मधेशमा जनमत पार्टी बाहेक अरु कसैको सम्भावना छैन : ई.बसन्त कुशवाहा (विशेष अन्तर्वार्ता)

अन्तर्वार्ता

       

ई.बसन्त कुशवाहा, गैरआवासीय मधेशी संघका अन्तर्राष्ट्रिय समिति अध्यक्ष तथा जनमत पार्टीको विदेश विभाग प्रमुख

पेशाले इलेक्ट्रिकल इन्जिनियर तथा प्रोजेक्ट म्यानेजमेन्टमा एमबीए गरेका कुशवाहा प्रदेश २ अन्तर्गत रौतहट जिल्लाको बौधीमाई नगरपालिकाका बासिन्दा हुन् । आफ्नो कौशलताका कारण उनी मध्यपूर्वमा सन् २०१६ मा ‘इन्जिनियरिङ्ग अफ द इयर’ र सोही वर्ष मध्यपूर्व र अफ्रिकामा ‘इन्जिनियरिङ्ग एक्सेलेन्स अवार्ड’बाट पनि सम्मानित भएका हुन् । यसका साथै सन् २०१९ मा मध्यपूर्वमै उनी ‘सस्टेनबल टूरिज्म अवार्ड’बाट पनि पनि सम्मानित भए । विश्वका थुप्रै पाँचतारे होटलहरुमा उनी इन्जिनियरिङ्ग डाइरेक्टरका रुपमा पनि सेवा गरिसकेका छन् । यसका साथै उनी मध्यपूर्व, अफ्रिका, युरोप, अमेरिकाका साथै ५० भन्दा बढी मुलुकहरुको भ्रमण गरिसकेका छन् । उनी स्काइ क्लब नेपालको संस्थापक सदस्य, नेपाल तराई इन्जिनियर समाज, तराई विद्यार्थी समाज, गैरआवासीय मधेशी संघ, मधेश राहत कोष र रौतहट छात्रवृति कार्यक्रममा पनि आवद्ध छन् । गैरआवासीय मधेशी संघको अन्तर्राष्ट्रिय कमिटीको अध्यक्ष र जनमत पार्टीको विदेश विभाग प्रमुख कुशवाहासँग गरिएको कुराकानीको सम्पादित अंशः

० गैरआवासीय मधेशी संघ (एनआरएमए)ले आफ्नो स्थापनाकालको एक दशक पूरा गरेको छ । यो एक दशकको समय कस्तो रह्यो ?

— हामीले गैरआवासीय मधेशी संघको स्थापना सन् २०१० सेप्टेम्बर ८ का दिन गरेका हौं । यसको संस्थापक अध्यक्ष डा.सीके राउत हुनुहुन्छ । सुरुवाती अवस्थामा हामीले मधेशसम्बन्धी डकुमेन्टहरु बनाउने, विभिन्न तथ्यांकहरु संकलन गर्ने र विश्वभरि छरिएर रहेका मधेशीहरु माझ देखायौं । हरेक मञ्चहरुमा मधेशबारे जानकारी दिने कामहरु ग¥यौं । साथै, डा.सीके राउतले लेख्नुभएको ‘मधेश का इतिहास’ नामक पुस्तक पनि प्रकाशन ग¥यौं । त्यसपछि विभिन्न देशहरुमा हाम्रो संगठनहरु विस्तार सुरु भयो । आजको दिनसम्म आउँदा हामीले गैरआवासीय मधेशी संघलाई ४५ वटा देशमा विस्तार गरिसकेका छौं ।

संगठन विस्तारको साथसाथै हामीले मधेशमा पनि सहयोगका कार्यक्रमहरु पनि गरेका छौं । मधेशमा आउने गरेको प्राकृतिक प्रकोप तथा विपदहरुमा विदेशबाट पनि आर्थिक सहयोग, राहत र निःशुल्क स्वास्थ्य शिविरका कार्यक्रमहरु गरेका छौं । मधेशबाट वैदेशिक रोजगारका आउने मधेशीहरुलाई पनि विभिन्न किसिमका सहयोगहरु गरिरहेका छौं । मधेशीहरु वैदेशिक रोजगारका लागि विदेशमा आइसकेपछि उहाँहरुलाई हेर्ने वा सहयोग गर्ने सुरुवाती अवस्थामा कोही थिएनन् । हामीले हरेक देशमा संगठनहरु निर्माण गरिसकेपछि सबै देशका साथीहरु हामीसँग जुड्न थाल्नुभयो । विदेशमा रोगजारीसम्बन्धी, कानूनी लगायत विभिन्न समस्याहरु समाधानका लागि प्रयासहरु ग¥यौं । धेरैजसो ठाउँहरुमा मधेशीहरुले भोग्ने गरेका समस्याहरुको समाधानमा हामीले सहयोग गरेका छौं ।

यसैगरी हामीले मधेशको सभ्यता र संस्कृतिलाई पनि अन्तर्राष्ट्रियस्तरमा चिनाउने र संरक्षण गर्ने कोशिस गरिरहेका छौं । हामीले विदेशमा अहिले बडो धुमधामका साथ हरेक वर्ष होली, छठ लगायत चाडपर्वहरु मनाउने गर्छौं । यस्तै, गैरआवासीय मधेशी संघले अन्तर्राष्ट्रिस्तरका संगठनहरुमा पनि हामी सहभागी हुने गरेका छौं । हामीले मधेशसँग हुने गरेका विभेद, रंगभेदका घटनाहरुबारे अन्तर्राष्ट्रिय मञ्चहरुमा सूचना दिने, अन्तक्र्रिया गर्ने र आवाज उठाउने काम पनि निरन्तररुपमा गर्दै आएका छौं । जसले गर्दा अब नेपालका धेरैजसो रिपोर्टहरुमा मधेशको कुराहरुले स्थान पाउने गरेका छन् ।

० भनेपछि मधेशको मुद्दा र पहिचानलाई अन्तर्राष्ट्रियकरण गर्नुको साथै वैदेशिक रोजगारको क्रममा विदेशिएका मधेशीहरुलाई पनि सहयोग गर्नुहुन्छ ?

— निश्चितरुपमा हामीले मधेशको मुद्दा र पहिचानलाई अन्तर्राष्ट्रियकरण गर्नुका साथै मधेशीहरुले विदेशमा भोग्ने समस्याहरुलाई पनि समाधान गर्ने प्रयास गरिरहेका छौं । अहिले जसरी कोरोनाका कारण धेरै कम्पनीहरु बन्द भएका छन्, धेरैको रोजगारी गुमेको अवस्था छ । धेरै ठाउँहरुमा कम्पनीका मालिकहरु पनि भागेका छन् । यस्तो अवस्थामा हामीलाई सूचना प्राप्त भएअनुसार जति पनि मधेशी साथीहरु हाम्रो सम्पर्कमा आउनु हुन्छ, उहाँहरुलाई उद्धार गर्ने, बस्ने खाने व्यवस्था गरेका छौं । यस्ता कार्यक्रमहरु हामीले हरेक देशहरुमा गर्ने गरेका छौं । खासगरी मलेसिया, साउदी अरेबिया, कुवेत, कतार, बहराइन लगायतका देशहरुमा धेरै समस्याहरु छन् र यही ठाउँहरुमा मधेशीहरुको संख्या बढी छ । हरेक ठाउँमा हामीले कोरोना वेलफेयर उपसमिति बनाएर सबै मधेशी साथीहरुलाई सहयोग उपलब्ध गराइरहेका छौं । कोरोनाको कारणले समस्यामा परेकाहरुका लागि हामीले त्यहाँका सम्बन्धित निकायहरुबाट पनि समन्वय गरेर उद्धार तथा राहतका कामहरु गरिरहेका छौं ।

० एमआरएमएको संस्थापक डा.सीके राउत हुनुहुन्छ, उहाँले अहिले जनमत पार्टी भनेर गठन गर्नुभएको छ । भनेपछि, यो एनआरएमए जनमत पार्टीको एउटा भ्रातृ संगठन हो ?

