जोखिममा रहेका छन् ।

यी कारणले गर्दा यहाँ संक्रमण बढी फैलिएको छ । पहिलो चरणमै नियन्त्रण गर्नका लागि लकडाउन गरिए पनि त्यसबेला नियन्त्रण हुन सकेको थिएन । पछिल्लो केही दिनयता वीरगञ्जमा पुनः कोरोना संक्रमण व्यापक फैलिएको संकेत देखिएको छ । विगतमा संक्रमितहरुमा लक्षण खासै नदिए पनि अहिले भने लक्षणसमेत देखिन थालेको छ ।

समुदाय स्तरमा कोरोना फैलिएको ठहर गर्दै पटक–पटक सरोकारवालाको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको गुनासो यहाँका चिकित्सकहरुको छ । दुर्भाग्य नै मान्नुपर्छ, साउन १ गतेपछि मात्रै पनि जुन तयारी हुनुपर्ने हो, त्यो हुन सकिरहेको छैन । न केन्द्र सरकार, न प्रदेश, न स्थानीय सरकार वा स्थानीय प्रशासन जिम्मेवार भएर प्रस्तुत भइरहेको छ ।

संक्रमित घर टोलमा डुलिरहेका छन् । नगर प्रमुख र स्थानीय प्रशासन आ–आफ्नै तालमा हिँड्न खोजिरहेका छन् । आपसमा समन्वयको अभाव छ । संक्रमितको कन्ट्याक्ट ट्रेसिङ राम्रोसँग हुन सकिरहेको छैन । जनशक्तिको अभावमा विगतमा पनि यसमा कमजोरी भएकै हो । नागरिक समाजको काँधमा जिम्मेवारी थपिएको छ । सरोकारवाला सबै निकायबीच आपसी सहकार्य गर्नुको विकल्प छैन ।

तपाईको प्रतिक्रिया