भोकै मर्नुभन्दा राज्यले हामीलाई गोली ठोकेर मारोस् : अध्यक्ष ठाकुर

विचार/दृष्टिकोण

       

गजेन्द्र ठाकुर, केन्द्रीय अध्यक्ष, नेपाल नाई ट्रेड युनियन

हाम्रो नाई श्रमिकहरुको अवस्था साह्रै दयनीय छ । गत चैत ११ गतेदेखि नै राज्य जसरी लकडाउन घोषणा ग¥यो र अहिले लकडाउनलाई अर्को मोडल दिएर निषेधाज्ञाको नाम दिएर अहिले पनि त्यहीं अवस्थामा छ । लगभग ६ महिना बित्न लागेको छ ।

यो अवधिमा दैनिक ज्यालादारी गरेर खाने असंगठित श्रमिकहरु एकदमै मर्कामा छन् । अन्य सबै व्यवसायहरु खुलिरहेका छन् तर नाई व्यवसायीहरुलाई पटक्कै खोल्न दिएको छैन । कतिपय ठाउँहरुमा घरबेटीहरुले पनि साह्रै दुःख दिइरहेका छन् । त्यसकारणले हाम्रा नाई श्रमिकहरु डिप्रेषणमा गइरहेका छन् ।

जुनसुकै काममा जोखिम छन् । पत्रपत्रिका, पैसाले पनि सर्छ रे, संक्रमित व्यक्ति जुन ठाउँमा छोयो त्यहाँबाट पनि सर्छ रे । यी सबै ठाउँबाट सर्छ भने अन्य सबैले आफ्नो व्यवसाय सञ्चालन गर्न मिल्ने, हाम्रो नाईले आफ्नो व्यवसाय किन सञ्चालन गर्न नमिल्ने ? हामीलाई पनि राज्यले एउटा सुरक्षा मापदण्ड बनाएर देओस् न ।

हामीसँग खानाको पनि व्यवस्था छैन, घरभाडा दिने अवस्था पनि छैन, त्यसमाथि राज्यले हामीलाई घरमा थुनेर राखेको छ । यो त गैरकानूनी हो । राज्यको काम हो कि एउटा मापदण्ड बनाइदिने, व्यवस्थित गर्ने । त्यो मापदण्ड अपनाएर हामीले आफ्नो जीविकोपार्जन गर्न पाउनुपर्यो । तर यतातिर सरकारको कुनै ध्यानाकर्षण भएको छैन ।

अब हामी केही दिनसम्म पर्खिन्छौं, यो अवधिसम्म राज्यले हाम्रो लागि कुनै वातावरण मिलाएन भने आन्दोलन गर्न बाध्य हुन्छौं । माइतिघरमण्डला र सिंहदरबार अगाडि आन्दोलन गर्छौं । अन्य कुनै विकल्प छैन । पसल खोल्न गयो, घरबेटीले कोरोना सर्छ भनेर खोल्न दिँदैन ।

राज्यका प्रहरी प्रशासनको व्यवहार हामीप्रति त्यस्तै छ । तर किन्न जानुस् त्यत्रो भीडभाड हुन्छ, किराना पसलमा पनि त्यहीं अवस्था छ । हार्डवेयर पसल खोल्न भनेको छ, त्यहाँ पनि भौतिक दूरी कायम गरिएको हुँदैन । उनीहरुलाई कारोना नसर्ने, हाम्रा नाई श्रमिकहरुले पोसाक, ग्लब्स, मास्क लगाएर काम गर्दा कोरोना सर्ने ? राज्यले जानी–जानी हामीलाई मार्न खोजेको छ । त्यसकारणले अब हामी आन्दोलनै गर्नुपर्छ । भोकै मर्नुभन्दा राज्यले हामीलाई गोली ठोकेर मारोस्, डन्डा हानेर मारोस् । हामी मर्न तयार छौं ।

नाईहरुले सुरक्षाका मापदण्ड अपनाएर दाह्री कपाल काट्दा कोरोना लाग्छ त ? लाग्दैन नि । म त भन्छु कोरोना भनेको केही पनि होइन । जानी–जानी मान्छेलाई मार्न खोज्दैछ राज्यले । सरकारको नियत खराब छ । सरकारले भोकमरी ल्याउन खोज्दैन र हामीलाई मार्न खोज्दैछ । नेपालमा कुन ठाउँमा कोरोनाले मरेको छ ? बढी उमेरका र रोग लागेकाहरु मर्दैछन् ।

काम गर्ने मान्छेलाई काम पनि गर्न दिँदैन र अर्को खाने व्यवस्था पनि गर्दैन । कोरोना भनेको केही पनि होइन भने सबैले बुझिसक्यो । ६–६ महिना भइसक्यो । महामारी भनेको यस्तो हुन्छ ? हामीलाई पनि थाहा छ कि महामारी भनेको एक दिनमा हजारौं हजार मान्छे मर्छन् । मान्छेलाई गाड्ने र जलाउने ठाउँ हुँदैन । राम्रो मान्छे पनि महामारीको नाम सुन्दा ढल्छन् ।

दैनिक सय दुई सय मान्छे त त्यतिकै मर्छन्, रोगव्याधि र आफ्नो आयु गतिले मरिरहेका छन् । कोरोनाले दैनिक मरिरहेको तथ्यांक आइरहेको छ । तर मर्नेहरु कोही किड्नी पीडित छन्, कोही हृदयरोगी छन्, कोही डाइबिटिजका रोगीका छन् । कोरोनाबाट केही भएकै छैन नेपालमा । जानी–जानी भोकमरी ल्याउने सरकारको नाटक हो ।

हाम्रो यहाँ त आत्महत्या गरेर तीन हजारभन्दा बढी मान्छे मरिसके । यसका लागि यो ओली सरकार र राज्यलाई कारबाही हुनुपरेन ? मान्छेहरु किन आत्महत्या गर्छन् भनेर राज्यले अनुसन्धान गर्नुपर्यो नि । कोही भोकभोकै मरिरहेका छन् भने कोही घरबेटीको तनावले मरिरहेका छन् । नेपालमा अहिलेसम्म एउटा पनि स्वस्थ्य मान्छे कोरोनाबाट मरेकै छैन । अन्य रोगहरुबाट मर्छन् तर कोरोनाले नै म¥यो भन्छन् ।

तपाईको प्रतिक्रिया