— निश्चितरुपमा गैरआवासीय मधेशी संघ जनमत पार्टीको एउटा भ्रातृ संगठन नै हो र त्यहींअनुरुप नै हामीले यसलाई अगाडि बढाइरहेका छौं । सुरुमा हाम्रो स्वतन्त्र मधेश गठबन्धनको जुन अवधारणा थियो त्यसमा हामीले अहिले मधेशमा स्वराज स्थापना हुनुपर्छ, जनता राज स्थापना हुनुपर्छ भन्ने अवधारणाका साथ नै अगाडि बढिरहेका छौं । सरकारी तथ्यांकअनुसार विदेशमा करिब ७ लाख मधेशीहरु छन् । यो ७ लाख मधेशीमध्ये करिब २ लाख मधेशीहरु हाम्रो संगठनमा आबद्ध भइसक्नुभएका छन् । खासगरी, उहाँहरु युवावर्गका साथीहरु हुन् । नेपालमा काम नपाएर, रोजगार नपाएर विदेशमा आएर बाध्य भएर काम गर्ने युवाहरु हुन् । उहाँहरुले विदेशमा जुन सिप सिक्नुभएका छन्, त्यसलाई मधेशमा कार्यान्वयन गर्ने तयारीमा छौं । मधेशमा जुन किसिमको राजनीतिक परिवेश हो, स्थानीय, प्रदेश र संघीय सरकारको जुन तरिकाले बजेट विनियोजन हुन्छ त्यसले मधेशमा खासै परिवर्तन भएको हामीले देखेका छैनौं ।
त्यसैले जनमत पार्टी आउनु भनेको नै त्यहाँ जनता राज र स्वराजको स्थापना गर्ने हो । त्यहाँका नागरिकले यो हाम्रो सरकार हो, यसले सबैको समस्या समाधान गर्छ भन्ने हेतुले नै जनमत पार्टीको स्थापना गरेका हौं । विदेशमा रहेका साथीहरु अहिले फर्किने अवस्थामा छन् । मधेश फर्किसकेपछि उहाँहरुले स्वरोजगार गर्ने हामीले योजना पनि बनाएका छौं । खासगरी मधेशको कृषिमा आधुनिकीकरण गर्ने, साना र मझौला उद्योगहरु स्थापना गर्ने कामतिर लागिरहेका छौं । यसैबीचमा हामीले राजनीतिक प्रशिक्षण पनि दिने गरेका छौं । मधेशमा जबसम्म राजनीतिक परिवर्तन हुँदैन तबसम्म सामाजिक र आर्थिक परिवर्तन सम्भव छैन । विदेशबाट फर्किने साथीहरु जनमत पार्टीमा आबद्ध भएर आउने चुनावमा स्वयम् सेवकको भूमिका खेल्ने र राजनीतिक परिवर्तन गर्ने अवधारणाका साथ हाम्रा कार्यक्रमहरु अगाडि बढिरहेका छन् ।

० जनमत पार्टीले १० लाख युवाको रोजगारीको अवधारणा ल्याएको थियो, कसरी रोजगारी सिर्जना गर्ने त ?

