कोरोनामा मधेशी दल (सम्पादकीय)

सम्पादकीय

       

यस वर्ष नेपालमा विशेष गरी तीनवटा विपद् आइपरेको छ । पहिलो जनस्वास्थ्यसँग सम्बन्धित छ । गत चैतबाट नेपालमा असर पारेको कोरोना विषाणु अर्थात् कोभिड १९ । यो नेपालमा मात्र होइन, विश्वभर तीव्ररूपमा फैलिने क्रम अझै रोकिने छाँट छैन ।

दोस्रो, मानो रोपेर मुरी फलाउने समयमा बालीनाली सखाप पार्ने सलह कीराले ल्याएको विपद् । तेस्रो विपद्, वर्षाजन्य अर्थात् मनसुन सक्रिय भएर ठूलो वर्षा हुन गई बाढी तथा पहिरोको त्रासपूर्ण अवस्था । स्वास्थ्य, कृषि र बसोवासमा परेका विपद्ले मुलुकमा बहुआयामिक समस्या आउने अनुमान सहजै गर्न सकिन्छ ।

पछिल्ला तथ्यांकअनुसार विभिन्न मुलुकमा कोरोना संक्रमणबाट प्रभावित हुने नागरिकको संख्या दिनप्रतिदिन घट्दो छ तर हाल नेपालमा भने संक्रमणदर बढ्दो क्रममा छ । विपदमा परेका परिवारले राहत र सहयोगको अपेक्षा गरिरहेका छन् ।

मधेशमा जनतालाई एकताबद्ध गर्न सक्ने तर मानव जगतमा आइपर्ने विपद् व्यवस्थापनमा मधेशका दलले कुनै चासो दिएको पाइँदैन । विपद् व्यवस्थापन सम्बन्धी कुनै पनि क्रियाकलापमा मधेशी दलको भूमिका शूून्य नै देखिन्छ । विभिन्न विपद्का कारण जीवन गुमाएका, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पीडित परिवारजनमा गहिरो समवेदना व्यक्त गर्ने बाहेक राहत, व्यवस्थापन, प्रभाव न्यूनीकरणमा राजनीतिक दलको सक्रियता अहिले बढी खड्किएको छ ।

सरकारले कोभिड–१९ संक्रमण रोक्न अपनाएको लकडाउन र निषेधाज्ञाको विरोध र उल्लंघनमा उद्यत छन् तर जोखिम न्यूनीकरणका उपाय खोज्नेतर्फ पटक्कै लागेका छैनन् । सरकारले यो गरेन त्यो गरेन भनेर आलोचनामात्रै गर्नुभन्दा महामारी एवं विभिन्न विपद्का बेला सरकारलाई सहयोग गर्न विभिन्न उपाय सिकाउनु उपयुक्त हुन्छ  । गैरदलीय क्षेत्रबाट समेत विपद् प्रभावितको राहतका लागि विभिन्न अभियान सञ्चालन भइरहेका छन् तर विपद् व्यवस्थापनमा उनीहरु एकताबद्ध भएको पाइँदैन ।

मधेशी दलमा केवल अराजक र अनुशासनहीन भीड जम्मा गर्ने प्रवृत्ति छ जसले गर्दा विचार, दर्शन, सिद्धान्त र कार्यक्रमका बारेमा नियन्त्रण र समन्वय गर्ने पद्धति विकास हुनसकेको छैन । अराजक, स्वेच्छाचारी, अनुशासनहीन, व्यभिचारी, दुराचारी एवं भ्रष्टाचारीेलाई प्रश्रय दिने कार्यले राजनीतिक अस्थिरता हुन पुगेको यथार्थलाई दलहरूले स्वीकार गर्नैपर्दछ ।

मधेशी दलमा सेवाभाव, नैतिकता, अनुशासन, सदाचार एवं सादगीपन जस्ता चरित्र, व्यवहार र सद्गुण हराउँदै गएको छ । राजनीतिक दलका उद्देश्य, विचार, सिद्धान्त, नीति र कार्यक्रम आमजनताको सर्वोपरि कल्याणमा केन्द्रित रहनुपर्ने हुन्छ ।

विपद् व्यवस्थापनका लागि स्थानीयस्तरमा दलको साथ सहयोग र समन्वयको जरुरत पर्दछ । विपद्बाट धनजनको क्षति न्यूनीकरण गर्न सक्यौँ भने उनीहरु जनताका लागि अनुकरणीय बन्न सक्छन् । जनतालाई सुरक्षित राख्न स्थानीयस्तरमै दलहरूको साथ र सहयोग भएमा आमजनताको जनधनको क्षति न्यूनीकरण गर्न सम्भव हुनेछ ।

आमजनतामा भयरहित वातावरण सिर्जना गर्नु राजनीतिक दलहरूको दायित्व पनि हो । विपदमा परेका आमनागरिकको उद्धार र राहतमा सक्रियता देखाएमा आमजनताले दलहरूप्रति सकारात्मक सोच्नेछन् । त्यसैले दलहरूले विपदमा सबैको सहयोग लिएर एकीकृत रूपमा अघि बढ्नुपर्दछ ।

मधेशी दलहरूको मुख्य कार्य नै प्रणाली निर्माण गर्ने र सुव्यवस्था स्थापित गर्ने हो । सत्तामा मात्र पुग्ने खेल होइन । आमजनता कुनै न कुनै राजनीतिक दलका मतदाता अवश्य छन् । तिनै मतदाताप्रति उत्तरदायी क्रियाकलापले नै दलहरू जनतामाझ लोकप्रिय हुनेछन् ।

विभिन्न विपदमा सरकार, सबै राजनीतिक दल र आमनागरिकले राजनीतिलाई साँच्चिकै मर्यादित र सम्मानित बनाउनका लागि इमानदारीपूर्वक सहकार्य गर्दै प्रभावकारी प्रयास गर्ने हो भने राजनीतिप्रति हराउँदै गएको मार्यादा र सम्मानलाई स्थापित गर्न सकिन्छ ।

यसका लागि हरेक राजनीतिक दलमा जनसेवाभावपूर्ण स्वच्छता एवं पारदर्शिताको आवश्यक्ता पर्दछ । तिनको मुख्य क्रियाकलाप मानवीय व्यवहारलाई परिस्कृत गर्ने हुनुपर्दछ । सत्ताको लालच मात्र नभई संयन्त्र परिचालनमा क्रियाशीलता देखाउनुुपर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया