शैक्षिक क्षेत्रका लागि कोभिड–१९ अवसर पनि हो : ई.मिथलेश कुमार झा

अन्तर्वार्ता

       

ई.मिथलेश कुमार झा, शिक्षाविद् तथा शैक्षिक व्यवस्थापक

० नयाँ शैक्षिक सत्र सुरु हुनै लाग्दा लकडाउन भएपछि शैक्षिक संस्थाहरु पूर्णरुपमा ठप्प छ । यो शैक्षिक अन्योलताको अवस्थालाई तपाइँ कसरी हेरिरहनुभएको छ ?

— कोभिड–१९ ले गर्दा संसारभरि नै गाह्रो परिस्थिति सिर्जना भएको छ । स्वाभाविकरुपमा नेपालमा पनि अहिलेको बन्दाबन्दी अवस्थामा अप्ठ्यारो परिस्थितिमा हामी छौं । शिक्षा क्षेत्र मात्रै नभएर हरेक क्षेत्रमा अहिले अप्ठ्यारो परिस्थिति छ । यो अवस्थामा हामीले नकारात्मक टिप्पणी गर्नुभन्दा पनि सकारात्मक पक्षप्रति बढी नै जोड दिनुपर्छ । अहिले संसार भनेको सूचना प्रविधिमा आधारित भइसकेको छ । हाम्रो शिक्षामा क्षेत्रमा एक किसिमको आमूल परिवर्तनको आवश्यकता छ ।

आउँदो सन् २०५० सम्म त अहिलेको टिचिङ्ग पेडागोजी संसारभरि नै परिवर्तनको परिस्थितिमा छ । यो कुरोलाई मनन् गर्ने हो भने शिक्षा क्षेत्रमा जुन ठूलो परिवर्तन गर्नुपर्ने छ, त्यसको सुरुवातको रुपमा लिन सक्छौं । त्यसरी हेर्दै जाँदा यो कोभिड–१९ ले हामीलाई अवसर दिएको छ । उदाहरणका लागि आउँदो दिनमा संसारका धेरै कामहरु विकसित देशहरुमा आर्टिफिसियल इन्टेलिजेन्सले गर्दा रोबोटले काम गरिदिने परिस्थिति छ । नेपालमा अहिलेसम्म यसको तयारी गरिएको छैन । पढाईको क्षेत्रमा पनि ठूलो नै परिवर्तनको आशा राख्दछ । कोभिड–१९ को परिवेशमा हामीले परिवर्तनको बाटोमा हामी कसरी जान सक्छौं, अनलाइनको माध्यमले निजी क्षेत्रले पढाईको सुरुवात गरेको छ । कतिपय सामुदायिक विद्यालयमा पनि अनलाइन क्लासको माध्यमले पढाउन सुरुवात गरिएको छ । कतिपय ठाउँमा विभिन्न अप्ठ्यारो परिस्थितिले गर्दा अनलाइन क्लासहरु गराउन पनि सकेको छैन । यो हाम्रो लागि परिवर्तनको एउटा गाह्रो परिस्थिति हो । तर हामीले यो गाह्रो परिस्थितिलाई अवसरको रुपमा लिनुपर्छ । यो चुनौतीका बेला हामीले कसरी अवसरहरु सिर्जना गर्न सक्छौं, विकासको रुपमा कसरी फड्को मार्न सक्छौं, त्यो सोचको साथ अगाडि बढ्नुपर्ने मैले आवश्यकता ठान्दछु ।

० यो अप्ठ्यारो परिस्थितिलाई अवसरको रुपमा परिवर्तन गर्न के–के गर्नुपर्छ ?

— अहिले नेपालको परिवेशमा निजी र सरकारी क्षेत्र छ । अहिले नेपालमा स्थानीय सरकार पनि छ । अहिले जसरी कोभिड–१९ को महामारी बढ्दै गएको छ, यस अवस्थामा अझै दुई÷तीन महिना भौतिक कक्षाहरु सञ्चालन गर्न सक्दैनौं । यो अवस्थामा हार्ड एजुकेशनको क्षेत्रमा शैक्षिक सत्रलाई कसरी सन्तुलन गरेर जाने भन्ने चुनौतीहरु छन् । यो चुनौतीलाई मिलाउन अन्य विकल्पभन्दा पनि अनलाइन माध्यम नै उपयुक्त देखिएको छ । अन्य विधिहरु छैन र सम्भव पनि छैन । अनलाइन पढाईका विभिन्न माध्यम र टुल्सहरु मोबाइल, ल्यापटप, इन्टरनेट कनेक्टिभिटी, रेडियो, टेलिभिजन प्रसारणका माध्यमहरु हुन्छन् ।