— एउटा उदाहरणको रुपमा मेरो गृहजिल्ला रौतहटको बौधिमाई नगरपालिकालाई नै हेरौं । बौधिमाई नगरपालिकाको पूरै क्षेत्रफल करिब ३२ वर्ग किलोमिटर हो । यसभित्र कृषियोग्य जग्गा भनेको करिब २२–२४ वर्ग किलोमिटर क्षेत्रफल रहेको छ । त्यहाँ अहिले जुन प्रकारले कृषिका कार्यक्रमहरु भइरहेका छन्, त्यसमा यदि हामीले आधुनिकीकरण तरिकाले कार्यक्रमहरु ल्याउने हो भने अहिले भइरहेको कृषि उत्पादन तीन गुणाले वृद्धि हुन्छ । यसका लागि हामीले सर्वेक्षण र अध्ययन पनि गरेका छौं । उत्पादन बढ्नासाथ त्यहाँ कच्चा पदार्थहरुको वृद्धि हुन्छ । कच्चा पदार्थ वृद्धि भयो भने साना र घरेलु उद्योगहरु लगाउन सकिन्छ । त्यो किसिमले हामी अवधारणा ल्याएका हौं । हामीले यसलाई आत्मनिर्भर नगरपालिका वा गाउँपालिकाको अवधारणा ल्याउन खोजेका छौं । हामीलाई चाहिने दैनिक उपभोग्यका वस्तुहरु आफ्नै ठाउँमा उत्पादन गर्न सक्छौं । त्यसका लागि बौधीमाई नगरपालिकाका लागि दुई सयदेखि दुई सय पचास वटा साना तथा मझौला उद्योग निर्माण गर्ने आवश्यकता देखिन्छ । त्यो संख्यामा यदि हामीले उद्योगहरु लगाउन सक्यौं भने प्रत्येक उद्योगमा ५ देखि १० जनासम्मले रोजगारी पाउने अवस्था हुन्छ । भनेपछि एउटा नगरपालिकामा एक हजारदेखि १५ सय जनाले सिधै रोजगारी पाउने अवस्था हुन्छ । यसरी नै मधेशभरिकै सबै जिल्लालाई हिसाब गर्ने हो भने १० लाभन्दा बढीले रोजगार पाउने अवस्था सिर्जना गर्न सकिन्छ ।

० तर युवा वर्गलाई कृषिप्रति प्रेरित कसरी गर्ने ?

— यसलाई आम्दानीको रुपमा देखाउन सक्नुपर्छ । विदेशमा काम गर्ने कामदारहरुको औसतमा ३० देखि ४५ हजारसम्म प्रति महिना अर्थात वर्षको ४–५ लाख हुन्छ । यदि मधेशमा कसैसँग ५ कठ्ठा जग्गा छ वा लिजमा पनि लियो भने त्यसमा आधुनिक कृषिमार्फत् वर्षमा ६ देखि ७ लाखसम्म आम्दानी गर्न सक्छ । विदेशमा महिनाको ३०–३५ हजार कमाउनुभन्दा आफ्नै स्वदेशमा घरपरिवारमै बसेर कृषि कर्म गर्ने हो भने त्यहाँभन्दा बढी आयआर्जन गर्न सक्छन् । कोरोनाका कारणले पनि विदेशका धेरै उद्योगधन्दाहरु बन्द भइसकेका छन्, मान्छेहरु रोजगार गुमाउने अवस्था छ । भनेपछि अब बाँच्ने आधार के त ? त्यो आधार भनेको मधेशमै गएर कृषिमा आधारित आधुनिकीकरण गरेर काम गर्नुभयो भने मात्रै राम्रोसँग दिनचर्या बित्न सक्छ ।

० तपाइँको पार्टीका अध्यक्ष डा.सीके राउतले आगामी चुनावमा प्रदेश २ मा क्लिनस्वीप गर्ने दाबी गर्नुभएको छ । तर, मधेशकेन्द्रित ठूला दलहरु एक भइसकेका छन् । कसरी सम्भव होला त ?