निजी क्षेत्रले सुरु गरेको स्कूल कलेजले सुगम क्षेत्रमा अनलाइन कक्षा सञ्चालन गरेको अवस्था छ भने हाम्रो दुर्गम क्षेत्रमा सरकारी विद्यालयहरुमा विभिन्न कठिनाइहरुले गर्दा अहिले पनि हामीले अनलाइन कक्षाहरु सञ्चालन गर्न सकिरहेका छैनौं । त्यसकारणले सरकारले त्यहाँ छिट्टोभन्दा छिट्टो कसरी सञ्चालन गर्न सकिन्छ, त्यो मिलाउने तर्फ लाग्नुप¥यो । सम्भव नभएको ठाउँमा कमसेकम टेलिभिजन, एमफएम रेडियो मार्फत शिक्षासम्म जोड्ने माध्यम मिलाउनुपर्छ । त्यसरी गरेर अगाडि बढ्यो भने विस्तारै–विस्तारै हामी अनलाइनको युगमा प्रवेश पनि गर्दै जानेछौं र डिजिटलाइजेशन पनि हुँदै जान्छ । अहिले हामीसँग महामारीको यो ठूलो चूनौती छ । त्यसलाई हामीले घटाउन सक्छौं ।

० डिजिटलाइजेशनको युगमा प्रवेश गर्ने प्रयास गरिएको छ त ?

— डिजिटलाइजेशन युगमा प्रवेशका लागि प्रयासहरु त भएका छन् । निजी क्षेत्रका प्रायः सबै विद्यालयहरुले अनलाइनको माध्यमबाट कक्षा सञ्चालन गराउने, पढाउने काम त छँदैछ । सरकारी निकायबाट पनि प्रयास भएको हो । हालै शिक्षा मन्त्रालयले पनि यसका लागि एउटा कार्यविधि नै तयार गरेको छ । अहिले उच्च क्षिामा पनि एउटा बहसको विषय भएर अनलाइन परीक्षाहरु पनि अनलाइन माध्यमबाट कसरी लिने भन्ने निर्णय हुँदैछ । त्यसकारणले यस विषयमा सबैको चाँसो पनि देखिएको छ ।

० विद्यार्थीहरुमा कोरोनाको मनोवैज्ञानिक प्रभाव कस्तो परेको छ ?

— कोरोनाको मनोवैज्ञानिक प्रभाव पक्कै पनि विद्यार्थीहरुमा परेको छ । किनभने धेरै विद्यार्थीहरु अहिले शिक्षा लिनबाट वञ्चित छन् । कतिपय विद्यार्थीहरु अनलाइन कक्षाको पहुँचमा पनि पुग्न सकेको छैन भने केही क्षेत्रमा एकदम प्रभावकारी तरिकाले अनलाइन कक्षाहरु भइरहेका छन् । यो बेला अभिभावकहरुले विद्यार्थीहरुलाई एक किसिमको आत्मबल बढाउने, अहिलेको परिस्थितमा प्रविधिसँग जोडेर डिजिटलाइजेशन युगमा प्रवेश गराउनेतिर सोच्नुपर्छ । यो कठिन परिस्थितिमा यो मात्रै एउटा विकल्प हो र भविष्यमा अब डिजिटलाइजेशनको युग हो । पोष्ट कोभिड संसारमा शिक्षण विधि नै परिवर्तन भइहालोस् । भौतिक र अलनलाइन क्लासरुम पनि अभ्याउन आउन सक्ने परिस्थिति छ । त्यसकारणले यो अनलाइन कक्षा एउटा अवसर हो, यसबाट कसरी सिक्ने भन्ने कुराहरुलाई अभिभावकहरुले विद्यार्थीहरुमा एक किसिमको आत्मबल बढाउनुपर्छ । पढेलेखेका अभिभावकहरुले अतिरिक्त क्रियाकलापहरुमा लगाइराख्नुपर्दछ । सामान्य ज्ञानको कुरा भयो, अन्य क्रियाकलापहरु भयो । यी कुराहरुमा बच्चाहरुलाई इङ्गेज राखियो भने घरैमा बसेर केही हदसम्म मनोवैज्ञानिक प्रभाव पर्दैन ।

० कोरोनाको मनोवैज्ञानिक प्रभाव पर्न नदिन विद्यार्थीहरु आफैले कसरी यो समयको सदुपयोग गर्न सक्छन् ?

— विद्यार्थीहरु यो कोरोनाको त्रासमा बसिरहनु भएन । किनभने यो कोरोना केही महिनाभित्रै सकिहाल्छ भन्ने परिस्थिति रहेन । यो कोरोना साथसाथै हाम्रो जीवनको सामान्य गतिविधिलाई कसरी अगाडि बढाउने कुरामा सबैको प्रयास हुनुपर्छ । सहजरुपमा हामी कोरोनासँगै आफ्नो जीवन अगाडि बढाउनुपर्छ, त्यसैमा विद्यार्थीहरुले पनि आफूलाई लग्नुपर्छ । यो कुरो अभिभावकले विद्यार्थीलाई राम्ररी बुझाउन सक्नुपर्छ । बच्चामा नकारात्मक सोच भयो भने धेरै समस्याहरु निम्त्याउन सक्छ । त्यसकारणले सकारात्मक सोचका साथ अगाडि बढ्नुप¥यो । विद्यार्थीले आफ्नो एउटा रुटिन बनाएर बिहान उठ्ने, योगा गर्ने, शारिरीक व्यायाम गर्ने, सन्तुलित भोजन गर्ने र अनलाइनमाध्यमबाट पढाई गर्ने । यो कुराहरु विद्यार्थीले गर्नुपर्ने हुन्छ ।

० कोरोनाको कारण यसपटकको एसईई परीक्षा हुन सकेन र विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गरियो । यसलाई कसरी हेर्नुभएको छ ?