— कांग्रेस, कम्युनिष्ट र जसपामा प्रजातन्त्र आइसकेपछि अहिलेसम्म तिनै अनुहारहरु छन् । अहिलेसम्म यिनीहरुले मधेशमा केही गर्न सकेका छैनन् । अहिले जुनसुकै तहको सरकारमा हेर्नुस्, भ्रष्टाचार चरम सीमामा छ । कुनै पनि नगरपालिकाको बजेट सही तरिकाले सदुपयोग गर्न सकिरहेको अवस्था छैन । जहाँबाट कमिशन आउँछ, त्यो काम गरिरहेका छन् । जनमत पार्टीको ठहर छ कि मधेशमा गएका बजेटहरु सदुपयोग हुन सकेको छैन । भ्रष्टाचार भएको हो कि काम गर्न नसकेको हो । त्यसैले अब मधेशमा केही गर्ने भनेको नै जनमत पार्टीले हो । जनमत पार्टी भनेको बुद्धिजीबीवर्गको, दूरदृष्टि राख्ने व्यक्तिहरुको पार्टी हो । हाम्रो पार्टीमा विज्ञ समूहहरु पनि छन्, जसले हरेक तरिकाको खोज र अनुसन्धान गरेर मधेशमा लागू गरेर रोजगारीको अवस्था सिर्जना गर्न सक्छन् । यी कुराहरु हामीले गाउँ–गाउँमा विभिन्न प्रशिक्षण तथा तालिमहरुको मार्फत् सचेत गराउने कार्यक्रमहरु पनि चलेका छन् । निकट भविष्यमा मधेशमा जनमत पार्टी बाहेक अन्य कुनै पार्टी वा संगठनले विकास गर्ने सम्भावना छैन । आउँदो चुनावमा कांग्रेस, कम्युनिष्ट र जसपा एकतिर र जनमत पार्टी अर्कोतिर भएर चुनाव लड्ने हो । जनमतले ल्याएको एजेन्डा, विकासका अवधारणा हेरेर नै जनताले मत दिनेछन् । मधेशका जनताले यिनीहरुलाई हेरिसके अब जनमतलाई हेर्न बाँकी छन् ।

० तपाइँहरुले यदि प्रदेश २ मा सरकार बनाउने अवस्था आयो भने के–के गर्ने योजनाहरु छन् ?

— प्रदेश २ मा यदि हामीले सरकार बनाउने अवस्थामा पुग्यौं भने मेगा कारखानाहरु स्थापना गर्ने मुख्य अवधारणा हो । मेगा कारखाना भनेको मलखाद्य उत्पादन गर्ने लगायतका छन् । अहिले नै मधेशमा कृषिका लागि मलखाद्यको हाहाकार छ । हामीले चाह्यौं भने मधेशमै मलखाद्य उत्पादन गर्न सक्छौं । त्यसका लागि हामीले एउटा अध्ययन प्रतिवेदन पनि बनाएका छौं । युरिया मलको फैक्ट्री लगाउनका लागि करिब १० अर्ब नेपाली रुपैयाँ आवश्यक पर्छ । मधेशको विकास गर्नुछ भने मधेशमै युरिया मलको कारखाना लगाउनुपर्छ । त्यसपछि खाद्यान्न उत्पादन गर्ने ठूला कारखानाहरु प्रदेश सरकारमार्फत् बनाउने हो । त्यसपछि मेगा अस्पतालहरु जस्तै हजार शय्याभन्दा माथिका अस्पतालहरु हरेक जिल्लामा हामीले स्थापना गर्छौं । यस्ता कार्यक्रमहरु प्रदेश सरकारमार्फत् होस् भन्ने हाम्रो चाहना हो । यसको साथसाथै प्रदेश सरकारबाट सोलार सिस्टमका प्रोजेक्टहरु लगाउने अवधारणाहरु ल्याएका छौं । यस्तै, पूरै मधेशमा फ्रि वाईफाई होस् । स्याटेलाइट मेकानिजमबाट पूरै मधेशमा वाइफाई फ्रि गर्ने अवधारणा ल्याएका हौं । यो सबै कुरा हामीले प्रदेश सरकारमार्फत् गर्ने योजना छन् । त्यसपछि हामी जुन संख्याले संघीय सरकारमा प्रतिनिधित्व गर्छौं, त्यो हिसावले मधेशमा भौतिक पूर्वाधार निर्माणका अवधारणाहरु ल्याउँछौं । जस्तै, बाढी पहिरो नियन्त्रण तथा व्यवस्थापन, सडक सञ्जाल विस्तार लगायत निर्माणका परियोजनाहरु संघीय सरकारले गरोस् भन्ने हाम्रो अवधारणाहरु छन् । त्यो अनुसार हामी अगाडि बढ्दैछौं । यसरी हामीले योजनाअनुसार काम ग¥यौं भने मात्रै मधेशमा आमूल परिवर्तन र विकास हुनसक्छ । यो सोच हामी जनतामा लिएर जाँदैछौं । जनताले यी कुराहरु बुझ्दैछन् ।