— मैले यसलाई सकारात्मकरुपमा लिएको छु । केही मान्छेहरुले बढी नम्बर दियो भनेर नकारात्मक टिप्पणीहरु पनि गरेका छन्  । यो कुरोलाई म सही मान्दिँन । किनभने आजको दिनमा विद्यार्थीको क्षमता पढिसकेको छ । त्यसआधारमा ४ जीपी ल्याउनु अस्वाभाविक मान्नु हुँदैन । उनीहरुमा पोटेन्सियल र क्षमता छ । अर्को कुरो अभिभावकहरुले यत्रो लगानी गरेर विद्यार्थीहरुलाई पढाउनु हुन्छ र विद्यार्थीहरुले पास गर्न सकेन, राम्रो प्रतिफल ल्याउन सकेन भने त्यो पनि देशको एक किसिमको ठूलो नोक्सानी हो । त्यसकारणले यसपटकको एसईईको जुन किसिमको नतिजा आएको छ, सकारात्मक हो । यो कोरोनाको बेलामा पनि विद्यार्थी र अभिभावकहरुलाई राहत महसुस हुन्छ ।

० नेपालको शिक्षा पद्धतिमा सुधारको आवश्यकता देख्नुहुन्छ ?

— शिक्षा क्षेत्रमा नेपालको धेरै राम्रो भविष्य छ, नेपाललाई नै शैक्षिक गन्तव्य बनाउन सकिन्छ । साउथ एसियन कन्ट्री र विदेशबाट आएर पढ्ने भन्ने किसिमको गुणस्तर पनि हामीले दिन सक्छौं र हामीसँग त्यस्तो वातावरण पनि छ । नेपाली विद्यार्थीहरु उच्च शिक्षा हासिल गर्न विदेश जानुपर्ने अवस्थाहरु छन् । त्यसलाई रोक्नका लागि हामीले स्प्रिड डेभलपमेन्टलाई ध्यान दिनुपर्छ । स्प्रिड डेभलपमेन्टका लागि पनि नेपाल सरकारले विभिन्न किसिमका कार्यक्रमहरु ल्याएको छ । यदि कोही नेपालमै केही गर्छ भन्ने योजना छ भने उसको विभिन्न अवसरहरु छन् । त्यसकारणले विदेश नै जानुपर्छ भन्ने बाध्यता छैन । अर्को कुरो नेपालमै राम्रो शिक्षण संस्थाहरु छन्, जसले अन्तर्राष्ट्रियस्तरको शिक्षा दिइरहेको छ । त्यसकारणले विद्यार्थीहरु यही बसेर अन्तर्राष्ट्रियस्तरमा कसरी आफूलाई उभ्याउन सकिन्छ, त्यो किसिमको ज्ञान आर्जन सक्छन् ।

अर्को कुरा विद्यार्थीले जुन ज्ञान हासिल गरेको छ, त्यसलाई कतिको व्यवहार उतार्न सकेको छ । विद्यार्थीहरु इन्टर्नसिप गर्न जान्छन् तर त्यसको व्यावहारिक ज्ञान पाएको हुँदैन ।

० नेपालको माटो सुहाउँदो पाठ्यपुस्तक हुने गरी सुधारको खाँचो देख्नुहुन्छ ?

— माटो सुहाउँदो पाठ्यपुस्तकमा सुधार हुनुपर्ने आवश्यकता अवश्य पनि छ । नेपालमा सम्भावनाहरु धेरै छन् । पाठ्यपुस्तकमा हाम्रो कमी भनेको जुन किसिमको आवश्यकता हुन्छ त्यो किसिमको करिकुलम अझै पनि छैन । अहिलेको पाठ्यक्रमले सुहाउँदो परिप्रेक्ष्य बनाउनका लागि समय–समयमा बहसहरु भइरहन्छ । नेपालमा पहिलेभन्दा धेरै सुध्रिएको छ । नेपालको उद्योग, उद्योगपत्ति, कर्पेरेट सेक्टरलाई कस्तो जनशक्ति चाहिएको छ, त्यो किसिमको हामीले शैक्षिक संस्थाभित्र पाठ्यपुस्तक राख्न सक्छौं, दक्ष जनशक्ति तयार गर्न सक्छौं त्यो विषयमा छलफल हुनु एकदम आवश्यक छ ।

(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)

तपाईको प्रतिक्रिया