० भनेपछि जनमत पार्टी मधेशमा मात्र सीमित रहन्छ कि पहाड र हिमाल पनि चढ्छ ?

— यो सान्दर्भिक प्रश्न उठाउनुभयो, हाम्रा साथीहरुले पनि यो प्रश्न उठाउनु हुन्छ । हाम्रो कार्यक्षेत्र मधेशकेन्द्रित नै हुने हो । जनमत पार्टी मधेशकेन्द्रित भएर मधेशको विकासका लागि मात्रै विकास गर्ने हो । तर यसको मतलब यो होइन कि पहाडी जिल्ला वा साथीहरुसँग पक्षपात गर्ने । खासगरी हाम्रो विशेषज्ञता मधेशकेन्द्रित नै हो । उदाहरणका लागि मधेशमा हुने कृषि कर्म र पहाडमा हुने कृषिमा धेरै फरक छन् । हुन त नबुझ्नेहरुले दुवैतिर समान तरिकाले नै हुन्छ भन्छन् । तर, मधेशमा गरिने कृषिका कार्यक्रमहरु र पहाडमा गरिने कृषिका कार्यक्रमहरु फरक छन् । हामीले गरेको खोज र अनुसन्धान भनेको मधेशको हावापानी, तापक्रम र वातावरणमा कसरी बढाउन सकिन्छ, कुन–कुन किसिमको कृषिहरु गर्न सकिन्छ भन्ने अवधारणा ल्याएका हौं । यस्तै, पर्यटनको क्षेत्रमा हामीले गरेको अध्ययन, विश्लेषण र मार्केटिङ जनकपुरधाम, सिम्रौनगढ र लुम्बिनी जस्ता ठाउँहरु हुन् । यी ठाउँहरुमा गर्ने प्याकेज र मार्केटिङ पहाडतिरको भन्दा फरक हुन्छ । हाम्रो पर्यटन भनेको धार्मिक पर्यटन बढी हुन्छ । हामीले गरेको अर्को अनुसन्धान सोलार सिस्टम हो । सोलार सिस्टमको प्रभावकारिता जसरी मधेशमा हुन्छ, त्यसरी नै प्रभावकारिता पहाडमा हुँदैन । पहाडमा हुने रेडिएसन र मधेशमा हुने रेडिएसन पूर्णरुपमा फरक छन् । हाम्रो खोज र अनुसन्धान लागू गर्ने भनेको मधेशका जिल्लाहरुमा हो । पहाडमा ती कुराहरु उपयुक्त नै हुँदैन । यो १० वर्षको अवधिमा गैरआवासीय मधेशी संघले जुन किसिमको अनुसन्धान र खोजहरु गरेका छ, त्यो कार्यान्वयन हुने भनेकै मधेशमा हो । त्यसैले हामी मधेशकेन्द्रित भएर नै राजनीति गर्न खोजेका हौं । तर सँगसँगै नेपाल भनेको हाम्रो देश हो । अन्य क्षेत्रलाई हामीले पक्षपात गर्न मिल्दैन । तर हामीले गरेका अनुसन्धान र खोजका चीजहरु पहाडका क्षेत्रहरुमा पनि सेयर गर्ने हो । यदि पहाडतिर पनि इच्छा जाहेर ग¥यो भने हामीले तयार हुन्छौं ।

(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)

तपाईको प्रतिक्रिया